भर्खरै

मुल्यवृद्धि र दीर्घकालिन समाधान

  • प्रकाशित मिति : बुध, कार्तिक १०, २०७८
  • - विद्युत संसार
title

काठमाडौं १० कात्तिक । प्रायः नेपाली अर्थतन्त्रले महँगीको सामना चाडपर्व नजिकिदै गर्दा सामना गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले नेपालको मात्र नभएर विश्वकै अर्थतन्त्रमा धक्का पु¥यायो । केही महिना यता कोरोना विरुद्धको खोपको पहुँच वृद्धिसँगै अर्थतन्त्र चलायमान हुन थालेको छ । विकसित घटनाक्रम सँगै चाडपर्वको अवसरमा हरेक सामग्रीको बजारभाउ बढ्दा न्यूनस्तरका जनताहरुले अनेकौ चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था आइपरेको छ । चाडपर्वको समयमा नेपालमा निर्यात भन्दा आयातमा पनि वृद्धि हुने र बजारमा कालोबजारी गर्नेहरु पनि सलवलाउन थाल्दछन् । उदाहरण स्वरुप विभिन्न निकायले गर्ने बजार अनुगमनमा म्याद नाघेका सामग्री बिक्री देखि मुल्य भन्दा डबल मुल्यमा बिक्रि गरेको पाईने गरेको छ । 
 
खासगरी पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुँदा समग्र उपभोग्यवस्तुहरुको मुल्यमा वृद्धि हुन्छ । तर यो वर्ष प्राकृतिक प्रकोपको कारण पनि मुल्यवृद्धि हुने संकेत पलाएको छ । कात्तिक लागेपछि आएको बेमौसमी वर्षा र बाढीले देशको कृषि क्षेत्रलाई नराम्रो गरी प्रभाव पा¥यो । प्राप्त तथ्यांकले देशमा झन्डै पाँच लाख हेक्टरको धानबालीमा क्षति पु¥याएको कृषि तथा पशुपन्छी मन्त्रालयको आँकलन छ । वर्षभरीमा झन्डै ३६ अर्ब रुपियाँको त चामलै आयात भइरहेको छ । बाढी र डुबानले गरेको क्षतिले अब धान उत्पादन नराम्ररी घट्ने भयो । यो वर्ष धान लगभग एक चौथाइले घट्न सक्ने आँकलन छ । यसको प्रत्यक्ष असर मुल्य श्रृखलामा पर्नेछ र चामलको भाउ बढ्नेछ । अन्य खाद्यान्नको भाउ बेसाहामा पनि प्रत्यक्ष असर पार्नेछ । यसले आय, उत्पादन र रोजगारीमा प्रभाव पर्छ । कोरोनाले थलिएर उठ्न खोज्दै गरेको अर्थतन्त्रले महँगो लागत थेग्न कठिन हुन्छ ।
 
मुल्यवृद्धि गराउन सक्ने कारण पेट्रोलियम पदार्थको बढ्दो मुल्य हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मुल्य बढिरहेको छ । नेपालमा पनि पेट्रोलियमको भाउ बढिरहेको छ । नेपाल आयल निगमले मुल्य बढाउँदा बढाउँदै पनि घाटा गइरहेको छ । सवारीसाधनको भाडादरमा वृद्धि भई कोरोनाको मारमा परेका सर्वसाधारण थप पीडामा परिसकेका छन् । यसको अरू असर अर्थतन्त्रमा पर्दै जाने देखिएको छ । विश्वमा ऊर्जा संकट चुलिदै जाँदा नेपालमा भने आयातित इन्धनलाई विस्थापन गरी खेर गएको विद्युतलाई सदुपयोग गर्न सकिरहेको छैन । सर्वसाधारणलाई असर पर्ने जस्तो विषयमा सरकारसमेत समयमा नै संवेदनशील हुनुपर्छ । आन्तरिक उपभोगमा बिजुली सस्तो बनाउँदा पेट्रोलियम र खाना पकाउने ग्यास प्रतिस्थापन हुने थियो । जसले गर्दा मुल्यवृद्धिको जोखिम कम हुने थियो । नेपालमा दीर्घकालिन रुपमा अर्थतन्त्रलाई बलियो र मुल्यवद्धि कम गराउन नेपालमा नै उत्पादन भएको विद्युतीय ऊर्जालाई खाना पकाउन देखि विद्युतीय सवारी साधन सम्ममा प्रयोग गरेर खपत बढाउनुको विकल्प छैन । 

प्रतिक्रिया