भर्खरै

विकराल समस्याको संकेत !

  • प्रकाशित मिति : बुध, माघ १२, २०७८
  • - विद्युत संसार संवाददाता
title

नेपाल विद्युत प्राधिकरणलाई बर्खायाममा विद्युत खपतको विषय केही वर्ष यता ठाउँको दुखाईको विषय बन्दै गएको छ । सुख्खायाममा उत्पादन धेरै भएर अन्तर्राष्ट्रिय बजारबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ भने बर्खायाममा नेपालको विद्युत उत्पादन धेरै भएर खेर जाने अवस्था छ । लोडसेडिङको समयमा विद्युत खेरजाने समस्या नभएता पनि पछिल्ला वर्ष लोडसेडिङ अन्त्य पश्चात बर्खायममा हरेक वर्ष विद्युत खेर जाने समस्य विकराल बन्दै गएको छ । 

कोरोना महामारी पछिको प्रभाव उद्योगधन्दा लयमा चल्न सकिरहेको छैन भने विद्युत खपतका विभिन्न आयोजनाहरु पर्याप्त विद्युत खपत गर्न नसकेको अवस्था छ । यसकारण प्राधिकरण सामु विद्युत् खपत बढाउनु सबैभन्दा ठूलो चुनौतीपूर्ण छ । भएतापनि आउदो बर्खायाममा विद्युत खपत गर्न प्राधिकरणले प्रभावकारी कदमहरु चाल्न सकिरहेको छैन । किनकी विद्युत खपत बढाउन छोटो समयको प्रयासले सफल हँुदैन् । त्यसैले प्राधिकरणले अघिल्लो वर्षको समस्यालाई आकलन गर्दै अहिले देखि नै प्रभावकारी कार्ययोजनाहरु ल्याउन ढिला गरिनु हुँदैन । 
 विद्युतीकरण, पूर्वाधार निर्माण, औद्योगिक विकास, विद्युतीय भान्सा, घरेलु उद्योग एवं चिस्यान केन्द्र,  विद्युतीय सवारी, मल कारखाना, स्मार्ट शहर, गुणस्तरीय विद्युत्,  विद्युत् महशुलमा परिमार्जन, विद्युतमा आधारित सिँचाइ लगायत क्षेत्रमा सरकारले लगानी गर्न सके स्वदेशमा नै उत्पादन भएको विद्युत खपत सँगै देश आत्मनिर्भरता तर्फ पनि लम्कने थियो ।

१० वर्षअघिसम्म उत्पादन कम भएकै कारणले उत्पादनमा बढी केन्द्रित रहे पनि अहिले उत्पादन भएर पनि खपत नहुँदा खेर जाने अवस्था आएको हो । हाल नेपालमा विद्युत उत्पादन क्षमता दुई हजार मेगावाट पुगिसकेको छ । हिउँदमा त उत्पादन कम हुने हुनाले खपतको समस्या हुँदैन, तर वर्षायमदेखि ठूलो परिमाणमा विद्युत खेर जाने अवस्था छ । विद्युत प्राधिकरणको मागको प्रक्षेपण भन्दा धेरै कम भइरहे पनि हालसम्म खपत वृद्धिबारे सरकार र प्राधिकरण दुवैले ठोस योजना बनाउन सकेको छैन । तत्कालका लागि विद्युतीय चुलो र विद्युत सवारी साधनमार्फत खपत वृद्धि गर्न सकिन्छ भने दीर्घकालीन रूपमा उद्योग–व्यवसायका साथै रेल लगायतमा समेत खपत वृद्धि गर्न सक्ने सम्भावना छ ।
हिउँद लागेपछि विद्युत खपतका लागि ध्यान नदिने र वर्षा लागेर खेर जान थालेपछि खपतको चिन्ता बढी गर्ने प्रवृत्ति नेपालमा छ । जसकारण बर्खायाममा विद्युत खेर जाने समस्य विकराल बन्ने अवस्था देखिन्छ । विद्युत् खपत बढाउनु केवल व्यापार घाटा न्यून गर्ने विषय मात्र होइन । यो त समग्र अर्थतन्त्रको विकास पनि हो ।

प्रतिक्रिया