भर्खरै

“सडक विस्तार नै विकासको पहिलो आधार”

  • प्रकाशित मिति : Wed-21-Jun-2017
  • - अध्यक्ष, राम प्रसाद रेग्मी गण्डकी गाउँपालिका वडा नं. ८
title

गोरखा गण्डकी गाउँपालिका वडा नं ८ स्थित सामाजिक विकासका कार्यमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएका राम प्रसाद रेग्मी वि.सं २०३८ साल देखि नै राजनितिक यात्रा सुरु गर्नु भएको थियो । वि.स २०५२ सालमा नेकपा माओवादी केन्द्रबाट अर्ध भुमिगत रुपमा संलग्न हुदै आउनु भएका उहाँलाई जनआन्दोलनका क्रममा ७ दिन सम्म बेपत्ता पारिएको थियो भने राजनीतिमा संलग्न भएकै कारण वि.स २०५६ सालमा शिक्षक पेशाबाट राजिनामा समेत दिनु परेको थियो । विभिन्न बाधा अबरोधहरुलाई छिचोल्दै सामाजिक विकासमा सक्रिय रहदै आउनु भएको छ । सामाजिक कार्यद्धारा जनताको मन जित्न सफल उहाँ स्थानीय तहको निर्वाचनमा गण्डकी गाउँपालिका वडानं ८, बाट अध्यक्ष पदमा विजयी हुनु भएको छ । उहाँले प्राप्त गर्नु भएको बिजयसँगै गाउँपालिकाको विकासका निमित्त ल्याएको योजना तथा बुढी गण्डकी जलविद्युत आयोजनाका बारेमा विद्युत संसार राष्ट्रिय साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठ ले गरेको कुराकानिको केही अंश ः 

गण्डकी गाउँपालिको वडा नं ८ को अध्यक्ष पदमा चुनिनु भएको छ, गाउँपालिकाको विकासका लागि कस्ता एजेण्डा अघि सार्नु भएको छ ?

गण्डकी गाउँपालिका वडा नं ८  अन्य वडा भन्दा विकट र दुर्गम वडाका रुपमा रहेको छ । यहाँको भौगोलिक संरचनाका कारण यो वडा पछाडि परेको हो । यस वडाको विकासका निमित्त सबै भन्दा पहिले गाउँ देखि बेशि सम्म जोड्ने सडक बाटो निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकताका रुपमा रहेकोले हाम्रो प्रमुख कार्य नै सडक बाटोको विस्तार गर्नु रहेको छ । त्यस पछि कृषि पेशामा आधारित अधिकांश यहाँका जनताहरुका लागि कृषि पेशा गरेर नै आत्मानिर्भर बन्न सक्ने किसिमले आधुनिक कृषि प्रशिक्षण दिने, सिँचाईको व्यवस्था गर्ने, यसै वडा भित्र नै उच्च शिक्षाको लागि पहल गर्ने,प्राविधिक शिक्षामा जोड दिने, यस वडा भित्र पर्ने माथिल्ला भेगमा प्राथमिक स्वास्थ्य चौकीको व्यवस्था गर्ने, हाल भई रहेको स्वास्थ्य चौकीमा आवश्यक शैया निर्माण गरी थप सुविधाजनक बनाउने तथा भुकम्पाबाट क्षतिग्रस्त खानेपानीका संरचनाहरुलाई पुर्ननिर्माण गर्ने हाम्रो प्रमुख कार्य योजना रहेको छ भने । यस वडाका बुढीगण्डकी जलविद्युत आयोजना बाट प्रभावित जनताहरुलाई दिएको मुआब्जा रकम चित्त बुझ्दो रहेको छैन । कतिले मुआब्जा रकम लिईसकेका छन् । मुआब्जा वितरण प्रक्रियालाई परिवर्तन गर्न नसके पनि पुर्नवास स्थापनाका लागि वसेरी गाउँमा प्रभावित जनतालाई पुर्नवास स्थापना गर्ने र बसेरी भिलेजका रुपमा स्थापना गर्ने तथा क्षमता अनुसार रोजगारका लागि विशेष पहल गर्ने हाम्रो योजना रहेको छ । 

ग्रामीण विद्युतिकरणमा विभिन्न समस्याहरु देखा परेका छन् यसको समाधानका निमित्त के गर्नु पर्ला ?

ग्रामीण विद्युतिकरण सम्वन्धमा धेरै समस्याहरु रहेको छ । विशेष गरी ट्रान्सफर्मरको कमि हुनु, काठका जिर्ण पोलहरुको प्रयोग गर्नु, जस्ता समस्यहरु रहेका छन् । यसका समाधानका लागि हामीले स्थानीय तहको निर्वाचन हुनु भन्दा पहिले नै गोरखा विद्युत प्राधिकरणमा पटक पटक निवेदन दिदै आएका छौ तर प्राधिकरणले खासै चासो देखाएको छैन । काठका पुराना पोलहरु तथा ट्रान्सफरमर परिवर्तन गर्नका लागि मैले मेरो नेतृत्वमा ऊर्जा मन्त्रालयलाई १ करोड २१ लाख रुपैयाँको योजना सहित निवेदन पेश गरेको छु । यस योजना ल्याउनका निमित्त र जनताहरुलाई सुरक्षित तवरले विद्युत उपभोग गराउनका निमित्त हामी पहल गर्ने छौ । ५ बर्षको अवधि भित्र गण्डकी गाउपालिकाको मुहार फेर्ने हाम्रो चाहना रहेको छ । बुढीगण्डकी जलविद्युत आयोजना यसै क्षेत्रमा बन्न लागेका कारण यस क्षेत्रमा विद्युत सम्वन्धि हुने गरेका समस्याहरुलाई नेपाल विद्युत प्राधिकरणले विशेष चासो दिनु पर्दछ । 

प्राधिकरणले प्रदान गर्दै आएको फ्युज सेवा कार्यान्वयन भएको देखिदैन नि यस मा के भन्नु हुन्छ ?

विद्युतीय क्षेत्रसँग सम्वन्धित जुन जानकारीहरु जनतालाई थाहा हुनु पर्ने हो त्यस सम्वन्धमा नभएका कारण फ्युज सेवा कार्यन्वयनमा नआएको हो । विद्युत जटिल क्षेत्र हुनका साथै  महत्वपूर्ण पनि रहेको छ । यसको प्रयोगमा थोरै समस्या आउदा वा प्रयोग गर्न केही सानो गल्ति भयो भने पनि मानिसको ज्यान नै जान सक्छ । तसर्थ जनताहरुलाई विद्युत बाट हुन सक्ने खतरा र त्यस संग सम्बन्धि जनचेतना फैलाउने तथा विद्युत प्राधिकरण सँग समन्वय गरी फ्युज सेवालाई हामी कार्यन्वयनमा ल्याउने छौ । 

गण्डकी गाउँपालिका अन्र्तगत राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना पर्दछ, यसले गाउ“पालिकाका विकासका निमित्त कस्तो भुमिका निर्वाह गर्दछ ?

१२ सय मेगावाटको राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना बन्नु हाम्रा लागि सौभाग्यको विषय हो । राष्ट्रिय स्तरको यस आयोजना निर्माण सम्पन्न भए पश्चात यस गाउँपालिका मात्र नभई समग्र देशलाई नै फाईदाा पुर्याउँदछ । पर्यटकीय दृष्टिले समेत उच्च सम्भावना बोकेके यस आयोजनाबाट प्रभावित जनताहरुलाई क्षमता अनुसारको रोजगारी प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ । बुढी गण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न भए पश्चात गण्डकी गाउँपालिकामा व्यापार व्यवसायमा वृद्धि हुने तथा पर्यटकीय स्थलका रुपमा विकास हुने देखिन्छ । 

बुढी गण्डकी जलविद्युत आयोजना प्रभावित जनताहरुलाई पुर्नवास पुर्नस्थापनाका लागि राज्य सँग के के माग राख्नु हुन्छ ?

हामीले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित जनताहरुलाई पुर्नवास पुर्नस्थापनाका लागि बसेरी गाउँमा पुर्न स्थापना गराउने र बसेरी भिलेज नामाकरण गरी घ्याल्चोकमै पुर्न स्थापना गराउने उक्त गाउँलाई बसेरी भिलेज रिसोर्टका रुपमा विकास गर्ने योजना ल्याएका छौ । साथै यसलाई स्र्माट सिटिका रुपमा विकास गर्ने पनि हाम्रो लक्ष्य रहेको छ । हामीले यसलाई स्र्माट सिटिको रुपमा विकास गर्न सकेको खण्डमा राज्यबाट प्रदान गर्ने सम्पूर्ण सुविधाहरु प्राप्त गर्नका लागि हामी सरकार सामु निरन्तर पहल गर्ने छौ । 

स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ निर्वाचित पनि भई सक्नु भएको छ, प्रतिपक्ष दलहरुलाई कसरी लैजाने सोचमा हुनुुन्छ ?

हामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने हौ । निर्वाचनका क्रममा हार जित हुनु स्वभाविक हो । कुनै एउटा दल निर्वाचित भयो भन्दैमा उसैले मात्र विकासको सम्पूर्ण कार्य गर्ने र अर्को दल निष्क्रिय हुनु लोकतन्त्रको उपहास गर्नु हो । समाज विकासका कार्यमा दलिय स्वार्थ हुनु हुदैन । हामी प्रतिपक्ष दलसँग सँगै सहकार्य गरी विकासका कार्य गर्ने छौ । सबैको सहकार्यद्धारा नै विकास सम्भव रहेको छ । 

के नेपालमा लोडसेडिङ्ग पूर्ण रुपले अन्त्य होला त ? यसका लागि सरकारले कस्ता कार्य गर्नु पर्ला ?


अहिले सरकारले काठमाण्डौ, पोखरा, चितवन सहित विभिन्न स्थानहरुमा लोडसेडिङ्ग पूर्ण रुपले अन्त्य गरी सकेको छ । व्यवस्थापन पक्ष सबल भएकै कारण दैनिक १८ घण्टा सम्म लोडसेडिङ्गको मार खेप्दै आएको काठमाण्डौ उपत्यका लोडसेडिङ्ग मुक्त भई सकेको छ । सरकाले  उचित ढंगबाट कार्य गर्ने हो भने अबको ४,५ बर्ष भित्र नै देशभर लोडसेडिङ्ग मुक्त हुने मा विश्वास गर्न सकिन्छ । सरकारले स्थायी रुपमा ठूला ठूला जलविद्युत आयोजना निर्माणमा पहिलो प्राथमिकता दिएर काम गर्न सके सबै लोडसेडिङ अन्त्य सम्वभ देखिन्छ ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

जनताहरुको अमूल्य मत तथा विश्वासका कारण आज म गण्डकी गाउँपालिका वडा नं ८ को अध्यक्ष पदमा निर्वाचित भएको छु । जनताहरुले मलाई गर्नु भएको विश्वासका कारण आज म यहाँ सम्म आईपुगेको 
छु । गाउँको विकासका निमित्त मैले जुन योजना बनाएको छु त्यसलाई म पुरा गर्ने छु । साथै पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भए सँगै विभिन्न स्थान बाट विभिन्न दल ले विजय हासिल गरे पनि राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्न, व्यक्तिगत स्वार्थलाई त्यागेर समाज विकासका निमक्त कार्य गर्न यस पत्रिका मार्फत सम्पूर्ण दलका प्रतिनिधिहरुलाई आग्रह गर्दछु । साथै जनतालाई परिश्रमी बनाउने, श्रम प्रति इमान्दारी देखाउन लगाउने, श्रमद्धारा नै विकास र प्रतिफल पाईन्छ भनेर बुझाउन सके समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ र यसै अनुरुप कार्य गर्नु पर्दछ । 

प्रतिक्रिया