भर्खरै

“कुलमान र लोडसेडिङ”

  • प्रकाशित मिति : Wed-05-Jul-2017
  • -   सरस्वती घिमिरे 
title

हाम्रो अथक मेहेनत, लगन र आत्मविश्वास रह्यो भने असंभव जस्तो देखिने कतिपय कुराहरु पनि संभव देखिदारहेछन् । देशमा बढ्दैगैरहेको लामो लोडसेडिंग (दैनिक १८ घण्टासम्मको) र निर्माणाधिन जल बिद्युत परियोजनाहरुको सुस्तता हेर्दा लाग्थ्यो अँध्यारोमुनि बस्नु हाम्रो नियती हो ,संस्कृति हो र परम्मपरा हो । लोडसेडिंग अन्तका कुरा एउटा दिवा स्वप्न हो र उज्यालोमा बस्ने कुरा एकादेशको कथा । तर एकाएक चमत्कार भयो , कोहि अलौकिक शक्ति प्रदान भयो अझ भनौ कसैले क्षणिक जादु चलायो र हामीले स्वीकारेको नियति अँध्यारोमुनी बस्ने हाम्रो परम्पराको सदाका लागी अन्त गरिदियो । अहिले यो ट्रलेरका एउटा नायक कुलमानसिंह घिसिंङका बारेमा सर्बत्र चर्चा छ । यहि चर्चा र परिचर्चाका बिच हामीलाई जान्न मन लागेको कुरा आखिर को हुन् त कुलमान ? कसले ल्यायो यिनलाई ? कसरी संभव भयो लोडसेडिंगको अन्त ? यि र यस्तै थुप्रै प्रश्नहरु तपाइसँग पनि होलान । आउनुहोस एकैछिन् उत्तरहरु खोज्ने प्रयास गरौ, सायद यि उत्तरहरु हाम्रा लागी जीवन दर्शन बन्नेछन् ।
                   रामेछाप जिल्लाको वेथानमा २०२७ सालमा जन्मिएका कुलमान घिसिंङ बिगत २० वर्षदेखि लगातार विधुत प्रधिकरणमा कार्यरत छन् । भारतबाट इलेक्ट्रिकल इन्जिनियरिंगमा वि.एस्सी गरेका घिसिंङले पोखरा विश्वविद्यालयवाट एमबीए गरेका छन् । २०५१ सालमा विधुत प्राधिकरणको सातौ तहको इन्जिनियरबाट नेपाल सरकारको कर्मचारीका रुपमा सेवा सुरु गरेका थिए उनले । झण्डै दुइ दशक नेपाल विधुत प्राधिकरणको प्रसारण, वितरण र उत्पादनका क्षेत्रमा काम गरेको अनुभव छ उनिसँग । चिलिमे जलविधुत कम्पनिमा उनले २०६७ देखी २०७१ सम्म प्रवन्ध संचालकको जिम्मेवारी सम्हालेका थिए । चिलिमेको कमाइवाटै अन्य तीन परियोजना संचालन गर्न सक्षम घिसिंङलाई तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीको हस्तक्षेप पछि प्राधिकरण फिर्ता बोलाइयो र जिम्मेवारीबिहिन बनाइयो । २०७१ कै असोजमा नेपाल बिद्युत प्राधिकरणको निर्देशक ११ औं तहमा बढुवा भएपछि उनले राहुघाट जलविधुत आयोजना प्रमुखको रुपमा कार्य सम्पादन गरेका थिए । यसबिचमा उनको कार्यकुशलताको जनस्तरबाट ब्यापक प्रशंसा र समर्थन हुँदाहुँदैपनि राजनैतिक नेतृत्वको स्वार्थका कारण उनि झण्डै सेवाबाट नै हात धुने मनस्थितिमा पुगेका थिए । तर राधा ज्ञवालीपछि आएका उर्जामन्त्री जनार्दन शर्माले २०७३ भदौमा कुलमान घिसिंङलाई प्राधिकरण मात्रै फिर्ता बोलाएनन् बरु उनमा भएको क्षमता र कार्य कुशलताको उच्च सम्मान गर्दै नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक नै बनाए ।  अनि त्यहिंबाट शुरु गरे घिसिङले धावा बोल्न हाम्रो अघोषित नियति र परम्परा बनेको लोडसेडिंगका बिरुद्ध । 
              नेपाल बिद्युत प्राधिकरणमा हुने गरेका राम्रा नराम्रा हाकिम कर्मचारी सबैबारे राम्रो ज्ञान भएका कुलमानले धेरैले आशा नै नगरेका र नेपाली जनताले नियती भनि स्वीकारीसकेका अँध्यारो नेपालमा एकाएक उज्यालो भरिदिए । बर्तमानमा चलिरहेका सबै पुस्ताले स्वीकारेको लोडसेडिंग, जनघनत्वका हिसाबले सबैभन्दा बढी र अन्य हिसाबले पनि बिद्युत धेरै खपत हुने काठमाण्डौ महानगरपालीकाबाटै लोडसेडिंग अन्त गरी उर्जामंत्री जनार्दन शर्माको उज्यालो नेपाल अभियानलाई सार्थकता तर्फ डोर्याए । क्रमशः काठमाण्डौपछि चितवन पोखरा लगायतका अन्य जिल्लाहरु हुदै हाल देशका प्राय सबै जिल्लाहरु लोडसेडिंग मुक्त छन् भन्न पाउँदा हामी आफुलाई गौरवान्वित भएको महशुस गर्दछौं । यो बिचमा उनका काममा सहयोग गर्ने हातहरु थुप्रै थिए होलान् , पक्कै एउटैको मात्र प्रयासले यति ठुलो अभियान सफल हुनेथिएन । तर सहयोग गर्ने हातहरु भन्दा पनि उनको अभियान असफल बनाउन असफल प्रयास गर्नेहरुको पनि कमि थिएन यहाँ । लोडसेडिंग मुक्त काठमाण्डौ २÷४ दिन पनि सफल हुदैन, सफल भए म सार्वजनिक पद धारण गर्दिन , देशलाई चर्को भार थोपरेर आयात गरेको बिजुलिले कति दिन चलाउछस् हेरौंला यस्तै यस्तै भन्नेहरुको चर्को जमातलाई वेवास्ता गर्दै उनि निरन्तर लागीरहे र ति स्याल हुइया मच्चाउनेहरुलाई नबोलिकनै दरिलो झापड हान्न पनि सफल भए । सँगसँगै कुनै पनि राम्रो काम गर्नका लागी पहिले नै हल्ला गर्नुपर्दैन भन्ने कुरा पनि स्थापित गराए उनले । 
 अहिले आएर लोडसेडिंग अन्त केबल कुलमान र जनार्दनले गरेको नभै आफुहरुले त्यसको आधार खडा गरेको भन्नेहरुको पनि कमि छैन यहाँ । तर के संभव थियो त जनार्दन र कुलमानबिना यो अभियान ? अनिफेरी तिनै कुलमानलाई किन लगाइयो त असक्षमताको माला ? उनिभन्दा अघिका कार्यकारी निर्देशकले झैं कुलमानले पनि बिद्युत चुहावट नरोकी भ्रष्टाचारलाई प्रसय दिएका भए कदापि संभव हुनेथिएन लोडसेडिंगको अन्त । आखिर कसरी चलाए त कुलमानले जादुको छडी ?बिभिन्न छापा माध्यममा आएका खबर अनुसार कुलमान घिसिंङ कार्यकारी निर्देशकमा नियुक्त हुनु अगि र पछिमा, बिद्युत आपुर्ति हुने त्यति ठुला परियोजनाहरु थपिएका छैनन् । कुलमान अरुले झैं राज्यको बिजुली बेचेर आफु धनि हुने बाटोमा लागेनन् । उनले चाहेको भए चुड्किका भरमा अरबौ कमाउन सक्थे तर उनले त्यसो गरेनन् । देश र जनताको हितमा काम गर्नु नै जिन्दगीको सबैभन्दा ठुलो कमाइ माने उनले । कुलमान कार्यकारी निर्देशक हुनु अगि यहाँ हामीलाई आवश्यक पर्ने बिजुली भन्दा धेरै बढी र मौज्दात रहेको भन्दा चैं धेरै कम तथ्यांक सुनाएर जनतालाई भ्रमित पारिन्थ्यो । आज यसरी भनौ हामीलाई दैनिक खपतका लागी यति बिजुली चाहिन्छ र हाम्रो उत्पादन यति कम छ भनेर सँधैभरी गलत तथ्यांक दिइरहिन्थ्यो । उनिहरुको त्यस तथ्यांकले सँधै देखाइरह्यो कि हामीलाई दैनिक आबश्यक पर्ने बिद्युत र मौज्दात बिद्युतबिच ठुलै खाडल छ जसलाई पुर्न ठुला ठुला जलबिधुत उत्पादन कम्पनि खोल्नुपर्छ । अहिले अस्तित्वमा रहेका स साना थुप्रै कम्पनिहरु जसले उत्पादन गर्ने बिजुली भन्दा हाम्रो दैनिक माग प्रतिसत पनि बढी छ जसले अब आउने बर्षहरुमा पनि हामी अँध्यारोमा नै बस्नुपर्छ भन्ने कुरालाई पुष्टि गर्थो । यसअर्थमा पनि लोडसेडिंग जायज नै हो भन्ने भ्रममा राख्न सँधै सफल भए फटाहा कमिसनखोर कर्मचारी एवं राजनैतिक नेताहरु । यसरी गलत तथ्यांक पेश गरेर बचेको बिद्युत बिभिन्न ठुला कलकारखानाहरुलाई बेचेर कमिशन हुसुर्नेहरुको पहिचान गरेर नांगेझार पार्न सफल रहे कुलमान । यसबारेमा अन्य उधोगहरुवाट उजुरी परेपछि सरकारले बिद्युत विकास विभागका सुन्दर श्याम श्रेष्ठको संयोजकत्वमा एक छानबिन समिती बनायो । समितीको रिपोर्टले देशमा यस्तो गिरोह संजालकै रुपमा रहेको पुष्टि गर्यो । बिराटनगर लगायतका देशका प्रमुख शहरहरुका थुप्रै कलकारखानाहरु जनतालाई अँध्यारोमा राखी बेचिएको बिजुलिले झलमल हुन्थे लोडसेडिंगको बेलामा पनि । कुलमान घिसिंग यि र यस्ता थुप्रै अपराधहरु रोक्न सफल रहे । बिद्युतमा हुने यस्ता थुप्रै अपराध, चुहावट, हुकिंग गरी हुने चोरी ,अनावश्यक खपत, पिक आवर र नर्मल आवरका समयमा हुने खपतको आधारमा बिद्युत प्रबाहको संतुलन मिलाउने र भारतबाट आयात गरिएको बिद्युतलाई नियमित अनि ब्यबस्थित गर्ने कामलाई उनले कुशलतापुर्बक निर्वाह गरे र संभव तुल्याए लोडसेडिंग अन्तका कुरा । यो संभव हुनुमा उनको १८ घण्टे खटाइ, तत्कालिन सरकार र उर्जामंत्रीको दरो साथ अनि समर्थन, उज्यालो चाहने जनताहरुको न्यानो माया र सपोर्ट र उनिभित्र रहेको काम गर्ने जोश, जाँगर र राष्ट्र 
प्रेम नै थियो भन्ने कुरामा दुइमत नरहला । 
 यस अर्थमा पनि कुलमान घिसिंग नेपाल र नेपालीका लागी बरदान सावित भएका छन् । अहिलेको युवा पुस्ता परिवर्तन चाहन्छ,भ्रष्टाचारमुक्त एक स्वच्छ समाज चाहन्छ पनि भन्छौ हामी तर कुलमान जस्ता ब्यक्तिलाई कुनै पार्टी बिशेषको बिल्ला लगाइदिन पनि पछि पर्दैनौ । अब यहाँनेर प्रश्न उठ्छ हामी युवाशक्तिहरुले राजनैतिक सोचभन्दा माथि उठी कुलमान जस्ता सपुतहरुलाई साथ दिनेकि नदिने ? यसअघिका भ्रष्ट कमिसनखोर बिद्युत माफियाहरुलाई छानबिन गरि कार्वाहीको दायरामा ल्याउन आवाज बुलन्द गर्ने कि नगर्ने ? कुनै पार्टि बिशेष र समुह बिशेषको झोला बोकी ब्यर्थ फालिएको समयको थोरै सदुपयोग गर्दै कुलमान जस्ता यो देशमा अन्य सपुतहरु जन्माउन हामीले क्याम्पेन गर्ने कि नगर्ने  ? तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिंगको पहलमा “हाम्रो खोला हाम्रो पानी, जलबिधुतमा हाम्रो लगानी’ भन्ने स्लोगनका साथ उज्यालो नेपाल अभियान चलाइएको छ । बास्तवमै यो अभियान महान छ ,पबित्र छ र हाम्रै लागी छ । झोलामा खोला बोकेर बस्ने दलालहरु र ठुला ठुला परियोजना संचालनका लागी हाम्रा नदिनालाहरु बिदेशीलाई दिने कमिशनखोर नेताहरुलाई पाखा लगाउनकै लागी यो देशमा अन्य थुप्रै कुलमानहरु जन्मनुपर्छ । “परिबर्तन संभव छ त्यो पनि हाम्रै पालामा“ यो नारा केबल भोट माग्नका लागी नभएर देशलाई संबृद्धिको बाटोतर्फ डोर्याउनैका लागी हुनुपर्छ । जय कुलमान !

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago