भर्खरै

“उज्यालो अभियानमा बुटवल प्राधिकरण”

  • प्रकाशित मिति : Wed-05-Jul-2017
  • - प्रमुख संजय मिश्र  विद्युत प्राधिकरण बुटवल वितण शाखा
title

लामो समय देखि विद्युतीय क्षेत्रमा कार्य गर्दै आउनुभएका, ७ वर्ष सम्म बुटवल ग्रिड शाखामा कार्यरत, इलेक्ट्रिक इन्जिनियर तथा हाल बुटवल विद्युत प्राधिकरण वितरण शाखाका प्रमुख संजय मिश्र सँग नेपालमा विद्युत क्षेत्रको विकासमा प्राधिकरणको भूमिका, प्राधिकरणले जनताहरुलाई प्रदान गर्दै आएको सेवा, प्राधिकरणले गर्दै आएको कार्य , प्राधिकरणको कमजोरी, विद्युतीय प्रशारणलाईनमा प्रयोग हुने पोल, तार तथा ट्रान्सर्फमरको अवस्था आदिका बारेमा  विद्युत संसार राष्ट्रिय साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंशः

विद्युत प्राधिकरण बुटवलले ग्राहकहरुको सुविधाका  निमित्त कस्ता कार्यहरु गर्दै आएको छ ?

नेपाल विद्युत प्राधिकरण अन्र्तगत जेनेरेशन, ट्रान्समिसन र डिस्ट्रिव्युशन गरी तीन ओटा विभागहरु हुन्छन् । त्यस मध्ये डिस्ट्रिव्युशन वा वितरण विभाग उपभोक्तहरुसँग सबै भन्दा नजिक भएर कार्य गर्ने विभाग हो । हाम्रो यो बुटवल प्राधिकरण विद्युत वितरण शाखा हो । हामीले उपभोक्ताका सुविधाका निमित्त विभिन्न कार्यहरु गर्दै आएका छौ । रुपन्देही जिल्लाका पश्चिममा जितपुर, पूर्वमा शितनगर, दक्षिणमा जडिबुटी र पाल्पाका केही स्थानमा गरी ५३ हजार भन्दा बढी हाम्रा उपभोक्ताहरु रहेका छन् । उपभोक्ताहरुको सुविधाका लागि हामीले ३ ओटा फ्युज सेवा, २३ ओटा ग्राहक एरीया, चौराह र शिद्धनगरमा दुई ओटा सबस्टेशन, बुटवल, मुर्गिया, चौराह र शिद्धनगर मा गरी ४ वटा महसुल काउन्टर रहेका छन् र त्यसैबाट हामीले ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आएका छौ । 

नेपाल विद्युत प्राधिकरणले विद्युतको क्षेत्रमा के कस्ता सुधार गर्ने योजनामा हुनुहुन्छ ?

नेपाल विद्युत प्राधिकरण नेपालको सम्पूर्ण भूभागमा विद्युत क्षेत्रमा कार्य गर्ने सबै भन्दा ठूलो निकाय हो । विद्युत  उत्पादन, प्रशारण र वितरण गर्नु यसको मूख्य उद्धेश्य हो । विद्युत सम्वन्धि सम्पूर्ण जिम्मेवारी प्राप्त नेविप्रा ले जिल्लाका विभिन्न प्राधिकरणमा हुने समस्याहरुलाई पनि हेर्नु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । विद्युत वितरण विभागबाट ग्राहकहरुको घर सम्म विद्युत वितरण गर्दा कहिलेकाही समस्या पर्ने देखिन्छ । विद्युत वितरणका क्रममा भोल्टेज कम हुने, चाहेजस्तो रिलाएबल नहुने, निरन्तरता नहुने, कन्सिड्युटल टिफ्रिङ्ग हुने जस्ता समस्याहरु आउने गर्दछ । यसको नेपाल विद्युत प्राधिकरणले यस्ता समस्याहरुको सुधार गर्नु पर्ने देखिन्छ । विद्युत उत्पादन गरी विद्युत वितरण गरेर मात्र प्राधिकरणको कार्य पुरा हुन्छ जस्तो मलाई लाग्दैन तसर्थ वितरणका क्रममा आउने समस्याहरुको समाधानका निमित्त पनि नेविप्रा ले ध्यान दिनु पर्दछ ।  

प्रशासनिक तथा आर्थिक कारोबार हेर्ने कर्मचारीहरु भन्दा प्राविधिक क्षेत्रमा खटिएर काम गर्ने कर्मचारीहरुको कस्तो भूमिका रहन्छ ?

यो अत्यन्तै महत्वपूर्ण कुरा हो प्रशासनिक तथा आर्थिक कारोबार हेर्ने कर्मचारीहरु भन्दा कार्य क्षेत्रमा नै पुगेर कार्य गर्ने प्राविधिक कर्मचारीहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ । समय समयमा विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने, ट्रान्सर्फमरहरु विग्रने, तार सर्ट भई चुड्ने जस्ता सस्याहरु आउने गर्दछन् ति समस्याको समाधानका निमित्त रात दिन नभनि प्राविधिक कर्मचारीहरु नै खटिने गर्दछन् । यसले गर्दा प्राविधिक कर्मचारीहरुको कार्य महत्वपूर्ण हुनका साथै जटिल पनि रहेको छ । हाम्रो यहि बुटवल प्राधिकरणलाई हेर्ने हो भने १ सय १७ दरबन्दि रहेका छन् । त्यस मध्ये ८७ प्राविधिक कर्मचारीहरु रहेका छन् । ५३ हजार उपभोक्ताहरु रहेको ठूलो क्षेत्र ओगटेको बुटवल प्राधिकरणमा ८७ जना प्राविधिक कर्मचारीहरुले वुटवल प्राधिकरण भित्र पर्ने सम्पूर्ण क्षेत्रका प्राविधिक समस्या सम्वन्धि सम्पूर्ण  कार्यहरु गर्ने गर्दछन् । यो निकै सराहनीय रहेको छ । थोरै जनशक्तिले धेरै क्षेत्रमा दिनरात नभनि जनताको सुविधाका लागि प्राविधिकहरुले दिएको योगदान महत्वपूर्ण रहेको छ । 

बुटवल प्राधिकरण अन्र्तगत रहेका शहरी तथा ग्रमीण क्षेत्रहरुमा मिटर रिडिङ्ग गर्ने क्रमा देखिएका कस्ता समस्याहरु रहेका छन् ?

 बुटवल प्राधिकरण अन्र्तगत खासै ग्रामीण इलाकाहरु रहेका छैनन् । सबै समथर भूभाग पर्ने भएका कारण बुटवल प्राधिकरण अन्र्तग मिटर रिडिङ्गका लागि खासै समस्या रहेको छैन । प्रति महिना नियामित रुपमा मिटर रिडिङ्ग हुने गरेको छ । 

ग्राहकहरुको घरमा भएका मिटरहरुको सिलबन्दि तोडिने जस्ता कार्यहरु हुने गर्दछ, यसका लागि प्राधिकरणले कत्तिको अनुगमन गर्ने गरेको छ ?

मिटर जडान गरिएका तर राम्रो सँग मिटर शिलबन्दी नभएका घरहरुमा अहिले मिटर शिलबन्दी गर्ने कार्य तिव्र रुपमा भई रहेको छ । विगतमा मिटरको अभाव हुदा उपभोक्तहरुले सजिलैसगँ मिटर प्राप्त गर्न सक्दैनथे  तर अहिले मिटर लिनका लागि कुनै पनि समस्या रहेको छैन । उपभोक्ताले मिटर प्राप्त गर्नका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको एक हप्ता भित्र नै प्राधिकरणले मिटर उपलब्ध गराउने गर्दछ । मिटर उपलब्धतामा सहज भए सँगै मिटरको माग पनि बढ्दै गएको छ । मिटर जडान गर्ने क्रममा सम्पूर्ण प्रक्रिया पुर्याएर मिटर जडान गर्दै आएका छौ । विगतमा मिटर शिलबन्दी नभएका सम्पूर्ण घरहरुमा मिटर शिलबन्दी गर्नका लागि क्षेत्रिय निकायबाट पनि निर्देशन आएको हुदा मैले बुटवल प्राधिकरण अन्र्तगतका सम्पूर्ण क्षेत्रहरुमा मिटर  शिलबन्दी गर्न प्राविधिक कर्मचारीहरुलाई निर्देशन दिएको छु र हाल हामीले नयाँ मिटर जडान भएका घरहरुमा पूर्णरुपमा मिटर शिलबन्दी गर्दै आएका छौ ।

बुटवल क्षेत्र अन्र्तगत उद्योगहरुमा जडान गरीएका टिओडी मिटरहरुमा समस्या आउने गरेको सुनिन्छ नि यसमा के भन्नुहुन्छ ?

बुटवल क्षेत्र अन्र्तग करिव ३ सय वटा टि ओ डी मिटरहरु जडान भएका छन् । यि मिटरहरुमा कहिले काही सामान्य समस्याहरु जस्तो पोलारीटी नहुनु, सिटी जोड्दा सिटि भर्किट नमिल्नु, एम एफ मल्टीप्लायर र्पपर नहुनु जस्ता समस्याहरु आउने गर्दछन् । यस्ता सामान्य समस्याहरुको समाधान गर्नका लागि हामीले नियामीत टि ओ डी मिटरको रिडिङ्ग डाउनलोड गर्ने गर्दछौ । टि ओ डी डाउनलोड गर्दा कतिपय मिटरहरुमा मानविय त्रुटि  हुने गरेको देखिन्छ, जुन देखिन्छ त्यसको सुधार गर्ने कार्यहरु हामीले गर्दै आएका छौ । ऊर्जा किफायती र पावर फैक्टर भूमिका बारे बताईदिनुहोस न ।ट्रान्समीसन लाईनहरु, डिस्ट्रिव्युशन लाईन, ट्रान्र्फमरमा कतिपय ठाउँमा ओभरलोड पनि 
रहेका छन् यस्ता ठाउँहरुमा भोल्टेज मेन्टेन गर्नका लागि पावर फ्याक्टर मेन्टेन गर्नका लागि हामीले पावर बैंकको प्रयोग गर्ने गर्दछौ । पावर बैंक सामान्यतय लिडसपस्मा अनिवार्य गरिएकोछ । लिडसपस्नबाट सेन्डीङ्ग भोल्टेजमा जादा यदि रिसविङ्गमा पनि सपसेन् भोल्टेज सफिसियन्ट भई रहेको अबस्था छैन भने त्यहाँ पनि पावर फ्याक्टरलाई सुधार गर्न र पावर फ्याक्टरको सुधार सँगसँगै अल्टिमेल भोल्टेजलाई सुधार गर्दछ । यसले गर्दा प्रत्येक उद्योगहरुमा पावर बैंकको प्रयोग गरिएको हुन्छ । पावर बैंकले विभिन्न किसिमका सुधार गर्न सहयोग पुर्याउने हुदा ने.वि.प्राले पनि यसको प्रयोगमा जोड दिई रहेको छ । 

बुटवट क्षेत्र अन्र्तगत  पोल तथा तारहरुमा समस्या रहेको छ यसलाई कसरी समाधान गर्ने सोचमा हुनुहुन्छ ?

तारहरु लत्रिने, पोलहरु जिर्ण बन्दै जाने समस्या बुटवलको मात्र होईन । यो अन्य वितरण केन्द्रहरुमा पनि समस्याका रुपमा रहेका छन् । मलाई लाग्छ अन्य वितरण केन्द्रहरुमा भन्दा बुटवल वितरण केन्द्रका तार तथा पोलहरु अझ बढी व्यवस्थित र सुधारयुक्त रहेको छ । लोड बढ्दै जादा, वा ट्रान्सफरमरको संख्या बढ्दै जादा तारहरु झुण्डिने गर्दछ । यसलाई अझ सुधार गर्नका लागि कन्डक्टरपनि अपग्रेडिङ्ग गर्दै जानु पर्दछ जसले तारहरु झुण्डिने जस्ता समस्याको समाधान हुन्छ भने जिर्ण पोलहरु विस्थापन गरि नयाँ पोलहरु राख्नु पर्दछ जसले विद्युतजन्य दुर्घटना हुनबाट पनि जोगाउछ । हामीले यसका निमित्त सुधारात्मक कार्य गर्दै छौ  । 

टेक्निसियन, विद्युत व्यवसायी र विद्युत प्राधिकरण बीच कस्तो सम्वन्ध रहेको हुन्छ ?

टेक्निसियन, विद्युत व्यवसायी र विद्युत प्राधिकरण यि त्रिपक्ष बीच निकै गहिरो सम्बन्ध रहेको हुन्छ । कुनै पनि घर वा भवन निर्माण गर्दा टेक्निसियनहरु जस्तो ः इलेक्ट्रिक इन्जिनियर वा सम्वन्धित टेक्निसियनहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । घर निर्माण गर्दा हाउस वायरीङ्ग कसरी गर्ने, विद्युतीय सामाग्रीहरु कहाँ कहाँ जडान गर्ने भन्ने सन्दर्भमा इलेक्ट्रिक इन्जिनियरहरु जानकार हुने गर्दछन् । त्यस्तै गुणस्तरीय विद्युतीय सामाग्री विक्रि वितरण व्यवसायिले गर्ने गर्दछन् भने विद्युत प्राधिकरणबाट प्रशारणलाईनको मध्यमद्धारा उपभोक्ता सम्म विद्युत वितरण हुने गर्दछ । विद्युतीय क्षेत्रमा यि तीन पक्षको निकै महत्वर्पू भूमिका रहेको हुन्छ । नेपालको सन्र्दभमा  घरहरु निर्माण गर्दा इन्जिनियरहरुको प्रयोग भएको देखिदैन तर घर निर्माण गर्दा सिभिल तथा इलेक्ट्रिकल इन्जिनियरद्धारा मान्याता प्रदान गरिएको हुनु पर्दछ । तात्कालिन समयमा यो नेपालको लागि निकै नै आवश्यक रहेको छ । 

विद्युत प्राधिकरण बुटवलले विद्युत सम्वन्धि कस्ता जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ ?

विद्युत निकै सम्वेदनशील, जटिल र आवश्यक कुरा हो । विद्युत सबैका लागि आवस्यक छ । विद्युत उपभोग गर्ने क्रममा सानो गल्ति भएको खण्डमा पनि ठूलो जन धनको क्षति हुन सक्दछ तसर्थ जनताहरुमा  विद्युतको उपयोगिता र यसको प्रयोगका सन्र्दभमा जनचेतना फैलाउनु आवश्यक रहेको छ । हामीले चैत्र २६ गते शुरक्षा दिवस (सेफ्टि डे ) का दिन पनि  विद्युत सम्वन्धी विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गर्यौ र आगामी दिनमा पनि जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै जाने हाम्रो योजना रहेको छ । 
 
विद्युत प्राधिकरण कर्मचारीहरुलाई तालिमको व्यवस्था कस्तो रहेको छ ?

विद्युत प्राधिकरणका कर्मचारीहरुलाई केन्द्रिय कार्यलय भक्तपुर खरिपाटी प्राधिकरणले तालिम प्रदान गर्दै आएको छ । विभिन्न समयमा प्राधिकरणको योजना अनुरुप कर्मचारीहरुलाई आवश्यक तालिम दिदै आएको छ । प्राधिकरणले प्रदान गर्ने तालिम निकै प्रभावकारी रहेको छ । उपत्यका बाहेक बाहिरी जिल्लाहरुमा पनि प्राधिकरणले  कर्मचारीहरुलाई तालिम दिदै आएको छ ।    

विद्युतीय सुरक्षामा अर्थिङ्ग को कस्तो महत्व रहेको हुन्छ ?

आफुलाई खतरामा पारेर अरुलाई बचाउने महत्वपूर्ण  काम अर्थिङ्गले गर्दछ । घर, उद्योग कलकारखानामा अर्थिङ्ग गर्नु आवश्यक रहेको छ । अर्थिङ्गले सम्भावित विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानविय तथा आर्थिक क्षति  बचाउ गर्दछ । फ्युजलाई पनि अर्थिङ्गको सानो रुप मान्न सकिन्छ । यदि विद्युत आपूर्तिका क्रममा कुनै समस्या आएको खण्डमा जडित विद्युतीय उपकरणहरुलाई सुरक्षित राख्ने प्रयास फ्युजले गर्दछ । फ्युजले मात्र सम्पूर्ण सम्भावित दुर्घटनालाई बचाउन नसक्ने हुदा निर्दिष्ट अर्थिङ्ग गर्नु पनि निकै आवस्यक रहेको छ । प्रपर अर्थिङ्ग गरेको खण्डमा हुन सक्ने सम्भावित र्दुघटना र धनजनको क्षति हुन बाट जोगाउदछ । विभिन्न प्रयोजनलाई अर्थिङ्ग रेटिङ्ग मापन फरक फरक रहेको हुन्छ ।

ग्रामिण क्षेत्रमा प्रयोग गरिएका सामान्य ५ एम्पीर देखि ३० एम्पीएरसम्मका विद्युतीय मिटरहरु प्रयोग गरिएको  २, ३ वर्ष मा नै विग्रने गरेको छ, यसको समाधानका लागि के गर्नु पर्ला ?

मिटर विग्रनुका पछाडी धेरै कारणहरु रहेका हुन्छन् । कुनै मिटर एम्पीयरका लागि निर्माण गरिएको हुन्छ भने कुनै भोल्टेजका लागि निर्माण गरिएको हुन्छ । तोकिएको एम्पीएर वा भोल्टेज भन्दा लोड धेरै भयो भने पनि मिटर असर पुग्ने गर्दछ । प्रशारण लाईनमा भोल्टेज कहिले बढ्ने कहिले घट्ने भयो भने पनि मिटरहरु जल्ने गर्दछ । यसको समाधानका लागि लोड बढी हुने क्रम बढेको खण्डमा मिटर चेन्ज गर्नु पर्दछ । भने मान्याता प्राप्त कम्पनीका मिटरहरुको प्रयोग गर्नु पर्दछ । 

विद्युत प्राधिकरणबाट जुन एमसीवीका निमार्ण कम्पनीहरुले बढी कमिसन दिन्छ त्यहि कम्पनीको एमसीवी प्रयोग गर्न प्राधिकरणले सल्लाह दिन्छ भन्ने सुनिन्छ नि, यसमा के भन्नु हुन्छ ?

यो विषयमा म पूर्ण रुपमा असहमत रहेको छु । विद्युत प्राधिकरणले कुनै पनि आग्रह वा पूर्वाग्रहमा अहिले सम्म त्यस्तो कार्य गरेको छैन । एमसीवीमा कमिसन लिएर कमसल खालका, मान्याता प्राप्त नभएका वा एन.एस वा आई.एस.ओ चिन्ह् नभएका कम्पनीका एमसीवीहरु कुनै पनि प्राधिकरणले प्रयोग गरेको छैन । विद्युत प्राधिकरणलाई जुन एमसीवी कम्पनीहरुले बढी कमिसन दिन्छ त्यहि कम्पनीको एमसीवी प्रयोग गर्न प्राधिकरणले सल्लाह दिन्छ भन्नु भ्रम मात्र हो ।  एमसीवी को प्रयोग गर्दा एन.एस वा आई.एस.ओ ब्राण्डका निश्चित रेटीङ्ग एमसीवी को प्रयोग गर्न सल्लाह दिने गर्दछु । 

विद्युतीय दुर्घटना दिनप्रतिदिन बढ्दो छ, यसको न्युनिकरण कसरी गर्न सकिएला ? बताई दिनुहोस् न । 

विद्युत सम्वन्धी काम गर्दा तालिम प्राप्त वा दक्ष जनशक्ति प्रयोग गर्नु पर्ने, सुरक्षा पहिलो भन्ने नारालाई कार्यन्वयन गर्नु पर्ने, सुरक्षा समाग्रीहरु बारम्बार उपयोगी आवश्यक व्यवस्थापन र संचार संवाद रहेको खण्डमा विद्युतीय दुर्घटना न्युनीकरण हुने थियो । 

के नेपालभर पूर्ण रुपमा लोडसेडीङ्ग  अन्त्य सम्भव छ ?

आजको यो वैज्ञानिक युगमा प्रविधिले निकै फड्को मारि सकेको छ । नेपालमा पनि विद्युत क्ष्ँेत्रको विकासका लागि आवश्यक प्राविधिक जनशक्तिहरु रहेका छन् भने विद्युत उत्पादनका लागि आवश्यक स्रोत प्रशस्त मात्रामा रहेको छ । र पछिल्लो समयमा प्राधिकरणल लोडसेडीङ्ग अन्त्यका लागि चालेको कदम निकै नै सराहनीय रहेको छ । अहिले विभिन्न स्थानमा लोडसेडीङ्ग पूर्ण रुपमा अन्त्य भइसकेको छ । मलाई लाग्छ सरकारले यसै अनुरुप काम गर्दै जाने, राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरुलाई विशेष प्राथमिकता दिएको खण्डमा नेपालमा सदाका लागि लोडसेडीङ्ग अन्त्य सम्भव रहेको छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्नुहुन्छ ?

विद्युत सबैका लागि आवश्यक तर निकै सम्वेदनशील रहेको हुन्छ । उपभोक्ताहरुले विद्युतीको प्रयोग गर्दा सुरक्षित ढंगले होस पुर्याएर विद्युत प्रयोग गर्न आग्रह गर्दछु । त्यस्तै अहिले सरकारले विद्युत क्षेत्रको विकासका निमित्त जुन किसिमका कदम चालेको छ त्यो जनता समक्ष छिट्टै पुग्ने गरी अर्थात् जनतालाई विकासको महसुस हुने गरी सरकाले जनतालाई सेवा प्रदान गर्न सकोस् । हामी उज्यालो अधियानमा निरन्तर लागिरहेका छौ ।

प्रतिक्रिया