भर्खरै

बिजुलीका तारले जेलिएको  राजधानी 

  • प्रकाशित मिति : Wed-03-Oct-2018
  • - Admin
title

रुपा तुलाधर,

काठमाण्डौ,असोज । काठमाण्डौ सुन्दर शहर हो । काठमाण्डौको सुन्दरताको बयान गरी साध्य छैन । तर पछिल्लो समय विकास भएको नयाँ नयाँ प्रविधि, त्यसको प्रयोगले शहरको यथार्थ सुन्दरता लोप गराएको छ । काठमाण्डौको सुन्दरता लोप गराउने मूख्य कारक बिजुलीका पोल र त्यसमा टाँगिएका तारहरु हुन् । एउटै पोलमा टाँगिएका बिजुलीका तार, टेलिफोनका तार, इन्टरनेटका तार लगायत विभिन्न प्रयोगका लागि टाँगिएका तारहरुका कारण शहरको सुन्दरता गुम्न पुगेको छ । 
सुन्दर शहर निर्माणका लागि काठमाण्डौ महानगरपालिकाले जथाभावी लत्रिएर रहेका तारहरु व्यवस्थापन गर्ने भनेको भए पनि महानगरले तार व्यवस्थापनलाई निरन्तरता दिन नसक्दा अहिले जताततै माकुराको जालो जस्तै तारहरुले काठमाण्डौलाई जेलिरहेको छ । तारको व्यवस्थापन नहुदा तथा तारहरु जथाभावी लत्रिदा करेन्ट लाग्ने, विद्युतीय दुर्घटनाहरु बढ्ने गरेको छ । यसको गतिलो उदाहरण पछिल्लो समय पशुपति परिसरको बेन्चमा आरम गर्न बसेका ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर मृत्यु हुनु  हो । 

किन हँुदैन व्यवस्थापन


 महानगरपालिकाले शहरको सुन्दरतालाई मध्यनजर गर्दै गत वर्ष देखि लत्रिएका तार व्यवस्थापन गर्न लागि परेको भए पनि त्यसमा महानगरपालिकाले तत्परता देखाउन नसक्दा अहिले पनि तारहरुको अवस्था उस्तै नै रहेको छ । गत वर्ष महानगरपालिकाले ५० ट्रिप अव्यवस्थित तार हटाएको भए पनि फाइबरका तारहरुको लिलाम बिक्री नहुँदा व्यवस्थापनमा अझै समस्या देखिएको छ ।  महानगरपालिकाले कलंकीदेखि त्रिपुरेश्वर, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, माइतीघर मण्डला देखि पुलतीसडक, जय नेपाल हल हुँदै नागपोखरी, नक्साल, बालुवाटार, माइतीघर तीनकुने हुँदै कोटेश्वरतर्फ र सिंहदरबारको पूर्वी साइड अनामनगर, थापागाउँ हुँदै नयाँबानेश्वर सम्म तार व्यवस्थापन गरिसकेको बताए पनि ति स्थानमा तार व्यवस्थापन भएको भने देखिदैन । तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण, भौतिक प्राधिकरण, नेपाल दूरसञ्चार आदि सबैले सहकार्य गरी तार व्यवस्थापन गर्नु पर्ने भए पनि त्यसो हुन नसक्दा तार व्यवस्थापन हुन सकेको छैन । सरकाले विद्युतीय तारहरुलाई भूमिगत गर्ने भने पनि त्यसका लागि कुनै पहल हुन सकेको छैन । 

कम्पनीहरु नै मान्दैनन् नियम 

गत वर्ष  अनावश्यक रुपमा  लत्रिएका तारहरु  विस्थापन गर्नका लागि सरकाले विभिन्न नियमहरु लागु गरेको भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा  तारको व्यवस्थापन अझै हुन सकेको छैन । 
सडक वरपर जथाभावी लत्रिएका तारहरु कुन कम्पनीको तार हो, सम्वन्धित कम्पनीले नै एक हप्ताभित्र हटाई व्यवस्थापन गर्नुपर्ने, प्रत्येक तारहरुमा कम्पनीको पहिचान हुने गरी पोल देखि पोलको दुरीमा रहने गरी अनिवार्य रुपमा कम्पनीको ट्याग वा कम्पनीको नाम लेखिनु पर्ने भने पनि अहिले सम्म उचित ढंगले कार्यान्वयनमा आउन सकेको छैन ।
 
सरकारको मौनताका कारण दुर्घटना बढ्दै

जथाभावी लत्रिएका तारहरुका कारण करेन्ट लागि अंग भंग हुने, मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो समस्या शहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि रहेको छ । सरकारले तार व्यवस्थापनमा ध्यान दिन नसक्दा यस्तो भएको हो । जथाभावी तार लत्रिदा आगलागी हुनुका साथै पोलमा अत्याधिक मात्रामा तार झुड्याइदा पोलले तारको भार खेप्न नसकेर पोल नै ढल्ने अवस्था पनि रहेको छ । यसका लागि सरकाले तार व्यवस्थापनमा तत्परता देखाउनु पर्दछ भने नियमित निरिक्षण गर्नु पर्दछ ।  

 
 

प्रतिक्रिया