राजमार्गका अनाधिकृत संरचना हटाउने काम शुरु
- प्रकाशित मिति : Thu-04-Oct-2018
- - Admin

काभे्रपलाञ्चोक, असोज काभे्रपलाञ्चोकको साँगादेखि धुलिखेल चोकसम्मका अरनिको राजमार्ग दायाँबायाँका मापदण्डभित्रका अनाधिकृत संरचना हटाउने काम भइरहेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले गत सोमबारदेखि बनेपा नगरपालिका–१४ वडास्थित साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घर, टहरा तथा अन्य संरचना हटाउन थालेको हो । साँगादेखि धुलिखेलसम्मका १५६ वटा घर, टहरा हटाइनेछ ।
मङ्गलबार २५ वटा घर, २० वटा टहरा, शौचालय एक, इलाका वन कार्यालयको भवन दुई र होडिङ बोर्ड १७ वटा भत्काइएको थियो । आज पनि जनागालदेखि बनेपासम्मको सात वटा घर, तीन टहरा र पाँच होडिङ बोर्ड तथा इलाका प्रहरी कार्यालय बनेपाको पर्खाल भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताउनुभयो ।
लगतअनुसार बनेपा नगरपालिका वडा नं १३ मा २८ वटा, १४ मा ५१ वटा र वडा नं। १० मा ४४ वटा घरटहरा भत्काइनेछ ।
यस्तै धुलिखेल नगरपालिकाको वडा नं ३, ४ र ६ मा ३१ वटा घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । यसमध्ये विसं २०३१ भन्दाअघि बनेका ५६ वटा घर, टहराको मुआब्जा दिएर भत्काइने सडक विभागका डिभिजनल इञ्जिनियर गुरुप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले २०३१ भन्दा पछि बनेका संरचना भत्काइएको हो, ५६ वटा संरचना मुआब्जा दिएर पछि भत्काइनेछ ।”
राजमार्गमा २५ मिटर अर्थात् ८२ फिट कायम हुने र बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि बनेपा बजारमा भने ७५ फिट मात्रै कायम गरिएको हो ।
सरकारले भक्तपुरको सूर्यविनायकदेखि काभे्रपलाञ्चोकको धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारी गरेसँगै अनाधिकृत संरचना हटाउन लागिएको हो । रासस