भर्खरै

उड्ने कार निर्माण 

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

१२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार  वैज्ञानिक तथा प्राविधिकहरुले निर्माण गरेका छन् । यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् ।

एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ । ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो। कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ । संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ । सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो। त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ। टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ । बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ ।

यसमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्नेगरि काम भईरहेको छ। यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ । आपातकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्नेछ । यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्नेछ । त्यसपछि ढुक्क भएर बसे हुन्छ, आफैं गन्तव्यमा पुगिने छ । रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । अमेरिकास्थित फेडरल एभिएसन एड्मिनिस्ट्रेसनद्वारा दुई वर्षअघि नै यो कारले एउटा हलुका ‘स्पोर्ट एयरक्राप्ट’ का रुपमा मान्यता प्राप्त गरिसकेको छ। यसले राष्ट्रिय राजमार्ग गुड्ने गरी ट्राफिक सुरक्षा मापदण्ड समेत पुरा गरिसकेको छ ।
 तर उपभोक्ताहरुले यसका लागि कार चालकको अनुमति मात्रै हैन, विमान चालकको लाइसेन्स पनि लिनु पर्नेछ। साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ। यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ । यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ। यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ ।‘टिएफ–एक्स’ नाम दिइएको यो कारमा चारजनासम्म अटाउन सक्ने गरी बनाउने योजना कम्पनीको छ। यो कारको विशेषताबारे कम्पनीले भनेको छ, ‘टीएफ–एक्सलाई उडान भर्न र अवतरण गर्न कुनै विमानस्थलको आवश्यकता पर्दैन, यो सबै खालको सडक र राजमार्गमा गुड्न सक्छ । यसले डोर–टू–डोर पारवहनको सुविधा समेत दिन सक्छ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) क्रिस ज्यारानले जुलाईमा भनेका थिए, ‘यो नयाँ प्रविधिको विकासले धेरै खालको यन्त्रहरु तथा त्यसलाई उन्नत बनाउन सहयोग पुगेको छ । 
धेरै पटकको परिक्षणपछि परिमार्जित गर्दै बजारमा ल्याउने तयारी गरेका हौं।’ उपभोक्ताहरुले खरिद गरेर आ–आफ्नो घरमा लग्ने बेलासम्म यसलाई थप उन्नत र सुरक्षित बनाउने योजना आफूहरुको रहेको ज्यारानले बताए ।‘टिएफ–एक्स’ले स्वचालित रुपमा अन्य एयर ट्राफिक, खराब मौसम र प्रतिबन्धित तथा टावर–नियन्त्रित एयरस्पेसबाट आफूलाई सुरक्षित राख्न सक्षम छ। यो बाहनमा जडान गरिएको ब्याट्री यसको इन्जिनबाट रिचार्ज हुने या विद्युतिय कार चार्जिङ स्टेशनमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

‘द टाइम’ अखबारका अनुसार उत्पादक कम्पनीले गत नोभेम्बरमा चिनिया कार कम्पनी गीलीसंग आर्थिक र प्राविधिक सहयोग मागेको थियो। चिनियाँ कम्पनीले यसमा लगानी, प्राविधिक सहयोग र जनशक्ति दश गुणा बढाएको थियो, दुई सय इन्जिनियर्सले यसमा काम गरेका थिए। बेलायती अनलाईन खबर ‘मिरर’ का अनुसार स्वचालित भएपनि खरिदकर्ताले सडक तथा हलुका विमान चालकको अनुमति पत्र चाहि लिनै पर्नेछ। कम्पनीले निकट भविष्यमा कार्गो र यात्रु सेवाका लागि टिएफ–२ ल्याउने तयारी पनि गरेको जनाएको छ । 
(एजेन्सीको सहयोगमा)
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 13 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago