भर्खरै

विद्युतीय माध्यमसम्बन्धी उजुरी धेरै

  • प्रकाशित मिति : Thu-25-Oct-2018
  • - Admin
title

काठमाडौँ, ७ कात्तिक । पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५÷७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । 


विद्युतीय माध्यममा परेका ३७ वटा उजुरीमध्ये ११ वटा फछ्यौट भएको र २६ वटा कारबाही प्रक्रियामा रहेको काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । 


छापामाध्यममा परेका १४ वटा उजुरीमध्ये चार वटा फछर्यौट भएको र १० वटा कारबाही प्रक्रियामा छन् । यी ५१ उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मानहानी भएको लगायतका विषयमा छन् । 


आर्थिक वर्ष २०७४÷७५ मा १६५ वटा, आव २०७३÷७४ मा ११२, २०७२÷७३ मा १०१, आव २०७१÷७२ मा ५१, आव २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका थिए । 

विगतको तुलनामा पत्रकार आचारसंहिता उल्लङ्घनका घटनालाई लिएर उजुरी पर्ने क्रम बढ्दै गएको काउन्सिलले जनाएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारबारे काउन्सिल आफैँले समेत अनुगमन गर्दै आएको छ । 

पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमध्ये सबैभन्दा बढी अनलाइन पत्रिकाले आचारसंहिता उल्लङ्घन गर्ने गरेको सूचना अधिकारी खनालको भनाइ छ । विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको सङ्ख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । 


आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्याङ्कन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ । 

प्रेस काउन्सिल पत्रपत्रिका र पत्रकारसँग सम्बन्धित भएको हुनाले सूचना विभागले दिँदै आएको ‘पत्रकार प्रेस पास’ काउन्सिलले नै वितरण गर्नुपर्ने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको भनाइ छ । “२६ वर्ष पुरानो काउन्सिलको ऐनलाई संशोधन गरेर हामी नयाँ ऐन ल्याउने तयारीमा छौँ, जसले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्नेछ”– कार्यवाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो । 


स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ । 

आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । 

काउन्सिलले पछिल्लो तीन महिनामा पत्रकार कल्याण कोषबाट सात जना पत्रकारलाई रु ८० हजार रकम औषधोपचार सहायताका लागि प्रदान गरेको छ । त्यसैगरी मिडिया विकास कोषबाट चार सञ्चार माध्यमलाई रु एक लाख ५७ हजार ९४३ सहयोग प्रदान गरेको छ । 


पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ निर्माण कार्य अन्तिम चरणमा पुगेको काउन्सिलले जनाएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितासँगै सञ्चार माध्यम आफैँ पनि आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago