भर्खरै

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

  • प्रकाशित मिति : Thu-01-Nov-2018
  • - Admin
title

काठमाडौँ, १५ कात्तिक ।  सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 
पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र विवरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । 
सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिनुभयो । 

केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ तर अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा छाप्ने र पछि अन्यको पनि छाप्ने उहाँले बताउनुभयो । 

सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र विवरणसमेत गरीने छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले मेशिन उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरेको बताउनुभयो । 

उहाँका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुने छ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा आमा, बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ । 

केन्द्रले अमेरिकाको बनेको अत्याधुनिक मेशिन ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिनुभयो । 
उक्त मेशिन ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो । 

उहाँका अनुसार लेजर प्रविधिबाट कार्बन ९पोली कार्बोनेट० लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ ।। उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उहाँको भनाइ रहेको छ । परिचयपत्रमा एउटा कार्ड र मेशिनले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ । 

मेशिनमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि मेशिनबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिनुभयो । 

विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्ने छ । मेशिनले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्दछ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्दछ । 

सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना रहेको छ । रासस

प्रतिक्रिया