भर्खरै

वायु ऊर्जाबाट सहजता

  • प्रकाशित मिति : Fri-02-Nov-2018
  • - Admin
title

बलेवा, १६ कात्तिक ।  मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा आउने जोकोहीको पनि विद्युतका कारण काम रोकिएको छैन । विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय प्रविधि सञ्चालन हुन सकेन भनेर कसैले समय पनि खर्चिनु परेको छैन । 
केन्द्रीय प्रसारणलाइनको विद्युत् आपूर्ति नभए पनि कार्यालय परिसर झलमल देखिन्छ । रातको समयमा मात्रै होइन, दिनमा समेत कार्यालयका भित्री कोठामा विद्युत् प्रयोग गर्दा महशुल धेरै उठ्ने चिन्तासमेत कार्यालयलाई छैन । 

फराकिलो कार्यालय परिसरको प्रवेशद्वार छेवैमा जडान गरिएको हावाबाट बिजुली निकाल्ने प्रविधिले उक्त कार्यालयलाई सबै काममा सहज बनाएको हो । हावाबाट टर्वाइन घुमाएर निकालिएको पाँच मेगावाट बिजुली र सात वटा प्यानल जडान गरिएको सौर्य ऊर्जाले कार्यालयमा खपत हुने सबै विद्युत् आपूर्ति गरिरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । 

हावा र सौर्य ऊर्जाको प्रयोगबाट जम्मा भएको शक्तिले कार्यालयका दश कम्प्युटर, तीन प्रिन्टर र २५ देखि ५० वाटसम्मका २० बत्ती सहजै बाल्न सकिने उनले जानकारी दिए । दुई वटा खम्बामा राखिएको दुई टर्वाइनलाई हावाबाट घुमाएर विद्युत् निकालिएको छ भने कार्यालयको प्रवेशद्वारको छानामा जडान गरिएका प्यानलबाट उत्पादन हुने विद्युत्लाई समेत एकै ठाउँमा जम्मा गरेर कार्यालयको काममा लगाइएको छ । 

“हामीकहाँ कामका लागि आउने जोकोहीको काम पनि विद्युत्का कारण रोक्नुपर्ने अवस्था छैन”, प्रहरी नायव उपरीक्षक खड्काले भने, “हावाबाट निकालिएको विद्युतले सबै काममा सहज भएको छ ।” विसं २०७४ मा जडान गरिएका टर्वाइनले निरन्तर विद्युत् उत्पादन गरिरहेको छ । दिनभरि सौर्य ऊर्जा र हावाबाट चलेका टर्वाइनले उत्पादन गरेको विद्युतले रातभरि कार्यालयका सबै कोठा र परिसरमा समेत झलमल्ल बत्ती बाल्न पुग्ने गरेको छ । 

स्थानीय पुष्प तिमिल्सिनाको समूहले एक वर्ष पहिला व्यक्तिगत लगानीमा जिल्ला प्रहरी कार्यालय परिसरमा हावाबाट चल्ने उक्त टर्वाइन जडान गरेको थियो । जोमसोममा दिउँसोको समय हावा चल्ने भएकाले हावाबाट टर्वाइन घुमाएर विद्युत् निकाल्न सहज भएको छ । उक्त विद्युत्लाई नमूनाको रुपमा लिएर अन्य ठूला योजना सञ्चालन गर्न सके मुस्ताङमा हावाबाट विद्युत् निकाल्ने काम सफल हुनसक्ने स्थानीयवासीको भनाइ छ । रासस
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago