गुणस्तर सुधार गर्न मजदुरलाई तालीम दिइने

  • प्रकाशित मिति : Sun-04-Nov-2018
  • - Admin
title

काठमाडौँ, कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडक कालोपत्र होस् वा अरु पूर्वाधार निर्माणमा उठेका गुणस्तरसम्बन्धी प्रश्नलाई सम्बोधन गर्न मजदुरलाई तालीम दिने तयारी गरेको छ ।

पछिल्लो समय पूर्वाधार निर्माणमा गुणस्तर सम्बन्धी चौतर्फी गुनासो बढ्न थालेपछि मन्त्रालयले त्यसमा संलग्न हुने डकर्मी र कुल्लीलगायतका मजदुरलाई तालीम दिने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सहसचिव एवं राजेन्द्र शर्माले चालु आर्थिक वर्ष भित्रैदेखि पूर्वाधार निर्माणमा संलग्न मजदुरलाई दक्ष बनाउन तालीम दिने तयारी गरेको जानकारी दिए।

उनले भने, “पुल निर्माणमा डण्डी कस्ने होस् वा सडक कालोपत्र गर्ने एवं खाल्डाखुल्डी टाल्ने विषय नै किन नहोस्, यी उच्च प्राविधिक विषय हुन्, अहिले मजदुरलाई विज्ञता भएर होइन, अनुभवका आधारमा मात्र ती काममा खटाइएको हो ।”

मुलुकका कतिपय राष्ट्रिय गौरवकै आयोजना निर्माणमा समेत गुणस्तरको प्रश्न टड्कारो उठन थालेपछि मन्त्रालयले तल्लो तहबाटै सुधारका काम अघि बढाउने सन्दर्भमा विकास निर्माणमा संलग्न जनशक्तिलाई तालीम प्रशिक्षणको कार्यक्रम ल्याएको हो ।

पछिल्ला समय नहर परिक्षणकै क्रममा भत्किएको, पुल निर्माणकै चरणमा हावाले समेत ढालेको तथा सडक कालोपत्रै गरेकै हप्ता दिन नबित्दै उक्किने गरेका घटनाको रोकथामका लागि यस्ता तालीम प्रशिक्षण प्रभावकारी हुने मन्त्रालयले विश्वास लिएको छ । तालीम प्राप्त जनशक्ति प्रयोग भएमा गुणस्तर कायम हुनुका साथै आयोजना दीर्घजीवी हुने ठहर गरी मन्त्रालय मजदुरलाई समेत समेटेर तालीम दिने निष्कर्षमा पुगेको हो । सडकपीच गर्ने, खाल्टा टाल्ने, सडकको सेन्टर लाइन धर्का तान्ने, पर्खाल लगाउने, लेभल मिलाउने, सिमेन्ट, वालुवा, गिट्टी मिसाएर मसला घोल्ने, ग्याविन तारको जाली बुन्ने, डण्डी कस्नेलगायतका विषयमा मन्त्रालयले तालीम सञ्चालन गर्नेछ ।

तालीममा सहभागीलाई प्रोत्साहित गर्न न्यूनतम भत्ताको समेत व्यवस्था गर्ने गरी तालीमको ढाँचा तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । एउटै ठेकेदार कम्पनीले दर्जनौ आयोजनामा हात हाल्ने, न्यून रकममा ठेक्का हाल्ने र आयोजनाको समयावधि लम्ब्याउने, निर्माण सम्पन्न भएका आयोजनाको गुणस्तरमा ध्यान नदिने प्रवृत्ति पूर्वाधार क्षेत्रमा रोग हुन् ।

आयोजना निर्माण अनुगमन सयन्त्र निकै कमजोर रहेको र प्राविधिकहरु कार्यस्थलमा नगई मजदुरहरुकै भरमा आयोजना अघि बढ्ने प्रवृत्ति रहेको बेलामा मजदुरलाई दिइने यसप्रकारका तालीमले विकास आयोजनाको गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
मुलुकमा हाल पूर्वाधार निर्माणका सम्बन्धमा खास गरी रकम, दक्षताको अभाव तथा सरकारी संस्था वा निकायबीचमै तालमेल र कार्यक्षेत्र सम्बन्धी विवाद रहँदै आएको छ । रासस

प्रतिक्रिया