भर्खरै

पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

  • प्रकाशित मिति : Mon-12-Nov-2018
  • - Admin
title

चितवन, कात्तिक ।  पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको काम फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको बताए । उनका अनुसार सौराहा आउने पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय पूर्वाधारको विकास गर्ने विषयमा गुरुयोजना केन्द्रित भएको छ । आउँदो ५, १०, १५ र २० वर्षमा के–कस्ता काम गर्ने भन्ने विषय गुरुयोजनामा समावेश गरिएको छ । 

क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालका अनुसार पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घको संयुक्त लगानीमा करीब रु २० लाख खर्च गरेर गुरुयोजना निर्माण गरिएको हो । सो क्रममा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरिएको छ । 

गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचारप्रसार लगायतका विषय समावेश गरिएका छन् । 

माउण्टेन हेरिटेज प्रालिले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रालिका विज्ञ विश्व सुवेदीका अनुसार सौराहा क्षेत्र शहरीकरण हुँदै गएकाले पर्यापर्यटनतर्फ लैजानुपर्ने गुरुयोजनामा उल्लेख छ । सौराहाका होटलमा प्रकृतिसँग मिल्दाजुल्दा एकै खालका रङ्ग प्रयोग गर्ने, हरियाली बढाउने जस्ता विषय गुरुयोजनामा उल्लेख छ । 

गुरुयोजनामा चितवनको प्रवेशद्वार सौराहालाई मानेर उकालो पदयात्राका लागि उपरदाङगढी, सिराइचुलीजस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट, मौलाकालिका, कृषि र पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्योदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्रको विकास गर्नुपर्ने उल्लेख छ । 

सुवेदीले गुरुयोजना अनुसार काम गर्न सकेमा चितवनमा पर्यटकको बसाई लम्बिने र यहाँको पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । हाल वार्षिक दुई लाख हाराहारी पर्यटक चितवन आउने गर्दछन् । यो सङ्ख्यालाई पाँच लाख पु¥याउने गरी गुरुयोजना निर्माण गरिएको छ । 

जिल्लामा १५० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । तीमध्ये सौराहामा ११० रहेका छन् । पछिल्लो समय जिल्लामा होटल थप्ने क्रम बढ्दै गएको छ । 
रासस
 

प्रतिक्रिया