भर्खरै

२६ वर्षपछि गाउँमा बिजुली र टेलिफोन

  • प्रकाशित मिति : Tue-13-Nov-2018
  • - Admin
title

दार्चुला, २७ कात्तिक ।  महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल बिजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो ।

सो विद्युतबाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले बिजुली बाल्न पाएका थिएनन् । वरपरका गाउँमा यसअघि नै बिजुली बलेको थियो । साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पु¥याएका थिए । गाउँमा पोल पु¥याए पनि बिजुली बाल्न भने सकिएको थिएन ।

“ठेक्का भयो, छिमेकी गाउँमा बिजुली बल्यो, नजिकैको मूल्लामा बिजुली बाल्न सकिएन,” साहुले भने । छिमेकी गाउँका बासिन्दाले बिजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफँैले छ पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा बिजुली बालेका छन् । पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी वापतको रकम आफैले तिरेको बताए ।
मैखौलीमा डेढ महिनाअघि विद्युत् पुग्यो । मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए । अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन् । स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् । महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले हालै गाउँमा बिजुली बत्तिको उद्घघाटन गरे । महाकाली नगरपालिका– २ का बासिन्दाले यसै वर्षदेखि टेलिफोन सेवा समेत पाएका छन् । जिल्लामा २०६४ सालमै अधिकांश क्षेत्रमा मोबाइल फोन सेवा विस्तार भएको थियो । नगर प्रमुख भट्टले छिट्टै सो बस्तीलाई सडक सञ्जालसँग जोड्ने बताए ।रासस

प्रतिक्रिया