भर्खरै

गोरखा घ्याल्चोकमा प्रथम धार्मिक तथा पर्यटन महोत्सव हुँदै

  • प्रकाशित मिति : Fri-16-Nov-2018
  • - Admin
title

प्रदिप श्रेष्ठ/विद्युत संसार संवाददाता
गोरखा ,कार्तिक । गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकको बेनिगाँउमा  प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ को आयोजना हुने भएको छ ।

समुन्द्री सतह देखि करिब १२ सय मिटरको उचाईमा अवस्थित घ्याल्चोकको बेनी गाउँमा रहेको मुन्थला देवी मन्दिर परिसरमा यहि मंसिर ५ र ६ गते मुन्थला  महोत्सव हुने भएको हो ।

परापूर्व कालदेखि नै हरेक वर्ष उक्त मन्दिरमा हुँदै आएको मुन्थला मेलालाई थप व्यवस्थित गर्दै  मन्दिरको  संरक्षण,संवद्र्धन र प्रवद्र्वन गर्नका लागि पहिलो पटक महोत्सवको आयोजना गरिएको बिहीवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  

 राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्थलको काखैमा रहेको मुन्थला मन्दिरमा हरेक वर्षको मंसिरको चतुर्थी देखि पूर्णिमाको दिन सम्म मेला लाग्ने गर्दछ । मन्दिरको परिसरबाट बिहानीको सुर्योदय सँगै मनास्लु,गणेश र घोडे हिमालको मनोरम दृश्यका साथै चारैतिरको रमणीय दृश्यको अवलोकन गर्न सकिने र बुढीगण्डकी आयोजना निर्माण पछि सम्भाव्य प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने आयोजक समितिका आर्थिक संयोजक कुमार गुरुङ्गले बताए ।  आर्थिक संयोजक गुरुङ्गका अनुसार पोखराको फेवातालमा माछापुच्छ्रे हिमालको दृश्यले जसरी पर्यटकलाई लोभ्याएको छ, त्यसरी नै यस स्थानले पनि पर्यटकको मन लोभ्याउन  सक्ने दाबी छ ।   

मन्दिर वरपर रहेका स्थानीय वासिन्दाका अनुसार यस मुन्थला मन्दिरलाई अकलादेवीको नामले समेत चिनिन्छ । मनकामनादेवीकी कान्छी बहिनीको रुपमा लिइने यस देवीलाई कुनै समयमा बुढीगण्डकीको दोभान तरेर आफ्नो माइती जाने क्रममा रात परेकोले सो स्थानमा बास बसेको र घनाघोर जंगलमा देवी उत्पति भई ती महिलालाई सहयोग गरी देवी पैदा भएको किवंदन्ती रहे अनुसार नै मेला लाग्ने प्रचलन रहि आएको छ ।
 
धार्मिक महोत्सव मेलामा दौड, शिलालेख तथा शिलान्यास, नृत्य तथा विविध साँस्कृितक कार्यक्रमका साथै विभिन्न जातजातिको झाँकीको प्रस्तुती र स्थानियहरुको उत्पादनको बिक्री समेत गरिने महोत्सव आयोजक समितिका संयोजक भिम श्रेष्ठले बताए । महोत्सवका लागि २३ लाख खर्च हुने अनुमान गरिएको छ ।
 


 

प्रतिक्रिया