पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान
- प्रकाशित मिति : Sun-18-Nov-2018
- - Admin

काठमाडौँ, १ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ ।
बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिएका छन् ।
चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उनले जानकारी दिए ।
नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ । हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ । रासस