भर्खरै

वर्षौंदेखी अन्धकारमा बस्न बाध्य चेपाङबस्तीमा बिजुली बल्ने

  • प्रकाशित मिति : Sun-18-Nov-2018
  • - Admin
title

आँगनै अगाडि विद्युत भएर पनि बषौं देखी टुकीको भरमा रहेको चेपाङबस्तीमा नगरपालिकाले बिजुली बालिदिने भएको छ । 

लमजुङको बेसीशहर–११ वरवोटका चेपाङबस्तीमा आवश्यक पर्ने तार, मिटरबक्स र विद्युत प्राविधिकसहितको व्यवस्था गरेर बेसीशहर नगरपालिकाले बिजुली बालिदिने भएको हो । चेपाङबस्तीका १० घर मध्ये ७ घरले बिजुली बाल्न सकेका छैनन् ।

चेपाङबस्ती अगाडी बिजुली परियोजना भएर पनि आर्थिक अभावका कारण बषौं देखी अन्धकारमा बस्न बाध्य चेपाङबस्तीमा बिजुली बाल्नका लागि कार्यपालिकाको बैठकले ६० हजार बजेट छुट्टाएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालले बताए ।

उनले भने कार्यपालिकाले छुट्टाएको उक्त ६० हजार रुपैयाँबाट मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको व्यवस्था गरिने भएको छ ।

नगरभित्रकै चेपाङवस्ती वर्षौंदेखि आर्थिक अभावमा बत्ती मुनीको अध्याँरोमा रहेछन् समाचार पढेपछि थाहा भयो मन थाम्न सकीएन, तत्कालै विजुली बाल्नका लागी रकम जुटायौ अर्यालले भने ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमप्रसाद तिवारीले रकम मात्र दिएर पनि उनीहरुले बत्ति बाल्न समस्या भएकोले वडा कार्यालयसंग समन्वयगरी मिटरबक्स, आवश्यक पर्ने तार र विद्युत प्राविधिकको समेत व्यवस्था गर्न लागिएको बताए ।

विजुलीको पोल र ढुवानी खर्च प्राधिकरणले उपलब्ध गराउने
त्यस्तै नेपाल विद्युत प्राधिकरण लमजुङ विद्युत वितरण केन्द्रले समेत चेपाङवस्तीमा ६ थान विजुलीको पोल उपलब्ध गराउने प्रमुख दिपक दाहालले बताए । उनले भने कर्मचारीहरु वस्तीमै पुगेर अवस्था बुझे आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु बिजुलीबाट बञ्चीत रहेछन् त्यसका लागी केन्द्रले विजुलीको पोल र ढुवानी खर्च उपलब्ध गराउनेछ ।

चेपाङबस्तीको आगन नजिकै ७० मेगावाटको मध्यमर्याङ्दी जलविद्युत आयोजनाकोे जलासय छ । १ दशक अघि नै आयोजनाबाट उत्पादीत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरी देशभर झिलीमिली बनाइएको छ ।

जिल्लाका प्राय सबै गाउँहरु बिजुलीले झिलीमिली छ । तर जलविद्युत आयोजनाको छेउमै रहेको चेपाङवस्ती टुकीकै सहारा लिन बाध्य छ । बत्ती नहुँदा गाउँ नै सञ्चारको साधनबाट बञ्चीत रहेको छ ।

सामुदायिक भवन निर्माणका लागि ३ लाख
बिजुली बाल्न मात्र होइन कार्यपालिकाले चेपाङबस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैया बजेट विनियोजित गरेको छ । उनीहरुसंग रहेका कला संस्कृती, सामाजिक चाल÷चलन र सचेतना मूलक कार्यक्रम गर्न सामुदायिक भवन आवश्यक भएपछि नगरपालिकाले ३ लाख रुपैयाँ बजेट छुट्टाएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।

बेसीशहर नगरपालिकाले यसअघि दशैं खर्च स्वरुप चेपाङहरुलाई ६० हजार रुपैयाँ सहयोग गरेको थियो । उनीहरुलाई दशैं मनाउन समस्या भएपछि नगरपालिका भित्रका १० घरलाई प्रति परिवार ६ हजारका दरले नगरपालिकाले सहयोग गरेको उपप्रमुख लक्ष्मी अधिकारीले बताइन् । बेसीशहर नगरपालिका–११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको १४ घर रहेको छ ।  साभार ः नयाँ पत्रिका

प्रतिक्रिया