मर्मतको अभावमा थन्कियो एम्बुलेन्स

  • प्रकाशित मिति : Mon-19-Nov-2018
  • - Admin
title

महोत्तरी, ३ मङ्सिर : महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्स बिग्रिएको महीनाँै बित्दासमेत मर्मत हुन सकेको छैन । समयमै मर्मत नहुँदा सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् । 
सरोकारवाला निकायले मर्मतका लागि समयमै पहल नगरेपछि बिरामीको लागि अतिआवश्यक एम्बुलेन्स स्वास्थ्य संस्थाको कुनामा आफैँ थला परेर राखिएका छन् । महँगो दरमा खरीद गरी ल्याएको एम्बुलेन्स बिग्रिँदासमेत मर्मततर्फ न त स्थानीय सरकारले ध्यान दिएका छन् न त जिल्ला स्वास्थ्य कार्यालयले नै । यसबाट बिरामीलाई उपचार गराउन बाहिर लैजान समस्या हुनेगरेको छ । 

यहाँका बिरामीलाई उपचार गर्न बाहिर पठाउँदा महँगो भाडामा गाडीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको गौशालाका व्यवसायी नागेन्द्र साहले बताउनुभयो । सरकारी भाडादर कम र सहज हुने हुँदा एम्बुलेन्स बिरामीको पहिलो रोजाइ भएपनि जिल्लाका विभिन्न स्थानमा एम्बुलेन्सको अभावमा निजी सवारी साधनको व्यवस्थापन गर्न अधिक समय खर्च भएपछि कतिपयको अकालै ज्यान जाने गरेको साहको भनाइ छ । 

जिल्ला जनस्वास्थ्यका गिरेन्द्र झाले बिग्रिएको एम्बुलेन्सको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । स्वास्थ्य संस्थाहरूले एम्बुलेन्स लिने तर बिग्रिएको बारे कुनै जानकारी नगराउने प्रवृत्तिका कारण महीनौँ बित्दासमेत एम्बुलेन्स थन्किएर बस्नुपरेको अवस्था छ । 

जिल्ला स्वास्थ्य कार्यालय र महोत्तरी रेडक्रसमा दर्ता हुने एम्बुलेन्सको सङ्ख्या २८ रहेको छ । जसमध्ये १० वटा एम्बुलेन्स विगत एक वर्षदेखि कामै नलाग्ने गरी महीनाँैदेखि बिग्रिएर थन्किएका छन् । रासस

प्रतिक्रिया