भर्खरै

बीच सडकको खम्बाले  महानगरमा जाम बढायो

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title

काठमाडौँ, मंसिर  । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । 
टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागिएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगिन । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । 
माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । 
हाल गोँगबु–कपुरधारा–लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । 
खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका–२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउनुहुन्छ । 
“विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ, उहाँ भन्नुहुन्छ, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौँ उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस
 

प्रतिक्रिया