ढोरपाटनमा आगलागी हुँदा ३० घर जलेर नष्ट

  • प्रकाशित मिति : Sun-25-Nov-2018
  • - Admin
title

गलकोट,  मंसिर  ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आगलागी हुँदा ३० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । 
 आज बिहान २ बजेको समयमा भएको आगलागीबाट जलेर नष्ट भएको हो । 
नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । 
ढोरपाटन शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा ल्याएको शाहीको भनाई  रहेको छ । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो । 

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भने, “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।” नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए । 

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।
 

प्रतिक्रिया