भर्खरै

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य

  • प्रकाशित मिति : Sun-25-Nov-2018
  • - admin
title

बलेवा, मङ्सिर । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन नसकेको बताए । 

नेपाल पत्रकार महासङ्घ बागलुङको ११ औँ साधारणसभाको  उद्घाटन गर्दै उनले भने “राज्यको पुनःसंरचना भए पनि सञ्चार क्षेत्रको अधिकार केन्द्रमा मात्रै सीमित रहेको छ ।” 

अध्यक्ष आचार्यले प्रेसप्रति अंकुश लगाएर राज्य लोकतन्त्रप्रति उदार बन्न नसक्ने बताउँदै सङ्घीयताको कार्यान्वयनसँगै बनेका संरचना अनुसार सञ्चार क्षेत्रको अधिकार पनि हस्तान्तरण हुनुपर्नेमा जोड दिए । 

सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि सञ्चार क्षेत्रको अधिकार भने सिंहदरबार वरिपरि घुमिरहेको बताउँदै उनले देशमा भएका ठूलाठूला परिवर्तनमा पत्रकारिता क्षेत्रले सघाएको भए पनि देशका राजनीतिक दल र सरकारले त्यो योगदानलाई भुलेर अङ्कुश लगाउने बाटो खोजेकोमा दुःख व्यक्त गरेका छन्  । 

अध्यक्ष आचार्यले राज्यले प्रेस स्वतन्त्रतालाई कानूनका माध्यमबाट अङ्कुश लगाएर सञ्चार क्षेत्रलाई कमजोर र नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै नयाँ मुलुकी संहितामा व्यवस्था भएअनुसार पत्रकार र पत्रकारिता क्षेत्रलाई बाँध्न खोजिएकाले प्रेस स्वतन्त्रताको लडाईं जारी राख्नुपरेको धारणा व्यक्त गरेका थिए । 

पत्रकार आचार संहिता र सञ्चारमाध्यमको प्रभावकारिताका विषयमा नागरिक सुनुवाइमार्फत सुझाव सङ्कलन गरेर पत्रकारिताभित्रका विकृति खोज्नुपर्नेमा जोड दिदैं उनले पत्रकार महासङ्घको निर्वाचन प्रणाली सुधारका विषयमा सबैको एकता आवश्यक रहेको बताए । 

अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमाथिको अङ्कुशका विषयमा खुलेर सङ्घर्ष गर्न पत्रकारलाई आग्रह गर्दै अहिले के भइरहेको छ भन्दा पनि मूल प्रकृति के हो भन्ने विषयमा हेक्का राखेर पत्रकारले प्रहार गर्नुपर्नेमा जोड दिए ।  रासस

प्रतिक्रिया