नेपालमा विद्युतीय सामग्रीहरूको व्यवसायिक अवस्था सुध्रदै 

  • प्रकाशित मिति : Wed-14-Feb-2018
  • - कुलनिधि अधिकारी म्यानेजिङ डाइरेक्टर, नेप्लिज कम्प्युटर सेन्टर
title

विद्युतीय सामग्रीहरू प्रति उपभोक्ताको आकर्षण बढ्दै गए सँगै नेपालमा विद्युतीय व्यवसाय दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । विद्युतीय सामाग्रीहरू प्रतिको उपभोक्ताको आर्कषण, यसको माग, नेपालमा विद्युतीय सामग्रीहरूको अवस्था, व्यवसायिक अवस्था, सरकारले यस व्यवसाय प्रति दिएको प्राथमिकता लगायतका विषयमा नेप्लिज कम्प्युटर सेन्टरका म्यानेजिङ डाइरेक्टर कुलनिधि अधिकारी सँग विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको 
सम्पादित अंश ः

नेप्लिज कम्प्युटर सेन्टरको बारेमा बताइदिनुहोस् न ।


 नेप्लिज कप्युटर सेन्टरको स्थापना आज भन्दा करिब ११ वर्ष पहिले भएको हो कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामग्री सहित सेवाको पनि सुबिधा सहितको कार्य गर्ने उद्धेश्यले हामीले यस सेन्टरको स्थापना गरेका हौँ । यद्यपि अहिलेको बजार अवस्था उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले कम्प्युटर मात्र नभई सिसिटिभि क्यामेरा, इन्टरकम सिस्टम, इ एटेन्डेन्स सिस्टम सम्बन्धी पनि कार्य गर्दै आएका छौ । यसका लागि हामीले चीनका विभिन्न कम्पनीहरूको स्थलगत रुपमा नै भ्रमण गरी नेपालमा सामग्रीहरू आयात गरी आधिकारीक बिक्रेताका रुपमा काम गरिरहेका छौ । 

२४ औं क्यान इन्फोटेक मेला केही दिन अघि मात्र सम्पन्न भएको छ, यसले व्यवसायिक प्रवद्र्धनमा कस्तो प्रभाव पार्ला ?

क्यान इन्फोटेक हामी व्यवसायीहरूको छाता संगठन हो । क्यान इन्फोटेक मेला वर्षेनी हँुदै आइरहेको छ । बजारमा आएका नयाँ प्रोडक्टहरूको बारेमा जानकारी दिने, आम उपभोक्ताहरूले उक्त सामग्रीहरू प्रति कस्तो धारणा राख्दछ त्यसका सन्र्दभमा बुझ्ने र क्यानमा आवद्ध सम्पूर्ण व्यवसायीहरूको व्यवसायिक समस्या, आवश्यकता लगायतका विषयमा छलफल गर्नुपर्ने हो तर क्यानले हाल सम्म यस्तो कार्य गरेको मलाई जानकारी छैन । क्यानको अवधारणा कुनै पनि कम्पनिका सामग्रीहरूको प्रर्दशन गर्नु हो । क्यान ईन्फोटेक मेला लाई विक्रिको थलो बनाइनु हुँदैन । क्यानले सुचना आदान प्रदान गर्ने नयाँ प्रोडक्ट बारे उपभोक्तालाई जानकारी दिने सुचना मैत्री वातावरण तयार गर्नु पर्दछ साथै स्टल भर्ने नाममा सुचना तथा प्रविधि बाहेकका प्रदर्शनीकर्ता लाई सामेल हुन दिनु हुँदैन ।
 
क्यान इन्फोटेक मेलामा सरकारले कस्ता किसिमका सहयोगहरू गर्दै आएको छ ? यसका बारेमा तपाई के भन्नु हुन्छ ?

क्यान इन्फोटेक मेला नयाँ नयाँ प्रविधिहरूका प्रोडक्टहरू सँग सबन्धित मेला हो । इन्फोटेक मेला अहिलेको समय सापेक्ष विश्व बजारमा आएका नयाँ सामग्रीहरूका बारेमा उपभोक्ताहरूले जानकारी प्रदान गर्ने स्थान पनि हो । प्रविधिसँग जोडिएको यस विषयमा सरकारको चासो हुनुपर्ने हो यद्यपी सरकारबाट यस मेलाका लागि खासै सहयोग भने भएको पाईदैन ।

नेपालमा कम्प्युटरको बजारको अवस्था कस्तो रहेको छ ?

नेपालमा विद्युतीय सामग्रीहरूको व्यवसायिक अवस्था निकै नै राम्रो रहेको छ । नेपालका लागि विद्युतीय सामग्रीहरूको व्यवसाय मौलाउँदो व्यवसाय हो । यसमा बिक्रेताले कसरी सामग्रीहरूको व्यापार गर्ने, उपभोक्ताको आवश्यकता के हो, सरकारले यसमा कस्तो किसिमको सहयोग गर्नुपर्छ भन्ने विषयमा व्यवसायी, छाता संगठन र सरकार बीच सामान्जस्यता हुनु जरुरी छ । यदि सबै निकाय बीच सहकार्य हुने हो भने तथा बजार प्रर्वद्धन हुने हो भने अझै यसको व्यवसाय बढ्ने देखिन्छ । 

नेप्लिज कम्प्युटर सेन्टरको भावी योजना बारे बताईदिनुहोस् न ।

उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले नयाँ नयाँ प्रोडक्टहरू बजारमा ल्याएका छौ । उपभोक्ताका इच्छा अनुसार उपभोक्तालाई कस्ता कस्ता सामग्रीहरूको आवश्यकता छ, कुन प्रोडक्टहरूका के–कस्तो किसिमको फाईदा रहेको भन्ने विषयलाई मध्यनजर गरी हाम्रा प्रोडक्टहरू विषयमा मार्केटिङ गर्ने योजनामा छौ । उपभोक्तालाई गुणस्तरयुक्त सामग्री प्रदान गरी ग्राहकहरूलाई सन्तुष्ट बनाउनु हाम्रो उद्धेश्य रहेको छ । 


कम्प्युटर व्यवसायमा डुप्लिकेट सामग्रीहरूको प्रयोग हुन्छ भन्ने सुनिएको छ, यसमा तपाई के भन्नु हुन्छ ?

हाम्रो देशमा कम्प्युटर सम्बन्धी धेरैजसो सामग्रीहरू चीनबाट आयात हुने गर्दछ । चीनमा एउटै कम्पनिले एकै खालका सामग्रीहरू पनि मूल्य अनुसार गुणस्तर फरक फरक भएका सामग्रीहरू उत्पादन गर्ने गर्दछ । हामीले हाम्रो बजारको माग अनुसार नेपालमा सामग्रीहरू आयात गर्ने गर्दछौ । कतिपय अबस्थामा आयातकर्ताहरूले एउटै ब्राण्डका डुप्लिकेट सामग्रीहरू आयात गर्ने गर्दछन् भन्ने सुनिन्छ । यसको नियन्त्रण हुन जरुरी छ । यसका लागि सरकारले बजार अनुगमनको नीति ल्याउनु पर्दछ भने संघहरूले पनि सक्रिय रुपमा कार्य अगाडि बढाउनु पर्दछ । 

सामग्रीहरू आयात गर्दा भन्सार दरमा कस्तो किसिमको मतभेत पाउनुहुन्छ ?

देशमा कस्ता किसिमका सामग्रीहरू आयात गर्ने कस्ता सामग्रीहरू आयात नगर्ने भन्ने विषयको जिम्मेवारी भन्सार कार्यालयको हुने गर्दछ । देशमा जति पनि सामग्रीहरू आयात हुन्छ ती सम्पूर्ण सामग्रीहरू भन्सार बाट मात्रै देशभर भित्रने गर्दछ । यदि भन्सार कार्यालयमा नै सामग्रीहरूको गुणस्तरको परीक्षण गरी गुणस्तर युक्त सामग्रीहरू देशमा भित्राउने हो भने उपभोक्ताले गुणस्तरयुक्त सामग्रीहरूको उपभोग गर्न पाउछन् । तर भन्सार अनुगमन स्पष्ट नहुँदा नेपालमा गुणस्तरहीन सामग्रीहरू भित्रने गरेको छ भने अण्डरविलिङको समस्या पनि दिनप्रति दिन बढ्दै गएको छ । त्यसैले यस्ता समस्याहरूको निराकरण गर्न सरकारले भन्सार मूल्याङकन लाई स्पष्ट एवं पारदर्शी बनाउने वातावरणको सिर्जना गर्नुपर्दछ । 

कम्प्युटर व्यवसायीहरूका लागि सरकारले कस्तो नीतिको व्यवस्था गर्नु आवश्यक छ ?

नेपालले अत्यन्तै छोटो समयमा सुचना तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ । सुचना तथा प्रविधिको क्षेत्रमा भएको परिर्वतन जस्तै व्यवसायिक क्षेत्रमा हुन सकेको खण्डमा नेपाल विकासले फड्को मार्नका लागि लामो समय पर्खि राख्नु पर्ने थिएन । नेपाल सरकारले अति दुर्गम तथा विपन्न समुदायलाई समेत समेट्ने गरी विपन्न समुदायका मानिसहरूलाई पनि विश्वबजारमा आएका विभिन्न प्रविधि युक्त सामग्रीहरूको प्रयोगको पहुँच पु्¥याउन सकेको खण्डमा नेपालमा व्यवसाय अझै फस्टाउने देखिन्छ । सरकारले समयानुकुल प्रविधिको पहुँच आम नेपाली समुदायमा पुर्याउन सक्ने क्षमताको अभिवृद्धि गर्न सकेको खण्डमा व्यवसाय बढ्ने देखिन्छ । सरकारले व्यवसायिक क्षेत्रका लागि स्पष्ट नीतिको व्यवस्था गर्नु पर्दछ भने गुणस्तरयुक्त सामग्रीहरूको व्यवस्थामा जोड दिनु पर्दछ ।
 
बजारमा पाइने कम्प्युटरहरू गुणस्तर युक्त छन् या छैन भन्ने विषयमा ग्राहकले कसरी जानकारी पाउन सकिन्छ ?

अहिले प्रविधिको विकासले ठूलो फड्को मारी सकेको छ । कुन कम्पनीका कम्प्युटरको विशेषता कस्तो रहेको छ , त्यस सम्बन्धमा उपभोक्ताहरू जानकार छन् । यो कम्पनीको कम्प्युटर गुणस्तर युक्त छ यसको छैन भनेर भन्दा पनि कम्प्युटको विशेषताहरू के के रहेका छन् त्यस प्रति ध्यान दिन जरुरी रहन्छ । त्यस्तै बजारमा अहिले ग्रे च्यान (गलत ढंगबाट सामान आयात गरी बिक्रि गर्ने ) बाट सामानहरू खरिद बिक्रि गर्ने प्रचलन बढ्दै गएको छ । यसको अन्त्य हुन जरुरी छ । उपभोक्ताले कुनै पनि कम्पनीको सामग्रीहरू खरिद गर्दा त्यसमा भएको सिरियल नम्बर कम्पनीको आधिकारीक वेभसाइटमा गई ट्रेस आउट गरेर हेर्न सकिन्छ । यसरी सामग्रीको सिरियल नम्बर ट्रेस आउट गरेर हेर्दा ठगिनबाट उपभोक्ताहरू बच्न सक्दछन् ।

कम्प्युटर र विद्युत बीच कस्तो सम्बन्ध रहन्छ ?

कम्प्युटर र विद्युत एक अर्काका परिपुरक हुन् । विद्युत विना कम्प्युटरको अस्तित्व रहँदैन । कम्प्युटरको मात्र होइन, विद्युतीय उपकरणहरू कुनै पनि सञ्चालनमा आउन सक्दैन । लोडसेडिङ्ग अन्त्य हुनु पूर्व नेपालमा विद्युतीय सामग्रीहरूको व्यवसाय खासै रहेको थिएन । लोडसेडिङ्ग अन्त्य भए सँगै विद्युतीय व्यवसाय पहिलेको तुलनामा बढ्दै गएको छ । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपालमा विद्युतीय सामग्रीहरूको व्यवसायको भविष्य उज्वल रहेको छ । यदि सरकार तथा व्यवसायसँग सम्बन्धित संघहरू बीच सहकार्य हुने हो भने यसको व्यवसाय अझै बढ्ने देखिन्छ । त्यस्तै नेपालमा गुणस्तरीय सामग्रीहरू आयातका लागि सरकारले विशेष जोडदिनु पर्दछ भने उपभोक्ताहरूलाई पनि गुणस्तरीय सामग्री खरिद गर्न आग्रह गर्दछु । 

प्रतिक्रिया