भर्खरै

फोहोर आम्दानी र ऊर्जाको स्रोत 

  • प्रकाशित मिति : Wed-14-Mar-2018
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं लगायत नेपालका सबै क्षेत्र अर्थात् खास गरी शहरी क्षेत्रमा उत्पन्न हुने फोहोरहरूको व्यवस्थापन गरी विद्युत् निकाल्न सके लोडसेडिङ न्यूनिकरणमा केहीहद सम्म सहयोग पुग्नेछ । फोहोरको सही व्यवस्थापन गर्नसके मात्र नेपाललाई एउटा नमुना नेपाल बनाउन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । फोहोरको व्यवस्थापनलाई सहज रुपमा व्यवस्थित गरी विद्युत उत्पादन गर्न जनतालाई अझै बढी जनचेतना फैलाई प्रोत्साहित गर्नुपर्दछ । फोहोरबाट विद्युत उत्पादन गर्न जनचेतनाको कमीका कारण जनताले फोहोरलाई फोहोरकै रुपमा हेरिरहेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा दैनिक निस्कने १ हजार ३ सय टन फोहोरबाट २५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । हाम्रो नेपालमा पनि भारतमा जस्तै फोहोर संकलन केन्द्र बनाएर केही मात्रामा विद्युत निकाल्न सकिन्छ । त्यसैले फोहोर एउटा फोहोर मात्र नभई आम्दानी गर्ने स्रोत पनि बन्न सक्छ । यस्ता कुरामा जनताहरू अनविज्ञका कारण फोहोर एउटा फोहोर नै रहेको हो । फोहोरबाट विद्युत निस्कने कुराहरू हावादारी जस्तै लागिरहेका छन् जनताहरूलाई । जनताहरूमा चेतनाको कमीकै कारण उल्टै फोहोर फालेर मासिक रुपमा नगरपालिकालाई पैसा तिर्दै आइरहेका छन् । यत्रतत्र फालिएको प्लास्टिकका टुक्राहरूले माटोको उर्वर शक्तिमा हा¥स पुर्याई रहेको छ । यस बाहेक अन्य फोहोरका कारण हाम्रो वातावरणमा गम्भीर असर समेत परिरहेको छ । ‘अर्बन हिट बबल’ ले पृथ्वीको नै तापक्रम वृद्धि हुँदै गएको छ । फलस्वरूप खण्डवृष्टि, अम्लीय वर्षा, अति वर्षा जस्ता समस्या देखा परि फोहोरले जमिनको उर्वर क्षमता घटाइरहेको छ । साथै संक्रामक रोगहरू फैलिने, वातावरण प्रदूषित तथा दुर्गन्धित हुने, शहर अव्यवस्थित तथा पिछडिएको देखिने, समग्र देशको प्रतिष्ठामा आँच पुग्ने लगायत फोहोरको समुचित व्यवस्थापन गर्न नसक्दा वातावरणको स्वरुप नै बिग्रदै गएको छ ।
यस विषयमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जनता र जनप्रतिनिधिहरू लाई ध्यानाकर्षण गराउनु जरुरी देखिन्छ । फोहोर व्यवस्थापनका सम्बन्धमा सरकारले ऐन त बनाएको छ तर सरकारका यी ऐन तथा कार्यक्रम फोहोर व्यवस्थापन समस्याको हलका लागि शब्दमा मात्र सीमित रहेका छन् । सरकारी निकायले ठूला भवन निर्माणकर्तालाई ‘सिभेज ट्रिटमेन्ट प्लान्ट’ मार्फत तरल फोहोर व्यवस्थापनका साथै त्यसबाट ऊर्जा निकाल्न सरकारी निकाय बाट प्रोत्साहन गर्नुपर्दछ । फोहोरबाट ‘मोहोर’ अर्थात् ‘पैसा’ कसरी कमाउन सकिन्छ भन्ने जानकारी नहुँदा पनि मानिसहरूले फोहोरलाई ‘फोहोर’ कै रूपमा मात्र लिँदैं आएका छन् । घरायसी प्रयोगबाट निस्कने फोहोर व्यवस्थापन गर्न सामान्य तरिका अपनाउन सक्दा सानै भए पनि केही आर्थिक उपार्जन गर्न सकिन्छ । फोहोरको प्रशोधन र पुनः प्रयोग गर्ने हो भने व्यवस्थापनमा जहिल्यै टाउको दुःखाइ बनेको फोहोर आम्दानी र ऊर्जाको स्रोत बन्छ । त्यसैले नेपाल सरकारले यस विषयलाई ध्यानमा राखी कार्य गति तीव्र रुपमा अघि बढाउनु पर्ने अहिलेको आवश्यकता रहेको छ । 
 सरकारले यसै विषयमा केन्द्रित भई राजधानीको टेकुस्थित पाइलट प्रोजेक्टको रुपमा ५ हजार स्क्वायर फिट क्षेत्रफलको जग्गामा रहेको टेकु ट्रान्सफर्मर स्टेशनमा ३ सय मेट्रिक टन फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गर्न सुरु भइसकेको छ । यसरी फोहोरबाट बिजुली निकाल्दा देशलाई पुर्णरुपमा फाइदा देखिनु का साथै हाम्रा वरपरका वातावरण स्वच्छ सुन्दर र हराभरा देखिन्छ । त्यसैले एक तिरको दुई निशाना भने झै फोहोरबाट विद्युत पनि निस्कने र फोहोरको व्यवस्थापन पनि हुने भएकोेले यो कार्य एकदम सराहनीय रहेको छ । यस कार्य लाई नेपाल सरकारले अझै वृहत रुपमा सञ्चालन गर्नुपर्दछ । यसरी विद्युत उत्पादन गर्दा वातावरणमैत्री र जनतामैत्री हुनुका साथै कम लागतमा नै विद्युत उत्पादन हुन्छ । लामो समयको परीक्षणकाल पछि बिजुली उत्पादित गर्न काठमाडौं महानगर सफल भएको छ । पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको बायोमिथानेसन प्लान्ट मुलुकमै अनुकरणीय बनेको छ । राजधानीको वीर अस्पतालले दैनिक रुपमा उत्पन्न हुने फोहोरको संकलन गरी पुनःप्रयोग गरेर मासिक ५० हजार रुपैयाँ र ६ सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । वीर अस्पतालको उदाहरणीय कामलाई पछ्याउने हो भने पनि फोहोर व्यवस्थापन गर्न मद्दत मिल्नेछ ।
आगामी दिनहरूमा अझैं राम्रो सँग विस्तार गरी देशका हरेक कुनामा फोहोरबाट विद्युत उत्पादन गर्न अबको नयाँ सरकारले पलकदमी हरू अघि सार्नु पर्दछ । सरकारले फोहोरबाट विद्युत निकाल्न भाषण र कागजमा मात्रै दिएर हुदैन त्यो प्रक्रिया अघि बढाउन आवश्यक स्रोतहरूको पनि व्यवस्था गर्न सरकारले तदारुकता देखाउनु जरुरी भैसकेको छ । बिजुली निकाल्न आवश्यक पर्ने हरेक कुराको व्यवस्था सरकारी निकायले समयमै उपलब्ध गरे समयमै कार्यले सफलता प्राप्त गर्ने थियो । सम्बन्धित मन्त्रालयले समयमा चासो देखाएन भने कुनै पनि परियोजनाले गति लिन सक्दैन । महानगरको नेतृत्वमा बिजुली उत्पादन परीक्षणका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हिमालयन अलायन्स फर क्लाइमेट चेन्ज र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङका ५ प्राविधिक तथा विशेषज्ञ सहितको समिति गठन गरी परिक्षण सफल भएको छ । फोहोरबाट खाना पकाउन मिल्ने बायो ग्यास समेत उत्पादन हुन्छ । त्यसैले यसलाई वृहत रुपमा सञ्चालन गर्न सरकारले पर्याप्त जनचेतना मुलक कार्यक्रम÷अभियान आजै देखि शुरुवात गर्नुपर्दछ । 

प्रतिक्रिया