भर्खरै

“इनर्जी सेक्युरेटी, इनर्जी मिक्सको अवधारणाबाट नवीकरणीय ऊर्जाको विकास तथा प्रवद्र्धन हुनुपर्दछ” 

  • प्रकाशित मिति : Wed-28-Mar-2018
  • - कुशल गुरुङ, सञ्चालक, विन्ड पावर नेपाल कम्पनी
title

नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकारले पुर्याएको योगदान, नीजि कम्पनीहरूको योगदान, नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना, तथा भारतमा भर्खरै सम्पन्न भएको इलेक्रामा मेला २०१८ को आर्कषणका सन्र्दभमा तथा मेलाबाट नेपालले सिक्नु पर्ने विषयका सन्र्दभलाई उल्लेख गर्दै, विन्ड पावर नेपाल कम्पनीले नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्दै आएको कार्यका सन्र्दभमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले विन्ड पावर नेपाल कम्पनीका सञ्चाक कुशल गुरुङ सँग गरिएको कुराकानीका सम्पादित अंश ः

विन्ड पावर नेपाल कम्पनीको बारेमा बताईदिनु होस् न ।

विन्ड पावर कम्पनी नवीकरणीय ऊर्र्जा सँग सम्बन्धित भएर काम गर्दै आएको कम्पनी हो । यो सन् २०१२ मा नेपालमा रहेको अत्याधिक ऊर्जा संकटलाई मध्यनजर गर्दै नेपालका ग्रामिण तथा विकट क्षेत्रमा केही हद सम्म भए पनि नवीकरणीय ऊर्जाको पहुँच पुर्याउनका लागि स्थापना गरेका हौँ । अहिले हामीले यस कम्पनी मार्फत वायु ऊर्जा, सौर्य ऊर्जा,वायोग्यास लगायतका वैकल्पिक तथा नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । हाम्रो कम्पनीको मुखय विजनेस इनर्जी इन्जिनियरीङ एवं कोन्सुल्टिंग सेवा हो । नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र एशियाली विकास बैंक लगायतका कम्पनीहरूसँग हामीले सहकार्य गर्दै आएका छौ । पछिल्लो समयमा विद्युत विकासमा लगानी पनि गर्नुपर्छ भन्ने अवधारणाका साथ हामीले पोखरामा गण्डकी ऊर्जा कम्पनीको स्थापना गरेका छौ । जसबाट हामीले दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरी दुई सय सिलिण्डर ग्यास उत्पादन गर्ने र, १० टन प्राङ्गगारिक मल उत्पादन गर्ने परियोजना अघि सारेका छौ । जुन निर्माणाधिन अवस्थामा रहेको छ । 
त्यस्तै हामीले तनहुँमा ५ मेगावाटको अनग्रिड सोलार परियोजना निर्माण गर्न विद्युत विकास विभागमा प्रस्ताव राखेका छौ । यो परियोजनाको प्रस्ताव नेपाल विद्युत प्राधिकरणमा विचाराधिन अवस्थामा रहेको छ । त्यस्तै हामीले वैदेशीक कम्पनी सँग सहकार्य गरी ३०० मेगावाटको वायु ऊर्जा परियोजना निर्माण गर्ने योजनामा छौ । यसका लागि हामीले लगानी बोर्ड सँग प्रथम चरणको पक्रिया सुरु गरिसकेका छौ । स्थापनाको समय देखि हाल सम्म हामी सक्रिय रुपमा वैकल्पिक ऊर्जाको विकासकालागि लागि परिरहेका छौ । हामीले गाउँ तथा शहर दुवैलाई समेट्दै केन्द्रिय प्रशारण लाइन भएका तथा नभएका दुवै ठाउँमा कार्य गरिरहेका छौ। 

भारतमा भएको इलेक्रामा मेला कस्तो रहयो यसको बारेमा बताइदिनुहोस् न । 

भारतमा विद्युत सम्बन्धि भएको वृहत इलेक्रामा मेला साउथ एशियाली मुलकको नै सबै भन्दा ठूलो मेला हो । ६० देशका भन्दा बढी प्रतिनिधिकरुको सहभागी रहेको मेलामा विद्युत सम्बन्धि थुप्रै स्टलहरू रहेको थियो । अहिले नेपालको सन्दर्भलाई हेर्दा मेलामा नेपालका लागि उपयोगी स्मार्ट इनर्जी मिटर, नेटमिटर जस्ता प्रविधि जन्य सामग्रीहरू उपयुक्त रहेको देखिन्छ । नेपालमा नेट मिटरीङ्ग सम्बन्धि नीति निर्माण हुँदै गरेको अहिलेको अवस्थामा नेट मिटरका सामग्री, सौर्य ऊर्जाका सामग्री लगायत अन्य विद्युतीय सामग्रीहरू चीनबाट भन्दा भारतबाट आयात गर्दा सजिलो र सस्तो पर्न जाने साथै चीनबाट मात्र विद्युतीय सामग्रीहरू आयात नगरी भारतबाट पनि विद्युतीय सामग्री आयात गर्न सकिने अवसर मेलाले सिर्जना गर्यो । यसो हुँदा नेपाली बजारमा भारतीय प्रडक्टहरूले छिट्टै नै आफ्नो स्थान समेट्छ जस्तो मलाई लागेको छ ।
 
इलेक्रामा मेला २०१८ बाट नेपाल सरकारले कस्ता कुराहरू सिक्न आवश्यक छ ?, यस सम्बन्धमा तपाई के भन्न चाहनुहुन्छ ?

इलेक्रामा मेला २०१८ भारत सरकारको लगानीमा नै आयोजना गरिएको मेला हो । यसको मूल उद्धेश्य तथा पोलिसी भने मेक इन इन्डिया नै देखिन्छ । भारत सरकारले आफ्नो लगानीमा ६० ओटा भन्दा बढी देशका ६ सय प्रतिनिधिहरूलाई बोलाएर प्रविधिहरूका बारेमा जानकारी दिएको यो ठूलो मेला हो । भारत सरकारले वैदेशीक लगानीका ठूला कम्पनीहरूलाई सहुलीयत प्रदान गरेर आफ्नो देशमा ठूला ठूला मेनिफेक्चर(उत्पादनमुलक) कम्पनीहरूको स्थापना गरी देश विकासमा सहयोग पुर्याइ रहेको छ । त्यस्तै भारत सरकारले जस्तै नेपाल सरकारले पनि वैदेशीक लगानी भित्राउन सक्ने वातावरण तयार गर्न सकेको खण्डमा नेपालको विकास छिट्टै नै हुने देखिन्छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरका मेलाहरू नेपाल सरकारले आयोजना गर्दै देशमा प्रविधिको विकास गर्नुपर्ने देखिन्छ ।

विन्ड पावर कम्पनीको मुख्य उद्धेश्य र यसका भावि योजनाका बारेमा प्रष्ट्याई दिनुहोस् न ।

हामीले हाम्रो कम्पनी स्थापना गर्दा खासै प्रविधिको विकास भई सकेको थिएन । कहाँ वायु ऊर्जाको सम्भावना बढि रहेको छ कहाँ कम छ भन्ने विषयमा अनविज्ञ नै थियो । अहिले प्रविधिको विकास भएसँगै त्यसको परीक्षणद्धारा कहाँ कति सम्भावना छ भन्ने विषयको जानकारी लिन सकिन्छ । हाम्रो कम्पनी स्थापनाको सुरु तीन चार वर्षको अवधिमा हामी कसरी हुन्छ वायु ऊर्जाको सम्भाव्यताको अध्ययन अनुसन्धान गर्नु नै हाम्रो प्रमुख उद्धेश्य रहेको थियो । त्यस्तै हाम्रो रणनीति अनुसार विदेशी कम्पनीहरूसँग सहकार्य गर्दै नेपालमा साना योजनाहरू देखि ठूला योजनाहरूको निर्माण गर्दै जाने हाम्रो भावि रणनीति रहेको छ । त्यस्तै नवीकरणीय ऊर्जालाई अफ ग्रिडबाट अन ग्रिडमा लैजाने योजना रहेको छ । 

प्रधानमन्त्री के.पी शर्मा वोली प्रथम पटक प्रधानमन्त्री हुँदा, हावा बाट विद्युत उत्पादन गर्ने कुरालाई धेरैले हावामा उडाए पनि अहिले केही स्थानमा हावाबाट विद्युत उत्पादन सुरु भएको छ । हावाबाट विद्युत उत्पादनलाई निरन्तरता दिन सरकारले थप के गर्नुपर्ला ?

हावा बाट पनि विद्युत उत्पादन हुन्छ भन्ने विषयमा धेरै मानिसहरू अनविज्ञ रहेका थिए । हावा बाट विद्युत उत्पादन गर्न असम्भव हुने मानिसहरूको धारणा रहेको थियो । त्यसैले प्रधानमन्त्री के.पी शर्मा वोलीले हावाबाट विद्युत उत्पादन गर्ने विषयलाई धेरैले मजाक र हावामा उडाएका थिए । प्रधानमन्त्री ओलीको हावा बाट विद्युत उत्पादन गर्ने अवधारणाले हामीलाई धेरै राहत पुगेको थियो । हावा बाट विद्युत उत्पादनमा प्रधानमन्त्री वोलीको ठूलो योगदान रहेको छ । राज्यले वायु ऊर्जालाई वैकल्पिक ऊर्जाको रुपमा अगाडि बढाउन तथा विदेशी लगानीकर्ताहरूको पनि आर्कषण बढ्दै गएको छ । सरकारले वायु ऊर्जा सम्बन्धि दुई ओटा अत्यन्त्यै महत्वपूर्ण निर्णय गरेको छ । जसमा एक सय मेगावाट भन्दा माथि वायु ऊर्जा लगानी वोर्ड को मातहतमा रहने र वायु ऊर्जा तथा सौर्य ऊर्जालाई केन्द्रिय प्रशारण लाईनमा जोड्ने यी दुई निर्णयहरू महत्वपूर्ण रहेको छ । त्यसैले सरकारले आगामी दिनमा पनि यो विषयलाई निरन्तरता दिदैँ जानुपर्छ भन्ने लाग्छ । 

नेपाल सरकारले तपाईहरू जस्तो व्यवसायीहरूको हीतका लागि कस्तो नीति निर्माण गर्नुपर्ला ?

नेपालमा नवीकरणीय ऊर्जा भर्खरै बामेसर्दै गरेको अवस्था रहेको छ । राज्यले यसको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ भने यसलाई इनर्जि सेक्युरेटी इनर्जी मिक्सको अवधारणाबाट विकास तथा प्रवद्र्धन गर्दै लैजानु पर्दछ । दक्ष प्राविधिकको कमी रहेको अवस्थामा सरकारले दक्ष तथा अनुभवि प्राविधिकहरूको उत्पादनमा जोड दिनुपर्दछ । नवीकरणीय ऊर्जाका लागि अनुदान नीतिलाई पनि अघि बढाउनु पर्दछ । 

नवीकरणीय ऊर्जा र जलस्रोत ऊर्जा उत्पादनमा आर्थिक अन्तर कत्तिको रहन्छ ?

अहिले सम्मको अवस्थालाई हेर्दा नेपालमा नवीकरणीय ऊर्जा भन्दा जलविद्युत नै सस्तो रहेको छ । तर सात वर्ष अगाडी १ सय दश रुपैयाँ प्रतिवाट पर्ने सौर्य प्यानल अहिले ४५ रुपैयाँ प्रतिवाट रहेको छ । कतिपय देशहरूमा भने ठूलो परिमाणमा नवीकरणीय ऊर्जा उत्पादन हुँदा जलविद्युत भन्दा सस्तो पनि पर्न गएको छ । तर अहिले नै नेपालमा जलविद्युत भन्दा नवीकरणीय ऊर्जा सस्तो पर्ने अवस्था भने देखिदैन । 

नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने प्राविधिकहरूको अवस्था कस्तो रहेको छ ?

वास्तवमा नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्न सहज रहेको छ भने अझै सौर्य ऊर्जाका क्षेत्रमा त निकै सहज रहेको छ । सिटिईभिटीले प्रदान गर्ने लेवल १ र २ को प्राविधिक शिक्षा लिएमा जडानका कार्यमा निपुर्ण हुन्छन् । त्यस्तै नेपालमा कतिपय विदेशमा पनि काम गरेर आउने प्राविधिकहरूले काम गर्दा सुरक्षाका साधनहरूको प्रयोग गर्न सरकार सँग माग गरेको भए पनि धेरै जसो प्राविधिकहरूले सेफ्टि फस्टका नियमलाई भने खासै अनुशरण गरेको पाइदैन ।

नवीकरणीय ऊर्जा क्षेत्रमा व्यवसाय दर्ता गर्दा दुई जना इलेक्ट्रिसियन अनिवार्य हुनु पर्ने प्रावधान रहेको छ, यो कत्तिको कार्यान्वयन हुने गरेको छ ?

नवीकरणीय ऊर्जा क्षेत्रमा व्यवसाय दर्ता गर्दा दुई जना इलेक्ट्रिसियन अनिवार्य हुनु पर्ने प्रावधान कार्यान्वय हुँदै आएको छ । इलेक्ट्रिसियनहरू नभई व्यवसाय नै दर्ता हुँदैन । प्राविधिक नभएको व्यवसाय पूर्ण हुँदैन ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणिय ऊर्जा क्षेत्रमा पछिल्लो समयमा कस्ता कार्य गर्दै आएको छ ?

ऊर्जामा देश अहिले एकद्धार प्रणालीमा गइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा को विकासमा निकै सहयोग पुर्याउँदै आएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण रहेको छ । 
वायु ऊर्जा , सौर्य ऊर्जा , लघु जलविद्युत, वायो ग्यास, वायु तथा सौर्य ऊर्जाको हाइब्रिड प्रोजेक्टबाट सामुदायिक ग्रामीण विद्युतीकरण गरिरहेको छ । यसरी हेर्दा नवीकरणीय ऊर्जामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका उल्लेखनीय रहेको छ । नवीकरणीय ऊर्जा क्षेत्रबाट नेपालमा १ प्रतिशत विद्युत जडान भएको छ । तर अहिलेको नीति अनुरुप नवीकरणीय ऊर्जा १५ प्रतिशत हुनु पर्ने भनिएको छ, यसै अनुरुप कार्य प्रक्रिया सरकारले अघि बढाउँछ भन्ने आशा रहेको छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्नु चाहनुहुन्छ ?

राज्यले नविकरणीय ऊर्जा क्षेत्रलाई हेर्ने धारणा इनर्जी मिक्स र इनर्जी सेक्युरेटीको कोणबाट आउनु पर्दछ । नवीकरणीय ऊर्जा लाई सरकारले सस्तो र महगो सँग तुलना गर्नु भन्दा पनि भविष्यमा कुन क्षेत्रको ऊर्जा बढी प्रभावकारी हुन्छ त्यसलाई मध्यनजर गर्दै नवीकरणीय ऊर्जा तथा जलविद्युतलाई सन्तुलित ढंगबाट अघि बढाउनु पर्दछ । त्यस्तै सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्दै लगानी निर्माणको वातावरण तयार गर्नु पर्दछ भने नीजि क्षेत्रलाई सरकारले अझै प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्नु पर्दछ । 

प्रतिक्रिया