भर्खरै

“भवन निर्माण गर्दा विद्युत नक्शाङ्कन अनिवार्य गर्नुपर्दछ ” 

  • प्रकाशित मिति : Mon-04-Apr-2918
  • - उपेन्द्र बडाल, कोषाध्यक्ष, सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्स तथा निर्देशक उपेन्द्र बडाल इन्टरनेशनल कन्सलटेन्सि 
title

नेपालमा कुनै पनि भवन निर्माण गर्दा भवनको नक्शाङ्कन अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था सरकारले गर्दै आएको भए पनि विद्युतीय नक्शाङकन भने सरकारले अहिले सम्म अनिवार्य रुपमा लागु गरेको छैन । विद्युत क्षेत्र निकै संवेदनशील क्षेत्र भए पनि यसको कार्यान्वयन सरकारले नगराउँदा पछिल्लो समयमा विद्युतीय आगलागीका घटनाहरू बढ्दै गएको छ । यसै सन्र्दभमा सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्सका कोषाध्यक्ष, तथा उपेन्द्र बडाल इन्टरनेशनल कन्सलटेन्सिका निर्देशक उपेन्द्र बडाल सँग विद्युत नक्शाङ्कनको आवश्यकता, यसले आम उपभोक्तालाई पु¥याउने फाईदा, त्यस्तै विद्युतीय सामग्रीहरूको गुणस्तरका प्रसंगलाई उल्लेख गर्दै विद्युतीय क्षेत्रमा सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्सले गर्दै आएका कार्यहरूका बारेमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठ सँग गरेको कुराकानीको सम्पादित अंश ः 

 

उपेन्द्र बडाल इन्टरनेशनल कन्सलटेन्सिका बारेमा बताई दिनुहोस् न ।

 कुनै पनि भवनहरू निर्माण गर्दा भवनको नक्शाङ्गन मात्र पर्याप्त हुँदैन भवन भित्र विद्युतीय उपकरणहरू कहाँ, कसरी राख्ने अथवा लगाउने त्यस सम्बन्धमा इलेक्ट्रिकल इन्जिनियर्सहरूको आवश्यकता पर्दछ । यसका लागि हाम्रो यस कन्सलटेन्सिले भवन निर्माण गर्दा विद्युतीय उपकरणहरू भवनमा कहाँ, कसरी लगाउने भन्ने विषयमा परार्मशदाताका रुपमा लामो समय देखि सहकार्य गर्दै आएको छ । हाल यस कन्सलटेन्सिमा १० जना इन्जिनियरहरू कार्यरत छन् । कन्सलटेन्सिको स्थापना २०६५ सालमा भएको हो । यस कन्सलटेन्सि मार्फत हामीले राष्ट्रिय स्तरमा निर्माण हुँदै गरेका भवनहरू तथा अन्तर्राष्ट्रिय स्तरमा ६, ७ ओटा देशहरूमा विद्युत डिजाइन परामर्शदाताका रुपमा काम गर्दै आएका छौ । हामीले भवन भित्रका विद्युतीय सामग्री कहाँ राख्ने भन्ने विषयमा मात्र होइन भवन बाहिर भवनलाई कसरी आर्कषित बनाउने, भवनबाहिर कस्तो डिजाइनका लाईटहरूको व्यवस्था गर्ने भन्ने सन्र्दभमा पनि कार्य गर्दै आएका छौ । भवन बाहिर लाईटिङ्गको डिजाईनका लागि अहिले हामी सिंगापुरको एक कम्पनी सँग आवद्ध भई कार्य गर्दै आएका छौ । 

सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सीन) का बारेमा बताई दिनुहोस् न ।

सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सीन) नेपालमा रहेका जति पनि इलेक्ट्रिकल इन्जिनियरहरू छन् उनीहरूको एउटा सामुहिक संस्था हो । सीन गैर नाफामुखी संस्था हो । यसको स्थापना आज भन्दा २५ वर्ष अगाडि भएको हो । यस संस्थाले मूख्यतय विद्युत इन्जिनियरहरूको सेवा, सुविधा तथा हकहितका लागि कार्य गर्नुका साथै विद्युत सम्बन्धि जस्तै विद्युतीकरण, आगालागी, सुरक्षा जस्ता विषयहरूमा नीति नियमहरू कस्तो हुनुपर्छ भन्ने सन्र्दभमा राज्यलाई नीति निर्मााण गर्न सहयोग पु¥याउँदै आएको छ । 

सीन मा इलेक्ट्रिकल इन्जिनियरहरू आवद्ध हुन कस्ता कस्ता प्रक्रिया अपनाउनु पर्छ र हाल सम्म यस संस्थामा कति इन्जिनियरहरू आवद्ध छन् ?

हामीले यस संस्थामा इन्जिनियरहरूको सदस्याता तीन प्रकारबाट लिदै आएका छौ । जस अन्र्तगत आजीवन सदस्य, साधारण सदस्य र संरक्षित सदस्य रहेका छन् । सीनमा आवद्ध हुनका लागि नेपाल तथा विश्वका कुनै पनि देशबाट विद्युत इन्जिनियरीङ्गमा स्नातक तह उत्र्तिण गरेर आएका नेपाली विद्युत इन्जिनियरहरू तथा नेपाल इन्जिनियरीङ्ग काउन्सिलबाट मान्यता प्राप्त विद्युत इन्जिनियरहरू यस संस्थामा सदस्यता लिन सक्छन् । हाल यस संस्थामा ५०० भन्दा बढी विद्युत इन्जिनियरहरू आवद्ध छन् । 

सीनको भावी योजना बारे बताइ दिनुहोस् न ।

गैर–नाफामुखी ढंगबाट विद्युत इन्जिनियरहरूको हक अधिकारका लागि तथा सरकारको नीति निर्माणमा समेत सहयोग पुर्याउँदै आएको यस संस्थाको भावी योजना भनेको देशमा सुरक्षित विद्युत सेवा पु¥याउनु हो । हाम्रो देश जलस्रोतमा धनी रहेको छ । देशमा रहेका जलस्रोतहरूबाट हामीले जलविद्युत प्रशस्त मात्रामा उत्पादन गर्ने हो भने देश समृद्ध हुने थियो । मलाई लाग्छ देश संमृद्ध हुनका लागि जलविद्युतको विकास हुनु आवश्यक छ । जलविद्युत क्षेत्रको विकासका लागि हामी विद्युत इन्जिनियरहरूले राज्यलाई के कस्तो सहयोग गर्नुपर्छ, सम्पूर्ण सहयोग गर्न हामी तयार छौ । अहिले पनि सीन ले नेपाल विद्युत प्राधिकरणलाई भइरहेको विद्युत चुहावट, पावर फ्याक्टर लगायत जस्ता विषयहरूमा कसरी सन्तुलन कायम गर्ने भन्ने विषयमा परार्मशदाताका रुपमा कार्य गर्दै आएका छौ । त्यस्तै नेपालमा भित्रने विद्युतीय सामग्रीहरूको गुणस्तरका सन्र्दभमा पनि हामीले समय समयमा कुरा उठाउँदै आएका छौ । 

सीनलाई नेपाल सरकारले अहिले सम्म कस्तो किसिमको सहयोग गर्दै आएको छ र सरकारबाट आगामी दिनहरूमा कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुभएको छ ?

नेपाल सरकारको तर्फबाट सीन लाई अहिले सम्म कुनै पनि किसिमका सहयोगहरू भएको छैन । यद्यपी नेपाल सरकारले विभिन्न मुलुकमा गई ठूला परियोजनाहरू सम्पन्न गरी आएका नेपालका दक्ष प्राविधिकहरू को अनुभवलाई सम्बोधन गर्न सके अझै विद्युत क्षेत्रको विकास हुने थियो । त्यस्तै सुरक्षित विद्युत उपभोगका लागि घरहरूमा सुरक्षित विद्युत जडान गर्न सरकारको तर्फ बाट कुनै पनि नवर्निमित भवन मा विद्युतीय जडानका लागि विद्युत इन्जिनियरहरूद्धारा नै प्रमाणित गर्न सक्ने व्यवस्था कायम गर्नुका साथै नेपालमा उत्पादन हुने तथा विभिन्न मुलुकहरूबाट आयात गरिने विद्युतीय उपकरणहरूको गुणस्तरको परीक्षण इन्जिनियरहरूको सहभागिता भए अझै उपयुक्त हुने थियो ।

सरकारले विद्युत इन्जिनियरहरूलाई उपेक्षा गरेको भन्ने सुनिन्छ नि, यस सम्बन्धमा तपाई के भन्न चाहनुहुन्छ ?

अहिलेको अवस्थामा हर्ने हो भने विद्युत इन्जिनियरहरूलाई राज्यले उपेक्षा गरेको पाइन्छ । राज्यको अहिलेको प्रणाली अनुसार कुनै पनि भवन निर्माण गर्दा सिभिल इन्जिनियरहरूले नक्शाङ्गकन गरे पछि भवन पास हुने व्यवस्था रहेको छ । तर विद्युत जडानको नक्शाङ्गकन अनिवार्य गर्नुपर्ने व्यवस्था भने सरकारले पूर्ण रुपमा लागु गरेको छैन । कुनै पनि भवन निर्माण गर्दा विद्युत जडानमा केही कमजोरी भएको खण्डमा धनजनको क्षति लगायत पुरै भवन जलेर ध्वस्त पनि हुन्छ । यस्ता सम्भावित दुर्घटनाहरूबाट बच्नका लागि सरकारले विद्युत जडानको नक्शाङ्गकन अनिवार्य गराउनु पर्छ जस्तो मलाई लाग्छ । सरकारले विद्युतको नक्शाङ्गकन नगरी भवन पास नगर्ने व्यवस्था ल्याउने हो भने झण्डै ८० प्रतिशत आगलागी र विद्युतीय दुर्घटनाहरू न्यूनिकरण गर्न सकिन्छ ।
 
विद्युत नक्शाङकन पश्चात नक्शाङकनका आधारमा काम गर्ने प्राविधिकहरूको दक्षताको सन्र्दभमा तपाई के भन्नु हुन्छ ?

कुनै पनि भवनमा विद्युत नक्शाङकन मात्र भएर हुँदैन । त्यसलाई पूर्णता दिनका लागि दक्ष इलेक्ट्रिसियनहरूको आवश्यकता पर्दछ । यस सम्बन्धमा सरकारले निश्चित मापदण्ड तोक्नु पर्ने हुन्छ । कुनै पनि भवनमा इलेक्ट्रिसियनहरूले काम गर्दा सरकारले निश्चित मान्यता प्रदान गरेको शैक्षिक संस्थाबाट प्रमाणिकरण भवन निर्माण गर्दा भएका दक्ष इलेक्ट्रिसियनहरूलाई मात्र काम लगाउने व्यवस्था गर्नुपर्दछ । 

विद्युतको नक्शाङकनका सम्बन्धमा आम जनता सम्म जनचेतना पु¥याउनका लागि के के कार्य गर्नुपर्ला ? 

विद्युत अहिलेको समयमा अनिवार्यता नै भईसकेको छ । विद्युत विना कुनै पनि कार्य सम्पादन गर्न सकिदैन । विद्युत अहिलेको समयमा जति महत्वपूर्ण रहेको छ त्यति नै सम्वेदनशील पनि रहेको छ । हाम्रो साना कमी कमजोरीले विद्युतजन्य दुर्घटना हुन सक्दछ । तसर्थ विद्युतलाई सहि उपयोग कसरी गर्ने भन्ने सन्र्दभमा राज्यले जनचेतना फैलाउनु पर्दछ । यसका लागि इलेक्ट्रिसियनहरूलाई, इन्जिनियरहरूलाई स्तर अनुसारको तालिमको व्यवस्था, सरकारी निकायका कर्मचारीहरूलाई सुरक्षा सम्बन्धि तालिमको व्यवस्था गर्नुका साथै इन्जिनियरीङ्ग काउन्सिलमा दर्ता भएका कुनै पनि विद्युत इन्जिनियरको सिफारीस विना विद्युत प्राधिकरणले लाइन नै नदिने व्यवस्था भएको खण्डमा आम जनता सम्भावित विद्युतीय दुर्घटना हुन बाट सुरक्षित हुने थिए । 

विभिन्न देशबाट इन्जिनियरीङ्ग विषयमा अध्ययन गरेर आउने इन्जिनियरहरूको ग्राफिक सिम्बोल फरक फरक हुने गरेको भन्ने सुनिएको छ, ग्राफिक सिम्बोल एकरुपताका लागि कस्ता प्रयासहरू भएका छन् ?

नेपालबाट विभिन्न देशमा इन्जिनियरीङ्ग विषयमा अध्ययन गरेर आउने इन्जिनियरहरूको सम्बन्धित देशको स्ट्याण्डर्ड अनुसार ग्राफिक सिम्बोल फरक फरक हुने गरेको छ । नेपालमा ग्राफिक सिम्बोल एकरुपताका लागि हामीले विगत ३,४ वर्ष देखि पहल गर्दै आएका छौ । यसका लागि हामीले कमिटि गठन गरेर ड्राफट रिपोर्टहरू नेपाल गुणस्तर विभागमा पठाई सकेका छौ । यसको एकरुपताका लागि सम्बन्धित निकायले जतिसक्दो चाँडो गुणस्तर कार्यान्वयनमा ल्याउनु पर्दछ ।

विभिन्न देशबाट आयात गरिने विद्युतीय सामग्रीहरूको गुणस्तर परीक्षणमा यहाँहरूको भूमीका कस्तो रहने गरेको छ ?

नेपालमा खपत हुने अधिकांश विद्युतीय सामग्रीहरू विदेशबाट आयात गर्ने गरिएको छ । नेपालमा आयात हुने विद्युतीय सामग्रीहरूको गुणस्तर परीक्षणको प्रचनल छैन । यसो हेर्दा लाग्छ नेपाल डम्पीङ्ग साईडको रुपमा विकास हुँदै छ । नेपालमा आयात गरिने कुनै पनि विद्युतीय सामग्रीहरू नेपाल गुणस्तर विभागले प्रमाणित नगरे सम्म बिक्रि वितरण गर्न नपाउने व्यवस्था नेपालका लागि खाँचो रहेको छ । यसका लागि सीन बाट हाम्रो पहल जारी रहेको छ । त्यस्तै नेपालमा विदेशी स्ट्याण्डर्डको भन्दा पनि नेपालका लागि नेपालकै स्ट्याण्डर्ड कायम गर्न आवश्यक छ । पछिल्लो समयमा हामीले एलईडि बल्ब सर्किट ब्रेकर, स्वीच सकेट लगायतका सामग्रीहरूमा नेपाल गुणस्तर हुनुपर्नेमा पहल गरिरहेका छौ ।

भारतमा विद्युत सम्बन्धि साउथ एशिया कै सबै भन्दा ठूलो इलेक्रामा मेला २०१८ केही दिन अघि मात्र सम्पन्न भएको छ, यसका सम्बन्धमा तपाईँ के भन्नु हुन्छ ?

भारतमा भएको इलेक्रामा मेला बाट हामीले धेरै कुराहरू सिक्नु पर्दछ । विद्युत सम्बन्धि भएको यो मेलाबाट हामीले नेपालमा कस्तो किसिमको प्रविधि भित्रयाउने र संसारमा कस्ता किसिमको प्रविधि आईरहेको छ तथा स्थानिय स्तरमा त्यसको प्रयोग कसरी गर्ने भन्ने कुराहरू हामीले त्यस मेला बाट सिक्न सक्छौ । भारत सरकारको सहयोगमा प्रवर्धित यस मेला निकै नै उत्पादनमुलक रहयो । आफ्नो देशका उत्पादनहरूको जानकारी गराई, देशमा उत्पादित वस्तुहरू अन्य मुलुकमा निर्यातको लागि वातावरण तयार गरिदियो । भारत सरकारले गरेको यो मेलाले व्यवसायीहरूलाई मात्र होइन सिंगो भारतको आर्थिक विकासमा पनि सहयोग पुर्याउदछ । नेपाल सरकारले पनि कम्तिमा बर्षको एक पटक यस्ता कार्यक्रमहरूको योजना राष्ट्रिय स्तरमा मात्रै गर्ने हो भने पनि उपभोक्ताहरूलाई अहिले स्वदेशमा उत्पादित तथा विश्व बजारमा आएका विभिन्न सामग्रीहरूको बारेमा जानकारी हुने थियो । 

विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई मध्यनजर गर्दै गत वर्ष देखि सुरक्षा दिवस मनाउदै आइएको छ, यो वर्ष सुरक्षा दिवस मनाउनका लागि सीनले कस्ता योजनाहरू ल्याएको छ ?

विद्युतीय क्षेत्र अत्यन्तै सम्वेदनशील क्षेत्र हो । प्राविधिकहरूको सानो गल्तिका कारणले पनि अकालमै प्राविधिकहरूको ज्यान जान सक्छ । अन्य क्षेत्र भन्दा विद्युतीय क्षेत्र निकै जटिल भएका कारण प्राविधिकहरूले विद्युतीय काम गर्दा सुरक्षित भएर काम गर्नुपर्दछ । सीनले प्राविधिकहरूको सहभागितामा सुरक्षा दिवस धेरै पहिले देखि मनाउँदै आएको भए पनि हामीले गत वर्ष देखि नेपाल विद्युत प्राधिकरण सँग सहकार्य गरी राष्ट्रिय सुरक्षा दिवस मनाउँदै आएका छौ । गत वर्ष जस्तै यो वर्ष पनि सुरक्षा दिवस जनचेतना जागृत गराउने ढंगले देश व्यापीरुपमा मनाउने कार्यक्रम राखेका छौं र सोको लागि एक दुई चरणको बैठक पनि बसिसकेका छौ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

विद्युत महत्वपूर्ण र जटिल क्षेत्र भएकाले विद्युतीय क्षेत्रमा काम गर्दा हामीले लगाउने सामान तथा सोको प्रयोग गुणस्तरको हुनुपर्दछ । गुणस्तरीय सामग्रीहरूको प्रयोग र त्यसको उचित जडानले नै आम मानिस सुरक्षित हुन्छन् । सुरक्षित विद्युत प्रयोगका लागि राज्य, विद्युत इन्जिनियर, व्यवसायी तथा दक्ष इलेक्ट्रिसियनहरूको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रतिक्रिया