“नेपालमा न्यून विजकीकरण मात्र होइन अधिकतम् विजकीकरण पनि हुँदै आएको छ”

  • प्रकाशित मिति : Wed-11-Apr-2018
  • - तेज नारायण खरेल अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ
title

नेपालमा रहेको विद्युतीय व्यवसायीहरूको हक हितका लागि लामो समय देखि कार्य गर्दै आएको नेपाल विद्युतीय व्यवसायी महासंघ, विद्युत व्यवसायीहरूको छाता संगठन हो । व्यवसायीहरूलाई परेका समस्या, व्यवसायीहरूका मर्का लगायतका विषयमा महासंघले कार्य गर्दै आएको छ । यसै सन्र्दभमा महासंघको स्थापना, महासंघले गर्दै आएका कार्य, महासंघको भावी योजना महासंघद्वारा आयोजित ९ औं संस्करण इलेक्ट्रो टेक २०१८ लगायतका विषयमा महासंघका अध्यक्ष तेज नारायण खरेल सँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः


महासंघको अध्यक्ष पद सम्म आइपुग्न कस्ता कस्ता संर्घषहरू गर्नुभयो ?

वि.स २०४० सालमा मैले चितवन बाट विद्युतीय सामग्रीहरूको व्यवसाय प्रारम्भ गरे । आफ्नो व्यवसायलाई संगठित रुप दिन तथा विद्युतीय व्यवसायीहरूको हक हित र सुरक्षाका लागि चितवन जिल्लाका हामी विद्युतीय व्यवसायीहरूको संयुक्त प्रयासमा वि.स २०४६ सालमा विद्युत सामग्री व्यवसायी समिति दर्ता गराएका थियौँ । त्यसमा संलग्न हँुदै अघि बढ्दै जाने क्रममा विद्युत व्यवसायीहरूको छाता संगठन हुनुपर्छ भन्ने अवधारणाहरू आए र काठमाण्डौमा रहेको नेपाल इलेक्ट्रिकल एशोसिएसनले नेपाल भरि छरिएर रहेका विद्युतीय व्यवसायीहरूको जिल्ला संघ हुनुपर्नेमा जोड दियो र वि.स २०४७ सालमा नेपाल इलेक्ट्रिकल एशोसियसनले मात्रै जिल्ला जिल्लाका विद्युत व्यवसायीहरूलाई समेट्न ग्राह्रो हुने भएकोले नेपाल पछि विद्युत व्यवसायी महासंघको स्थापना भएको हो । महासंघमा आवद्ध हुने क्रममा चितवन जिल्लामा विद्युत सामग्री व्यवसायी समिति र इलेक्ट्रिक एशोसिएशन शाखा कार्यालय रहेको थियो । यी दुवै लाई एकै ठाउँमा समावेश गराएर हामीले विद्युत व्यवसायी संघ चितवनको स्थापना गरेका हौ । त्यस समयमा नै म विद्युत व्यवसायी महासंघमा मैले तृतिय उपाध्यक्षका रुपमा काम गर्ने अवसर प्राप्त गरे । गत वर्ष २०७३ मा म महासंघको अध्क्षय पदमा निर्वाचित भई निरन्तर रचनात्मक कार्यमा लागि रहेको छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापनाका बारेमा बताइ दिनुहोस् न ।

काठमाडौमा दर्ता भएको नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापनाका सन्र्दभलाई हेर्दा वि.स २०४७ सालमा स्थापना भएको नेपाल इलेक्ट्रिक एशोसिएसनले देशभरका व्यवसायीहरूलाई समेट्न नसकेको अवस्थामा २०६७ को कार्य समितिको पहलमा महासंघमा रुपान्तरण गरिएको हो । महासंघको धारणा अनुरुप अगाडि बढ्ने निणर्य गरी एशोसिएसनका तत्कालिन अध्यक्ष गोविन्द प्रसाद कँडेलको अध्यक्षतामा नै महासंघ स्थापना हुन पुगेको हो । वि.स २०६७ सालमा १२ वटा जिल्ला नगर संघहरू आवद्ध भए पछि महासंघका रुपमा दर्ता भएको थियो । 

महासंघमा हाल कति जिल्ला सदस्यहरू रहेका छन् ? त्यसका बारेमा बताइदिनुहोस् न । 

देशभरका विद्युतीय व्यवसायीहरूको हक हितका लागि काम गर्दै आएको महासंघ सबै जिल्लाका विद्युत व्यवसायीहरूलाई समेट्ने उद्धेश्यका साथ स्थापना भएको हो । यस महासंघमा स्थापनाका समयमा १२ वटा जिल्ला संघहरू आवद्ध रहेका थिए भने हाल १९ वटा जिल्ला संघ दर्ता भइसकेको छ भने ६५ वटा एशोसिएटेट सदस्यहरू र ३ हजार भन्दा बढी व्यवसायीहरू महासंघमा आवद्ध रहेका छन् । त्यस्तै बागलुङ्ग, पाल्पा लगायत अन्य ४ जिल्लाहरूमा दर्ता हुने प्रक्रियामा रहेका छन् । 

महासंघमा आवद्ध हुनका लागि कस्ता प्रक्रिया अपनाउनु पर्दछ ?

महासंघमा सदस्य हुनका लागि २ वटा प्रक्रियाद्धारा आवद्ध हुन सकिन्छ । महासंघमा जिल्ला संघ तथा नगर संघ र एशोसिएट सदस्यहरू आवद्ध गराउँदै आएका छौ । जिल्ला संघ तथा नगर संघ आवद्ध हुनका लागि संघ दर्ता भएको प्रमाण पत्र आवश्यक पर्दछ भने एशोसिएटेट सदस्यका लागि ४० लाख भन्दा बढी पूँजी लगानी भएका र सम्बन्धित निकायमा उद्योग दर्ता भएका लाई सदस्य लिदै आएको छ । हामीले एशोशिएट सदस्यहरू का लागि वार्षिक ७ हजार ५ सय र जिल्ला संघ तथा नगर संघका लागि वार्षिक ३ सय रुपैयाँ शुल्क लिदै आएका छौ । 

महासंघको भावी योजनाका बारेमा बताई दिनुहोस् न । 

नेपालमा रहेका विद्युतीय व्यवसायीहरूको हक हित र अधिकारका लागि कार्य गर्ने उद्धेश्यका साथ नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापना भएको हो । व्यवसायिक हक हितका लागि कार्य गर्नु, देश विकासका लागि विभिन्न सामाजिक संघ संस्था सँग आवद्ध भई कार्य गर्नु तथा उपभोक्ताहरूलाई गुणस्तरीय सामग्री प्रदान गर्नुका साथै नयाँ प्रविधियुक्त सामग्रीहरू उपभोक्ता सम्म पु¥याउँदै जाने हाम्रो योजना रहेको छ । हामीले उपभेक्ताको आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक दुई वर्षमा इलेक्ट्रो टेक मेला को आयोजना गर्दै आएका छौ, जुन मेला बाट उपभोक्ताहरू विश्व स्तरमा आएका नयाँ प्रविधिका सामग्रीहरू सँग नजिक हुने अवसर प्राप्त गर्दछन् । त्यस्तै नेपालमा विभिन्न मुलुकहरूबाट विद्युतीय सामग्रीहरू आयात गर्ने गरेका छौ । ती सामग्रीहरूको गुणस्तरको परीक्षण गर्ने परिपाटिको विकास भएको छैन भने भन्सारमा पनि भन्सारदर एकै किसिमको नहुँदा व्यवसायीहरू मर्कामा पर्ने गरेका छन् । यसका लागि हामीले सरकारलाई पटक पटक घचघच्याउँदै आएका छौ ।

महासंघले आयोजना गर्दै आएको इलेक्ट्रो टेकका बारेमा बताई दिनुहोस् न ।

महासंघले प्रत्येक दुई वर्षमा इलेक्ट्रो टेक मेलाको आयोजना गर्दै आएको छ । हामीले इलेक्ट्रो टेक मेला इलेक्ट्रिक एशोसिएसन महासंघमा रुपान्तरण हुनु भन्दा पहिला देखि नै आयोजना गर्दै आएका हौँ । हामीले अहिले सम्म ८ पटक इलेक्ट्रो टेक मेला सम्पन्न गरिसकेका छौ । यो वर्ष पनि हामीले मेलाको आयोजना गर्ने तयारी गरिरहेका छौ । मेला आयोजना गर्नुको हाम्रो प्रमुख उद्धेश्य व्यवसायीहरू लाई प्रोत्साहन गर्नुका साथै उपभोक्ताहरूलाई नयाँ नयाँ प्रविधिहरूका बारेमा जानकारी प्रदान गर्नु हो । 

विद्युतीय क्षेत्रमा काम गर्ने महासंघ जस्तो संघ संस्थालाई सरकारले के कस्ता सहयोगहरू गरिदिनु पर्ला यसका बारेमा बताई दिनुहोस् न ।

विद्युतीय क्षेत्रमा काम गर्ने संघ संस्थाहरूका लागि सरकारले हाल सम्म खासै केही पनि काम गरेको छैन । हालै नेपाल सरकारले भन्सार सन्दर्भ पुस्तिकामा लेखिएको आधारमा भन्सार गर्ने भनेको छ तर सो पुस्तिकामा लेखिएको अनुसार दररेट व्यवहारिक छैनन् । यदि हामी सँग समन्वय गरेर रेट राखेमा व्यवहारिक हुने थियो । हामीले लिड जन्य विद्युतीय सामग्रीहरूको प्रयोगमा सरकारलाई लामो समय देखि घचघच्याउँदै आएका थियौँ । पछिल्लो समयमा लिड जन्य एलईडी बल्बको प्रयोग बढ्दै गएको छ । विद्युत खपत घटाउनका लागि सरकारले लिड जन्य सामग्रीहरूको प्रयोग तथा उत्पादनमा प्रोत्साहन गर्नुपर्दछ । त्यस्तै सरकारले लिड जन्य वस्तुहरूको भन्सार शुल्क शून्य गरी व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्नु पर्दछ । सरकारले हालै भन्सार को सन्र्दभ पुस्तिका लेखिएको रेट लाई मान्याता दिने कुरा उठ्दै आएको छ । यो निकै राम्रो रहेको छ । विद्युत क्षेत्र निकै सम्वेदनशील क्षेत्र हो । हामीले काम गर्दै गर्दा कुनै सानो गल्ति भयो भने पनि यसले ठूलो दुर्घटना निम्त्याउँछ । तसर्थ सरकारले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्दछ ।

पोखरामा सम्पन्न महासंघको आठौँ साधारण सभा कस्तो रहयो, यसमा बताईदिनु होस् न ?

हरेक १ वर्षमा गरिने साधारण सभामा वर्ष भरिको कार्र्य प्रगति,आम्दानी र खर्चको मूल्याङ्कन र अनुमोदन सबै जिल्ला तथा नगर संघ, एसोसिएट सदस्यहरूमा अर्को १ वर्ष भित्र गर्ने कार्ययोजना र नीति प्रस्तुत गरी महासंघको आठौं साधारण सभा पोखरामा भव्य र सभ्यका साथ सम्पन्न भएको छ । सबै जिल्ला संघका व्यवसायीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको प्रतिक्रिया पनि सकारात्मक नै आईरहेको छ । महासंघको केन्द्रिय कार्यालय काठमाण्डौमा भए पनि विद्युतीय व्यवसाय सम्बन्धि विभिन्न कार्यक्रमहरू अन्य जिल्लामा पनि सञ्चालन गरी त्यहाँ रहेका व्यवसायीलाई पनि सक्रिय बनाउनु पर्छ भन्ने उद्धेश्यका साथ हामीले पोखरामा साधारण सभा कार्यक्रमको आयोजना गराएका हौँ । साधारण सभा कार्यक्रम हुनु भन्दा पूर्व हामी विभिन्न जिल्ला संघहरूको भ्रमण गरेका थियौँ त्यस क्रममा पनि जिल्ला संघहरूको सुझाव तथा धारणाहरू संकलन गरी त्यसलाई सभामा सम्बोधन गरेका थियौ । साधारण सभा कार्यक्रममा तारको गुणस्तर र मूल्य एकरुपताका विषयमा ९ वटा जिल्ला संघहरूबाट संकल्प प्रस्ताव आएको थियो र अहिले हामी त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा रहेका छौ । तारको मूल्य एकरुपता र गुणस्तरका लागि हामीलाई तार उत्पादक कम्पनी “निमा” ले सहयोग गर्दै आएको छ । निमाले तारको मिटरिङ्ग हुनुपर्ने, तारमा कम्पनीको नाम हुनुपर्ने विषयमा जोड दिएको छ भने नेपाल नापतौल तथा गुणस्तर विभागले मल्टिस्ट्याण्ड तार प्रयोग गुणस्तर चिन्ह कायम गर्नुपर्ने नियम प्रक्रियामा रहेको छ । त्यस्तै न्युनवजकीकरण सन्र्दभमा महासंघले धेरै पहिले देखि कुरा उठाउँदै आएको छ । नेपालमा न्युनवजकीकरण मात्र होइन अधिकतम विजकीकरण पनि हुँदै आएको छ यस प्रति सरकारले ध्यान दिनु पर्दछ । 

अब हुने ९ आंै संस्करण इलेक्ट्रो टेक मेला को तयारी कस्तो हुँदैछ ? र यसमा सरकारबाट कस्तो सहयोग अपेक्षा गर्न सकिन्छ ?

उपभोक्ता तथा व्यवसायीहरूलाई लक्षित गर्दै हामीले यो वर्ष पनि इलेक्ट्रो टेक मेलाको आयोजना गर्ने योजनामा छौ । सन् २०१६ मा भएको इलेक्ट्रो टेक मेला जस्तै यो वर्ष पनि मेलाको मुख्य प्रायोजक निक नै रहने छ भने हाम्रो गोल्ड स्पोन्सर इलेक्ट्रा इलेक्ट्रिक रहने छ । यस वर्षको ९ औं संस्करण विगतका इलेक्ट्रो टेक लाई हेर्दा सरकारको तर्फबाट अपेक्षा गरे अनुसार सहयोग नपाए पनि आगामी हुने मेलामा केही सहयोग होला भन्ने अपेक्षा गरेका छौ ।
 
जिल्ला संघहरूले उठाउँदै आएका विभिन्न विषयहरू माथि महासंघले सुनुवाई गरेन भन्ने गुनासाहरू आएका छन् नि, यसमा तपाई के भन्नु हुन्छ ?

यो विषयमा अत्यन्त संवेदनशील छौ र जिल्ला,नगर संघ तथा एसोसियट सदस्यहरू बाट आएका हरेक समस्या,सुझाव र मागलाई मध्यनजर गरेर हामी अगाडि बढीरहेका छौ । विभिन्न जिल्ला संघका र व्यवसायीहरूको हक अधिकारका लागि नै महासंघले अहिले सम्म काम गर्दै आइरहेको छ । जिल्ला संघहरूको संकल्प प्रस्तावहरूलाई महासंघले मध्यनजर गर्दै तार उत्पादक संस्था निमा सँग वार्ता गरी रहेका छौ भने उद्योग वाणिज्य महासंघ मार्फत र हामी आफंैले नेपाल सरकारका विभिन्न निकायहरू सँग समन्वय गर्दै अगाडि बढिरहेका छौ साथसाथै नेपाल गुणस्तर विभाग सँग पनि हामीले वार्ता गरिरहेका छौ । जिल्ला संघद्धारा नै महासंघको स्थापना भएको हुँदा जिल्ला संघहरूलाई पर्ने हरेक समस्याको समाधानका लागि महासंघको तर्फबाट गर्नुपर्ने हरेक सहयोग गर्न तत्पर छौ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

 विद्युतीय व्यवसायीहरूमा परेका समस्या र त्यसको समाधानका लागि महासंघले सधंै सहयोग गर्दै आएको छ । महासंघले गुणस्तरीय भरपर्दो एवं टिकाउ हुने विद्युतीय सामग्रीहरूको आयातका लागि सधै व्यवसायीहरूलाई आग्रह गर्दै पनि आइरहेको छ । विद्युतीय क्षेत्रमा हुने हरेक समस्या र अप्ठ्यारा स्थितिमा सहयोग गर्न महासंघ तत्पर रहेको छ । त्यस्तै व्यवसायिक प्रर्वद्धन का लागि महासंघले समय समय मा विभिन्न जिल्ला संघहरूमा तालिम प्रदान गर्दै आएको छ भने आवश्यक परे अन्य थप तालिम तथा गोष्ठि सञ्चालन गर्न पनि महासंघ तयार रहेको छ । 

प्रतिक्रिया