भर्खरै

नयाँ वर्षसंगै लोडसेडिङ तालिका लेख्ने भित्तामा टाँसिएका २ तस्वीर

  • प्रकाशित मिति : Wed-18-Apr-2018
  • - नयाँ वर्षसंगै लोडसेडिङ तालिका लेख्ने भित्तामा टाँसिएका २ तस्वीर
title

बाबु बत्ती कति बजे आउँछ ? घरमा ममीले सबै भन्दा बढी सोध्ने प्रश्न ! बिजुली आएपछि भन है बाबु टर्च लाईट चार्जमा राख्नु छ । उमेरले चार विस काट्नु भएको हजुर आमाबाट आउने आग्रह, बत्ती आएपछि कम्प्युटर चलाउने आशमा गृहकार्य भ्याएपछि दाई लाइन कति बजे आउँछ भन्ने बहिनी र टिभीमा समाचारको पर्खाइमा रहनु भएको बुवाबाट छोरा लाइन कति बजे आउँछ भन्ने प्रश्नबाट दिक्दार भएको म प्रश्नको उत्तर दिदा दिदै थकित हुन्थे ।
यसरी दिनै पिच्छे परिवारका विभिन्न सदस्यहरूबाट आउने एउटै आग्रह र प्रश्नहरूले कहिले झर्काे लागेर आउथ्यो भने त कहिले देशको भविष्य देखिनै चिन्तित हुन्थे । मलाई याद छ, मैले घरका भित्ताहरूमा धेरै पटक लोड्सेडिङ्ग तालिकाहरू लेख्न बाँध्य भएको छु । अनि हप्ता दिन हुन नपाउँदै ती तालिकाहरू सच्याउन बाध्य बनेको छु । त्यतिमात्र हैन लोडसेडिङ्ग तालिका लेख्नलाई नै मैले धेरै डायरी कलम खरिद गरेको छु । छिमेकी, परिवार र आफ्नै लागि बिजुली आउने जाने समयमा थाहा पाउन प्राधिकरणमा सयौं पटक फोन कल गरेको छु । बत्ती नभएकै कारण धेरै समय फोकटमा खर्च गर्न बाँध्य भएको छु । मलाई लाग्छ म त एउटा प्रतिनिधि पात्र मात्रै हुँ । मैले जस्तै बत्तीकै पर्खाइमा धैरैले अनेकथरी पिडा पाएर सहेका थिए ।
यी सब कुराहरू सम्झदा अहिले झसङग हुन्छु । अचम्म लाग्छ, अनि खुशीले फुरुङ हुन्छु । हिजो आज मेरो घर परिवारको दैनिकी नै बदलिएको छ । बत्ती आउने र जाने समय कसैले सोध्न आएका छैनन् । अहिले लोडसेडिङ तालिका लेख्ने भित्तामा कुलमान घिसिङ र जनार्दन शर्मा ‘प्रभाकर’को ठूलो फोटो सजाएर राखेको छु । नेपालको ईतिहासमा यी दुई व्यक्तिको नाम सुनौलो पानामा हुनेछ वा छैन् त्यो म भन्न सक्दिन् तर जब सम्म बिजुली जादैन तब सम्म मेरो घर र कोठाका लोडसेडिङ तालिका लेख्ने भित्तामा यी दुई राष्ट्रप्रेमीहरूको फोटोहरूले स्थान पाइरहने छ ।
चितवनलाई लोडसेडिङ्ग मुक्त जिल्ला बनाउँछु भनेर जनार्दन शर्माले गरेको भाषण संचार माध्यम मार्फत सुनेको हुँ । तर विश्वास गर्ने अवस्था भने थिएन । यो अर्थमा कि, बितेका १० वर्षमा ७ प्रधानमन्त्री, दर्जन हाराहारीका ऊर्जामन्त्री र आधा दर्जन विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकले गरेको भाषण र कामबाट दिक्दार भएको मैले सहजै चितवन लोडसेडिङ मुक्त हुने सम्भावना देखेको थिईन् ।
तर अचम्म भयो २०७४ दशैँअघि मात्र नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी नेतृत्व सम्हालेका कुलमान घिसिङ र उर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं, पोखरा, चितवन हुँदै देश नै जादुमय ढंगबाट लोडसेडिङ मुक्त गरे । साँच्चै नै देशको मान र सान राख्न सफल देखिए कुलमान र जनादर्न ।
हो, काठमाडौँमा उज्यालो बनाउँछु भन्नेले लोडसेडिङ नै हटाए । लाखौका सोलार विद्युत प्रणाली बेकाम बनाए, स्वदेशी रकम विदेशीनबाट बचाए । त्यति मात्र हैन, असल व्यवस्थापकको कुशल व्यवस्थापनले देशमा कति फरक पार्दाे रहेछ भन्ने उदाहरण दिन सफल भयो तत्कालिन सरकार र नेपाल विद्युत प्राधिकरण । म आम नागरिक उज्यालो अभियानको समर्थक र प्रशंसक, कुलमान घिसिङ र जनार्दन शर्माको शाहस, जांगर र लगनशिलताको खुलेर प्रशंसा गर्दछु । किनकी आज त्यही उज्यालो अभियानकै कारण बिजुलीकै उज्यालोमा बसेर म एक विद्युत प्रधिकरणको सेवाग्राही यो अनुभव लेखी रहेको छु ।
मैले अखबारमा पढेको थिए, रामेछापको दुर्गममा अवस्थित सरकारी स्कूलमा पढेका एक जना सामान्य किसानको छोरो कुलमान घिसिङ र रुकुममा जिल्लामा सामान्य परिवारमा जन्म लिएर राजनैतिक पृष्ठ भुमिमा हुर्केका जनार्दन शर्मा अहिले नेपाली जनताको मनमुटुमा बस्न सफल भएका छन् । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र¥याउने अभियन्ताहरूले गर्दा म जस्ता हजारौ विद्यार्थीहरूले गाउँमा टुकी बालेर पढ्ने वा मङगो सोलार सिस्टम खरिद गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । साँच्चै खुशी छन् साँढे तीन करोड नेपाली जनता । हुन त बिजुली बेचेर १८ घण्टासम्म जनतालाई अँध्यारोमा राख्न पल्केका नामक हरामहरू, चैत, बैशाखमा लोडसेडिङ मुक्त भयो भने जागिर छोड्छु भन्ने कपुतहरूको पनि राम्रैसंग व्यवस्थापन गर्न तपाईहरू सफल बन्नु भएको छ । कुलमान र जनार्दन नाम काठमाण्डौं उपत्यकाबासीको मात्र नभई अधिकांश नेपालीको प्रिय नाम बन्न सफल भयो । कतिपयले काठमाण्डौ उपत्यकालाई लोडसेडिङ मुक्त बनाएर चौबिसै घण्टा उज्यालो बनाएको जस सबैभन्दा बढि कुलमान र जनार्दनले पाउने गरेको भएपनि उनीहरूको कुशल व्यवस्थापनलाई उर्जा मन्त्रालय मातहतका सबै कर्मचारी र जनताको साथले उपत्यका हुँदै देशबाटै लोडसेडिङ हटेको घाम जस्तै स्पष्ट छ ।
मैले धेरै बेली बिस्तार गर्न नपर्ला । राम्रो गर्नेको भलो नचाहने देश हाम्रै नेपाल हो । हिजो २० वर्षअघि हात्ती छाप चप्पल पड्काएर राजधानी छिरेका दर्जनौ नेताहरू गगनचुम्वि भवन ठडाएर, चिल्लो गाडीमा हुईकिन्छन् तर राजधानीको भित्ताहरूमा २० वर्ष अगाडि लेखिएको ‘यहाँ पिसाब फेर्न मनाही छ’ भनेर लेखेको जस्ताको तेस्तै छ । जनार्दन र कुलमान ती नेताहरू भन्दा फरक बने र त आज हामी सारा नेपाली उहाँहरूको साथमा छौ ।
सत्य लुक्दैन, झुट टिक्दैन दिन दुई गुणा, रात चार गुणा राजधानी अस्तव्यस्त भईरहेको छ । सडकको अवस्था १० वर्ष अगाडिको भन्दा नाजुक भएको छ । खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो छ । धुलो धुवाँले मर्निङ वाक गर्न समेत हानिकारक ठहरिएको छ । मठमन्दिरहरू, ऐतिहासिक दरबारहरू, गुम्बा, पाटीपौवा सबै कुराहरू जिर्ण छन् । यस्तै अन्य धेरै कुराहरू सुधार गर्नुपर्ने कुराहरू छन् । हामी साँढे तीन करोड जनता विकासको नाम समेत सास्ती पाएको थुप्रै उदाहरणहरू छन् ।भिमसेन थापालाई देशद्रोहीको आरोप लगाउने र मदन भण्डारीलाई भिरबाट फाल्ने देशका नागरिक हामीहरूले लामो समय सम्म विकास प्रेमी व्यक्तिको संगत गर्न नपाएको पनि थुप्रै उदाहरणहरू छन् । साँच्चै अहिले त देशले बहुमत सहितको नयाँ सरकार पनि पाएको छ । उर्जामन्त्री पनि नयाँ पाएको छ । देश संघीयतामा गएको छ । केन्द्रको सरकार गाउँगाउमा आएको छ । यो अवस्थामा जनताको पक्ष र देशको पक्षमा काम गर्ने सरकार चाहेको छ जनताले र त्यही अनुसारको नेता खोजेका छन् ।
भलै मान्छे मान्छे बीचका धारणाहरू फरक–फरक होलान् देश सत्तिले सरापेर गरिब भएको हैन् । अशक्तीहरूले लुटेर गरिब भएको हो । तसर्थ कुलमान र जनार्दनले जस्तै काम गर्ने विकास प्रेमी नेता मागेको छ देशले । मलाई लाग्छ भीड् भन्दा काम गर्ने थोरै हातले पनि परिमाण आउँछ । समग्र देशको भलो हुने भाषण हैन काम गर्ने नेताको आवश्यक छ देशमा । हुन् त देशले भर्खर मात्रै नयाँ उर्जामन्त्री पाएको छ । रोल्पा जिल्लाको जोट गाविसको वडा नम्बर १ माडी चौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका वर्षमान पुनबाट देशले धेरै अपेक्षा गरेको छ । कानुनमा स्नातक गरेका पुन साच्चै भाषण हैन काम गर्ने नेताको रुपमा चिनिनु आवश्यक छ । 
देश नै लोडसेडिङ मुक्त भयो भन्दै गर्दा कतिपय ठाउँमा बिजुलीको पोल समेत गएको छैन् । बिजुली भनेको के हो ? भन्ने पनि थाहा नभएको विकट भेगमा बिजुली बत्ती पु¥याउनु अति आवश्यक छ । अनि जलस्रोतको दोस्रो धनी राष्ट्र हाम्रो नेपालका सबै खोला नालाबाट बिजुली निकाल्दै अन्र्तराष्ट्रिय बजारमा बेच्न सक्यौं भने बल्ल गर्वका साथ आत्मस्वालम्बी भएर बाच्ने आधारहरू प्रष्ट हुने थिए । मलाई याद छ उपत्यका मात्र लोडसेडिङ मुक्त हुँदा देशको आर्थिक वृद्धिदरमा ठूलो मात्रामा उत्थलपुथल भएको थियो । त्यसैले देश विकासको मुल खम्बा उर्जा क्षेत्रमा दिन दुई गुणा, रात चार गुणाका दरले सकारात्मक परिवर्तन भएको देख्ने ठूलो रहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago