“उत्पादित तथा आयातित सामग्रीहरूको गुणस्तरमापदण्ड निर्धारण गर्नुपर्दछ” 

  • प्रकाशित मिति : Wed-25-Apr-2018
  • - विकास थापा सचिव, विद्युत व्यवसायी संघ चितवन, बाबा इलेक्ट्रिक एण्ड लाइट हाउस तथा त्रिशक्ति ट्रेड लिंकका प्रोपाइटर
title

नेपालमा आयातित तथा उत्पादित विद्युतीय सामग्रीहरूको गुणस्तरको अवस्था, विद्युतीय सामग्रीहरूको बजारको अवस्था, व्यवसायीहरू बीचको प्रतिस्पर्धा,विद्युतीय व्यवसायीहरूको हकहितका लागि कार्य गर्दै आएको महासंघ तथा जिल्ला संघहरूको भूमिका साथै विद्युत व्यवसायीहरूलाई सरकारले गरेको सहयोगका विषयमा विद्युत व्यवसायी संघ चितवनका सचिव, बाबा इलेक्ट्रिक एण्ड लाइट हाउस तथा त्रिशक्ति ट्रेड लिंकका प्रोपाइटर विकास थापा सँग विद्युतसंसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः

विद्युत व्यवसायी संघ चितवन को स्थापना बारेमा बताइ दिनुहोस् न ।

विद्युत व्यवसायी संघ चितवनको स्थापना वि.स २०५२ सालमा बामदेव शर्मा घिमिरे को अध्यक्षतामा भएको हो । तर विद्युत व्यवसायी महासंघको स्थापना भए पछि भने महासंघको अवधारणा अनुसार वि.स २०६६ सालमा बामदेव शर्मा घिमिरे को नै अध्यक्षतामा विद्युत व्यवसायी संघ चितवनको पुन स्थापना भएको हो । संघको स्थापना देखि हाल सम्म यस संघले चितवन जिल्लामा रहेका विद्युत व्यवसायीहरूको हक हितका लागि कार्य गर्दै आएको छ । 

यस संघमा कति व्यवसायीहरू आवद्ध रहेका छन् र आवद्ध हुने आधारहरू के के रहेका छन् ?

विद्युत व्यवसायी संघ चितवनमा हाल सम्म २ सय ५ जना सदस्य आवद्ध छन् । यस संघमा आवद्ध हुनका लागि नेपाल सरकार को आन्तरिक राजस्व कार्यालयमा व्यवसाय दर्ता भई प्यान नम्बर लिएका व्यवसायीहरू आवद्ध हुन सक्छन् । त्यस्तै हाम्रो संघले व्यवसायीहरूको आवश्यता तथा सुविधालाई मध्यनजर गर्दै विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि स्थापना गरेको छ । यस सहकारीको शेयर खरिद गर्नको लागि प्यानमा दर्ता भई विद्युत व्यवसायी संघमा आवद्ध भएपछि शेयर खरिद गर्न पाइने छ भने सर्वशुलभ ब्याजदरमा विना धितो धन जमानीको आधारमा ऋण प्रदान गरिने छ । हाम्रो संघमा सदस्यता लिनका लागि एक हजार रुपैयाँ सदस्यता शुल्क र नवीकरण का लागि वार्षिक पाँच सय लाग्ने छ ।

यस संघको भावी योजनाहरूका बारेमा बताईदिनुहोस् न । 

हामी संघ मार्फत कुनै पनि योजनाहरू निर्माण गर्दा क्षणिक भन्दा पनि दीर्घकाल सम्म रहने गरी दुरदर्शी ढंगबाट योजनाहरू निर्माण गर्दै आएका छौ । व्यवसायी तथा उपभोक्ताका हितका लागि काम गर्दै आएको यस संघले पछिल्लो समयमा तारको मूल्यमा एकरुपता ल्याउनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघ सँग पहल गर्दै आएका छ । तारको मूल्यमा एकरुपता ल्याउनका लागि संघले महासंघमा पेश गरेको संकल्प प्रस्ताव पनि महासंघले पारित गरी सकेको छ । यसै संघको प्रस्तावमा चितवन, पोखरा लगायतका स्थानमा तारको मूल्यमा एकरुपता कायम भईसकेको छ । त्यस्तै अहिले बजारमा भई रहेको न्यूनविजकीकरणको अन्त्यका लागि पनि संघले पहल गर्दै आएको छ भने दक्ष एवं प्रमाणपत्र धारी इलेक्ट्रिसियनहरूले मात्र विद्युतीय क्षेत्रमा काम गर्न पाउने व्यवस्था कायम गर्नका लागि हामी लागि परिरहेका छौ । 

महासंघको आठौ साधारण सभामा संघहरूले पेश गरेका संकल्प प्रस्तावहरू कत्तिको कार्यान्वयन भएका छन् ?

पोखरामा सम्पन्न भएको महासंघको आठौ साधारण सभामा हामीले मूख्य रुपमा न्यूनविजकीकरण अन्त्य गरी फुल विलिङ्गमा काम गर्ने तथा हाउस वायरीङ्ग तार मा भएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी हाउस वायरीङ्ग तार को मूल्यमा एकरुपता कायम गर्ने विषयमा संकल्प प्रस्ताव पेश गरेका थियौ । त्यस बखत उक्त प्रस्तावलाई सम्पूर्ण जिल्ला संघहरू तथा महासंघले अत्यन्त हार्दिकताका साथ प्रस्तावलाई स्वीकार गरेको थियो । यद्यपि त्यस बखत गरिएको उक्त संकल्प प्रस्तावले अझै मूर्त रुप प्राप्त गर्न सकेको छैन । लामो समय अघिको यो प्रस्तावका सम्बन्धमा महासंघ निष्क्रिय हुनुले कार्यान्वयनको पक्षमा महासंघ केही कमजोर भएको जस्तो मलाई लाग्छ । महासंघले जिल्ला संघहरू लाई नेतृत्वमा लिइ काम गर्नुपर्ने हो तर व्यवहारिक रुपमा हेर्दा महासंघ जिल्ला संघहरू भन्दा पनि निष्क्रिय देखिन्छ । यसले गर्दा हाम्रा प्रस्तावहरू ओझेलमा पर्ने त होइन भन्ने लागेको छ । यस विषयमा हामी महासंघलाई घच्घच्याई रहन्छौ । महासंघले पनि जिल्ला संघले उठाएका विषयहरूलाई कार्यान्वयन गर्नका लागि पहल गर्नु का साथै नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ ।
 
महासंघले आगामी दिनमा कस्ता कार्य गर्नु पर्ला ?

महासंघले सम्पूर्ण जिल्ला संघहरूलाई समेट्ने गरी निष्पक्ष ढंगबाट काम गर्नुपर्दछ भने महासंघमा सक्षम नेतृत्व पनि हुुनुपर्दछ । कतिपय अवस्थामा महासंघमा ग्रुपिजम हुने गरेको छ । गु्रपिजम हुुनुले महासंघलाई मात्र होइन सिंगो जिल्ला संघहरूलाई पनि घाटा पुर्याउदछ । तसर्थ यस्ता विषयमा सबै जिल्ला संघहरू सचेत हुन जरुरी छ । सबै जिल्ला संघका प्रतिनिधिहरू महासंघमा आवद्ध हुनु पर्दछ । अहिले महासंघमा १९ जिल्ला संघहरू मात्र आवद्ध छन् । महासंघले देशभरका सबै जिल्ला संघहरूलाई महासंघमा आवद्ध गराउनु पर्दछ । 

गुणस्तरीय सामग्री प्रयोगमा व्यवसायी र इलेक्ट्रिसियनहरूको भूमिका कस्तो रहन्छ ?

विद्युतीय क्षेत्र निकै सम्वेदनशील क्षेत्र हो । हामीले काम गर्दा कुनै सानो गल्ती भयो भने पनि त्यसले जनधनको ठूलो क्षति गर्न सक्दछ । त्यस्तै विद्युतीय सामग्रीहरूको प्रयोगका सन्र्दभमा पनि हामीले कम गुणस्तरका सामग्रीहरू प्रयोग ग¥यौ भने त्यसले पनि जनधनको क्षति गर्दछ । तसर्थ हामीले संघ मार्फत हाम्रा सदस्यहरूलाई सधै गुणस्तर युक्त सामग्रीको प्रयोग गर्नमा जोड दिँदै आएका छौ । गुणस्तरीय सामग्री प्रयोगमा व्यवसायी, इलेक्ट्रिसियन दुवैको भूमिका महत्वपूर्ण हुन्छ । त्यो भन्दा पनि अझै महत्वपूर्ण उपभोक्ता कै भूमिका रहन्छ । उपभोक्ताले बजारमा सस्तो सामग्रीहरू मात्र खोज्ने गर्दछन् । सस्तो सामग्री गुणस्तर युक्त सामग्रीहरूको तुलनामा कम गुणस्तरको हुने गर्दछ । उपभोक्ताले बजारमा सस्तो सामग्री मात्र नभई गुणस्तर एवं टिकाउ हुने सामग्रीहरूको खोजी गर्नु पर्दछ । त्यस्तै विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरू पनि सबै दक्ष छन् भन्ने छैन । कतिपय अदक्ष इलेक्ट्रिसियनहरू हचुवाका भरमा काम गर्ने गर्दछन् । यसले गर्दा कुन विद्युतीय सामग्री गुणस्तरयुक्त छन् कुन छैनन् भन्ने विषयमा उनीहरू अनविज्ञ हुन्छन् र विद्युतीय दुर्घटनाको सम्भावना बढी हुन्छ । तसर्थ हामीले महानगरपालिका र सिटिईभिटि सँग समन्वय गरी प्रमाणपत्र धारी इलेक्ट्रिसियनहरूले मात्र काम गर्न पाउने व्यवस्था कायम गर्न का लागि पहल गर्दै आएका छौ । 

 विद्युतीय सामग्रीहरू आयात गर्दा भन्सार दर रेट फरक फरक हुने गरेको छ, यसमा तपाई के भन्नु हुन्छ ?

विद्युतीय सामग्रीहरूको आयात गर्दा कुन सामग्री कस्तो खालको हो, त्यसको भन्सार दर कति लगाउने भन्ने विषयमा सरकार अनविज्ञ छ । सरकारले कम मूल्यका सामग्री र बढी मूल्यका सामग्रीमा लगाउने भन्सार दर पनि एउटै रहेको छ । जसले गर्दा व्यवसायीहरू मर्कामा पर्ने गर्दछन् । कम विद्युत खपत गर्ने एलईडि जन्य सामग्रीहरूमा सरकारले अनुदान दिनु पर्ने हो तर त्यसमा पनि सरकारले भन्सार लिने गर्दछ । यसरी हेर्दा सरकार विकासका दृष्टिले अझै सयौँ वर्ष पछाडि परेको देखिन्छ । 

हाउस वायरीङ्ग केवलको मूल्य एकरुपता कत्तिको व्यवहारिक रुपमा लागु भएको छ ?

 हाउस वायरीङ्ग केवलमा मूल्य एकरुपता कायम गर्ने विषयमा लामो समय देखि बहस चल्दै आईरहेको छ । हाउस वायरीङ्ग केवलमा मूल्य एकरुपता कायम गर्नुपर्छ भन्ने अवधारणको विकास पनि हाम्रै संघबाट आएको हो । हाउस वायरीङ्ग केवलमा मूल्य एकरुपता कायम गर्नका लागि हामीले महासंघमा पहल गर्दै आएका छौ । व्यवसायीहरूको हितका लागि देशभर मूल्यमा एकरुपता कायम गर्न हामी लागि परिरहेका छौ । चितवन र पोखरामा यसको लागु भएको छ । यद्यपी कतिपय व्यवसायीहरूले यसको पूर्ण रुपमा पालना भने गरेको छैन । 

महासंघ तथा जिल्ला संघहरूले गरेका कार्यमा सरकारले कस्तो सहयोग पु¥याउदै आएको छ ? यसका बारेमा बताईदिनु होस् न ।

सरकारले महासंघ तथा जिल्ला संघहरूले गरेका कार्य मा अहिले सम्म केही सहयोग गरेको छैन । यद्यपी सरकारले न्यून विजकिकरण को अन्त्य, विद्युतीय क्षेत्रमा विज्ञ व्यक्तित्वहरूको व्यवस्था, आयातीत तथा उत्पादित सामग्रीहरूका गुणस्तरको निश्चित मापदण्ड कायम गरी सामग्रीहरूको गुणस्तर मापनको व्यवस्था गर्नु पर्दछ । सरकारले यी विषयमा ध्यान दिन सके उपभोक्ताले गुणस्तरयुक्त सामग्री उपभोग गर्न सक्ने थिए ।

अन्त्यमा यस पत्रिका मार्फत के भन्नु हुन्छ ?

सरकारले विज्ञ व्यक्तित्वहरूको सल्लाहमा गुणस्तरको निश्चत मापदण्ड निर्धारण गरी उत्पादित तथा आयातित सामग्रीहरू बजारमा ल्याउन सहयोग गर्नुपर्दछ । त्यस्तै व्यवसायीले स्वच्छ रुपमा व्यवसाय गर्न पाउनु का साथै न्युनविजकिकरणको पनि अन्त्य हुुनुपर्दछ । 

प्रतिक्रिया