भर्खरै

विद्युतीय विकासमा दीर्घकालिन योजनाको खाचो

  • प्रकाशित मिति : Wed-11-Jul-2018
  • - रुपा तुलाधर
title

विद्युत मानिसको जीवनका लागि आवश्यक हो । वर्तमान समयमा विद्युत विना कुनै पनि काम सम्पन्न गर्न प्रायः असम्भव जस्तै भइसकेको छ । मानिसका दैनिक आवश्यकताहरूको पूर्तिका लागि विद्युत अति महत्वपूर्ण रहेको छ । मानिसले गर्ने कुनै पनि काममा विद्युत पुरकका रुपमा रहेको छ । मानिसले गर्न नसक्ने असम्भव भनिने काम पनि विद्युतको सहायता बाट सहजै रुपमा सम्पन्न गर्न सकिन्छ । अहिले जति पनि प्रविधिहरूको विकास भएका छन् ती सबै प्रविधिहरू संञ्चालन गर्न विद्युत नै आवश्यक पर्दछ । विद्युतको माध्यमबाट नै विश्वका विभिन्न घटनाहरूको बारेमा क्षण भरमा नै थाहा पाउन सक्छौ । विद्युत बत्ती बाल्नका लागि मात्र नभएर मानिसको दैनिक जीवनका आवश्यक प्रविधिहरूको सञ्चालनका लागि पनि महत्वपूर्ण रहेको छ । यदि एक छिन मात्र विद्युत सेवा बन्द हुने हो भने पनि विभिन्न काम तथा सेवाहरू ठप्प हुने गर्दछ । 
प्रविधिको तीव्र विकास सँगै विद्युतको महत्व पनि बढ्दै गएको छ । विद्युतको उचित विकास बाट मात्र कुनै पनि समाज तथा देशको चौतर्फी विकास सम्भव रहेको छ । विद्युतको विकासले विश्वमा नै नयाँ तरङ्ग पैदा गरेको छ । विद्युतको विकासका कारण नै विकसित राष्ट्रहरू विकासको चरम विन्दुमा पुगेका छन् । यदि विद्युत नहुँदो हो त सम्पूर्ण विकास यति छिटै सम्भव हु्ने थिएन । मान्छेले गर्न नसक्ने कामलाई पनि विद्युतको सहायता मार्फत सहजै रुपमा गर्न सकिन्छ । तसर्थ विद्युतको महत्व तथा आवश्यकता अथाह रहेको छ । विश्वमा विद्युत क्षेत्रमा ठूलै प्रगति भए पश्चात मात्र नेपालमा पनि विद्युत उत्पादन सम्बन्धी लहर चलेको देखिन्छ । नेपालमा विद्युत उत्पादन सुरु भएको एक सय वर्ष भन्दा पनि बढी भइसकेको भए पनि हाल सम्म नेपालमा विद्युत उत्पादनले गति लिन सकेको छैन । विद्युत उत्पादन सम्बन्धि विभिन्न योजनाहरू आएइरहेको भए पनि त्यसको समयमा नै विकास तथा निर्माण हुन नसक्दा अहिले पनि कतिपय ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पुग्न सकेको छैन । विद्युत सेवा पुगेका कतिपय ग्रामीण भेगहरूमा पनि विद्युत सेवा नियमित नहुने, काठका पोलहरूको प्रयोग गरिएको हुने, ट्रान्सर्फमरहरू पुरानो तथा जीर्ण भई विद्युत सेवा अवरुद्ध हुने जस्ता कार्यहरू दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । अझ यो वर्षायाममा त झनै विद्युत सेवा धेरै जसो अवरुद्ध हुने गर्दछ । वर्षायाम सुरु भए सँगै बाढी पहिरो जाने विभिन्न निर्माणाधिन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरू संरचनाहरू भत्किने, विद्युत सेवा अवरुद्ध हुने जस्ता समस्याहरू हुने गर्दछ । यी समस्याहरू आम उपभोक्तहरूले वषौं देखि झेल्दै आएका छन् । जव वर्षायाम सुरु हुन्छ तब विद्युत सेवा उपभोक्ताहरूले राम्ररी उपभोग गर्न पाउँदैन । अझ विषेश गरी भन्ने हो भने ग्रामीण क्षेत्रमा यो एउटा जटिल समस्याका रुपमा रहेको छ । बाढी पहिरो कै कारणले कतिपय आयोजनाहरू बर्षै देखि बन्द समेत भएका छन् । जलविद्युत आयोजनाहरू समयमा नै निर्माण नहुुको प्रमुख कारण मध्ये बाढी पहिरो पनि एक हो । वर्षात सुरु हुने वित्तिकै प्रशारण लाइनमा समस्या हुने हप्तौ सम्म विद्युत सेवा बन्द हुने जस्ता समस्याका कारण उपभोक्ताहरू समस्यामा पर्ने गरेका छन् । यसरी वर्षा सँगै हुने विद्युतीय समस्याको समाधानका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ । सरकार तथा सम्बन्धित निकायले कुनै पनि जलविद्युत आयोजनाहरू निर्माण गर्दा दीर्घकाल सम्म हुने गरी आयोजनाहरू निर्माण गर्नुपर्दछ । जलविद्युत आयोजना निर्माण गर्नुपूर्व आयोजना रहने स्थानको भौगोलिक अवस्था, पर्यावरण आदिलाई विशेष ध्यान दिन जरुरी छ । त्यस्तै आयोजनाहरू बाट लामो समय सम्म प्रतिफल प्राप्त गर्ने उद्धेश्यले आयोजना निर्माण गर्नुपर्दछ । प्रशारण लाईनको अवस्थालाई पनि विशेष ध्यान दिनु पर्दछ । प्रशारण लाईन निर्माण गर्दा उचित ढंगबाट निर्माण गर्नुपर्दछ । यदि कुनै स्थानमा ट्रान्सर्फमर बिग्रिएको, पुरानो भई काम नगर्ने अवस्थामा छन् भने ती ट्रान्सर्फमरहरू प्राधिकरणले परिवर्तन गरिदिनु पर्दछ । ग्रामीण भेगका कतिपय स्थानहरूमा ट्रान्सफर्मर, जीर्ण पोल आदि कारण पनि विशेष गरी वर्षायाममा समस्या आउने गर्दछ । वर्षा यममा हुने विद्युतीय समस्याका कारण धनजनको ठूलो क्षति हुने गरेको छ । वर्षायाममा हुने विद्युतीय समस्यालाई मध्यनजर गर्दै सरकारले विद्युत सम्वन्धि नयाँ रणनीतिहरू ल्याउनु आवश्यक छ । शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा वर्षायाममा विद्युतीय समस्याहरू बढी हुने गर्दछन् । जसले गर्दा विद्युत सँग सम्बन्धित भएर गरिने विभिन्न काममा अवरोध सिर्जना हुने गर्दछ । 
विद्युतीय क्षेत्रमा हुने विभिन्न समस्याहरूलाई मध्यनजर गर्दै विद्युतीय दुर्घटनाबाट बच्नका लागि तथा विद्युतीय सेवा आम उपभोक्तालाई निरन्तर प्रदान गर्नका लागि सरकारले नयाँ रणनीति बनाउन आवश्यक छ । विद्युतीय क्षेत्रको व्यवस्थित विकासका लागि दीर्घकालीन योजना बनाउनु पर्दछ भने वैकल्पिक ऊर्जालाई पनि प्राथमिकता दिनु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago