भर्खरै

चालकले अझै पाएनन् स्मार्ट लाइसेन्स

  • प्रकाशित मिति : Wed-15-Aug-2018
  • - रुपा तुलाधर
title

नेपाल सरकारले कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई विस्थापित गर्दै २०७२ देखि स्मार्ट लाइसेन्सको व्यवस्था लागु गरेको छ । स्मार्ट लाइसेन्स लागु भए पछि ट्राफिक नियमनमा सहज हुने अपेक्षा सहित सरकारले स्मार्ट लाइसेन्सको व्यवस्था गरिएको थियो । यातायात मन्त्रालयले खुल्ला प्रतिष्पर्धाबाट भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा दिएको थियो । प्रिन्र्टसले १५ करोड रुपैयाँको लागतमा स्मार्ट कार्ड छाप्ने ३ वोटा लेजर इन्ग्रेडिङ मेसिन, हार्डवेयर सामग्री ल्याएको थियो । स्मार्ट लाइसेन्स छाप्ने सामग्री ल्याए पनि अझै आवश्यक लाइसेन्स छाप्न सकेको छैन । 
सरकारले उच्च प्रविधिको उपयोग गर्दै स्मार्ट लाइसेन्सको व्यवस्था गरे पनि माग अनुसार त्यसको आपूर्ति हुन नसक्दा स्मार्ट लाइसेन्सका लागि आवेदन दिएकाहरूले लामो समय सम्म पनि लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । लाइसेन्स पाउनका लागि एक वर्ष अगाडि नै निवेदन दिए पनि अहिले सम्म लाइसेन्स नपाएको गुनासाहरू प्रसस्तै आउन थालेको छ । स्मार्ट लाइसेन्स लागु गरेको पाँच वर्ष भित्रमा नेपालभर स्मार्ट लाइसेन्स मात्र प्रयोग गर्नु पर्ने निर्णय सरकारले गरेको भए पनि त्यसको कार्यान्वयन उचित ढंगबाट हुन नसक्दा सरकारले तोकेको समयमा नै नेपालभर स्मार्ट लाइसेन्स लागु नहुने संकेत देखिएको छ । स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउनु सकारात्मक कार्य भए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा चालक अनुमति पत्र लिन समस्या सिर्जना भएको छ । चालक अनुमति पत्र नपाए पछि यातायात विभागले दिएको रसिदको भरमा सवारीसाधन चलाउनु पर्ने बाध्यात्मक स्थिति रहेको छ । यसरी एउटा रसिदको भरमा सवारी साधन चलाउँदा विभिन्न समस्याहरू आउने गरेका छन् । त्यस्तै ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स सक्कली हो वा नक्कली छुट्याउने मेसिन छैन । स्मार्ट लाइसेन्स भित्र्याउने निर्णयसँगै ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्स सक्कली हो या नक्कली भनि जाँच गर्नका लागि मेसिन प्रदान गरिने बताइएको भए पनि दुई वर्ष बितिसक्दा पनि ट्राफिक प्रहरीसँग उक्त मेसिन आइपुगेको छैन । यसले गर्दा अहिले नक्कली लाइसेन्स को पनि व्यक्तिकै बिगबिगी बढेको छ । नक्कली लाइसेन्स छुट्याउने कुनै मेसिन नभएकाले लुकिछिपि नक्कली लाइसेन्सको व्यवसाय गर्ने व्यवसायीहरूको विगविगि बढ्दै गएको छ । प्रक्रिया नपु¥याई पैसा दिएकै भरमा नक्कली लाइसेन्स लिदा दुर्घटना बढ्ने सम्भावना पनि उच्च रहेको छ । यातायात जस्तो सार्वजनिक क्षेत्रमा सरकारले लाइसेन्स जाँच गर्ने मेसिन उपलब्ध नगराउनु तथा नक्कली लाइसेन्स प्रयोगमा आउन थाल्नुले यातायात प्रयोग गर्ने आम सर्वसाधरण जनताको जीवन जोखिममा रहेको छ । यसको अन्त्यका लागि तथा असामयिक हुने दुर्घटनाको न्यूनिकरणका लागि सरकारले जतिसक्दो चाडो स्मार्ट लाइसेन्स परीक्षण गर्ने मेसिन उपलब्ध गराउनु आवश्यक छ । बजारमा नक्कली लाइसेन्स को कारोबार गर्नेलाई उचित सजायको व्यवस्था गर्नु पर्दछ भने यस्ता कार्यमा संलग्न पक्षको खोजी गर्नु तथा त्यसको पहिचान गर्नका लागि सरकार तथा यातायात विभागको ध्यानार्कषण हुन जरुरी छ । अहिले दिनहुँ जसो हुने गरेको सवारी दुर्घटनामा पनि नक्कली लाइसेन्सको प्रभाव रहेको नहोला भन्न सकिदैन । तसर्थ यस विषयमा सरकारले जति सक्दो चाँडो सक्कली स्मार्ट लाइसेन्स दिनका लागि पहल गर्नुपर्दछ भने यस सँगसँगै लाइसेन्स परिक्षणका लागि मेशिनको व्यवस्था पनि गर्नुपर्ने देखिएको छ । सरकारले यस्ता नक्कली लाइसेन्स विस्थापनका लागि सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गर्न जरुरी देखिन्छ । त्यस्तै पाँच वर्ष भित्र सबै लाइसेन्सलाई स्मार्ट लाइसेन्स मा रुपान्तरण गर्ने सरकारको लक्ष्यलाई पुरा गर्नका लागि माग अनुसार नै आपूर्ति हुन पर्दछ । हाल स्मार्ट लाइसेन्स मुलुक भरबाट दैनिक करिव ४ हजार माग हुने गरेको छ तर यातायात विभागले दैनिक ४ सय भन्दा बढी स्मार्ट लाइसेन्स छाप्न सकेको छैन । स्मार्ट लाइसेन्सको माग र आपूर्ति बीच निकै अन्तर रहेकाले आवश्यकता अनुरुप लाइसेन्स छाप्न नसक्दा सेवा ग्राहीहरू समस्यामा परेका छन् भने विभागमा चुनौती सिर्जना भएको छ । यसको समाधानका लागि सरकारले स्मार्ट लाइसेन्स छाप्ने मेसिन संख्यामा वृद्धि गर्नु पर्ने देखिन्छ । सरकारले आफ्नो योजनालाई सफल पार्नका लागि योजना मुताविक नै काम गर्नु पर्दछ । 
विश्व कम्प्युटराइज्ड प्रवधिमा गइरहेको अवस्थामा सरकारले स्मार्ट लाइसेन्सको अवधारणा ल्याउनु उचित हो । तर यसको कार्यान्वयन पक्षलाई पनि ध्यान दिन जरुरी छ । कागजी लाइसेन्स लाई विस्थापन गर्नका लागि आवश्यक मात्रामा स्मार्ट लाइसेन्स उपलब्ध गराउनु पर्ने हो यद्यपी सरकारले उपलब्ध गराउन सकेको छैन । स्मार्ट लाइसेन्सका लागि वर्षै देखि आवेदन दिए पनि लाइसेन्स नपाउँदा सवारी चालकहरू समस्यामा परेका छन् । तसर्थ बेलैमा सम्बन्धित निकायाले यस सम्बन्धमा ध्यान दिन जरुरी छ । त्यस्तै नक्कली लाइसेन्सको विगविगिलाई निराकरण गर्नु पनि आवश्यक छ । प्रविधिको विकास संगै आउने विभिन्न समस्याहरूलाई सुल्झाउँदै उचित सेवा दिनु पर्दछ । स्मार्ट लाइसेन्स अहिलेको आवश्यकता हो । हस्तलिखित लाइसेन्स भन्दा स्मार्ट लाइसेन्स उपयोगी छ । 
स्मार्ट लाइसेन्सबाट लाइसेन्स लिएको, दुर्घटना भएको या नभएको सम्पूर्ण जानकारी सजिलै लिन सकिने भएकाले यो उपयोगी भएको हो तर नेपालमा ट्राफिक प्रहरीका लागि स्मार्ट लाइसेन्स हो या होइन भन्ने जाँच गर्नका लागि आवश्यक मेसिन उपलब्ध नगराएको हुँदा यसको फाईदा उठाउँदै अनाधिकृत रुपमा नक्कली स्मार्ट लाइसेन्स उत्पादनको कालोबजारी बढेको छ । यसको समाधानका निमित्त सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago