एक वर्षभित्र १० लाख पर्ने  फक्सवागन विद्युतीय कार ल्याउँछौं 

  • प्रकाशित मिति : Wed-19-Sep-2018
  • - विवेक बिजुक्छे प्रमुख कार्यकारी अधिकृत पूजा इन्टरनेसनल  (नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्रेता)
title

अठार वर्षदेखि सवारीसाधन (अटोमोबाइल) क्षेत्रलाई नजिकबाट नियालिरहेका  विवेक बिजुक्छे जर्मन ब्रान्ड फक्सवागनका गाडीलाई नेपाली बजारमा पहिलो स्थानमा पु¥याउने जिम्मेवारी लिएर बसेका छन् । पछिल्लो अवधिमा नेपाली अटोमोबाइल क्षेत्रमा फक्सवागन गाडीले आफ्नो भिन्नै पहिचान बनाउन सफल भएको छ । सामान्य मान्छेको बुझाईमा फक्सवागन भन्ने बित्तिकै असाध्यै महँगो गाडी भन्ने छ, तर यसलाई गलत साबित गर्न बिजुक्छे दिनरात नभनी आक्रमक हिसाबमा काम गरिरहेका छन् । गाडीप्रेमीले फक्सवागनका गाडी किन खरिद गर्ने, यसका विशेषता के हुन्, नेपालमा यसको बजार हिस्सा, वर्तमान अवस्था, अटोमोबाइल क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण र व्यवहार, अनि समग्रमा यो क्षेत्रका समस्या, प्रतिस्पर्धा र चुनौतीबारे फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजुक्छेसँग गरेको कुराकानी ः

 

नेपाली अटोबजारमा फक्सवागनको अहिलेको अवस्था कस्तो छ ?

पछिल्लो तीन–चार वर्षमा अमेरिकी मुद्रा शक्तिशाली बन्दै जाँदा जर्मनीबाट हुने आयात घटेको छ । उपभोक्ताले फक्सवागन भनेपछि जर्मन गाडी नै प्रयोग गर्न रुचाउँथे तर, पछिल्लो समय भारतमा उत्पादित गाडी प्रयोग हुन थालेको छ । जसमा कम मूल्यमा धेरै फिचर तथा अप्सन भएको गाडी प्रयोग गर्ने ट्रेन्ड आएको छ ।

युरोपेली कम्पनीमा सेफ्टी फिचर र दायित्व उच्च हुन्छ । उपभोक्ताले माग नगरे पनि सुरक्षा तथा गुणस्तर उत्पादन समयदेखि नै उत्कृष्ट राखिएको हुन्छ । त्यसकारण हामीले मूल्यमा प्रतिस्पर्धा गर्न सकेका थिएनौं । त्यसकारण हाम्रो मार्केट शेयर घटेको थियो तर लामो समयसम्म चलेको छलफलमा हामीले भारतीय उपमहाद्वीपमा सर्भाइभ गर्न सस्तो र बलियो मोडल निकाल्नुपर्ने सुझाव दियौं । सुरक्षामा सोही स्तर कायम गरेर इन्धन खपत घटाए यहाँको बजारमा आफ्नो स्थायित्व कायम गर्न सकिने रहेछ भन्ने हामीले बुझ्यौं । त्यसैगरी ‘कस्ट अफ मेन्टिनेन्स’ पनि कम गर्नुपर्ने देखियो । यही कुरा मध्यनजर गरेर हामीले कम सिसीको गाडी निकालेका छौं । स्पेयर पार्टसको मूल्य पनि घटेर आएको छ । यही माध्यमबाट हामी नेपाललगायत भारत, बंगलादेश, श्रीलंकाका उपभोक्ताको मन जित्न चाहन्छौं ।

यसपालिको नाडा अटो शोमा तपाईंहरूको यो प्रयासको प्रतिक्रिया कस्तो पाउनुभयो ? उपभोक्ताले अब फक्सवागन नै किन रोज्ने त ?

हामीले नाडा अटो शो सुरु हुनुभन्दा केही दिनअघि फक्सवागन पोलो १.० सार्वजनिक गरेका हौं । १ हजार सिसीको यो गाडीले राम्रो माइलेज दिने, मेन्टिनेन्स खर्च कम भएको तथा मूल्य पनि कम भएका कारण उपभोक्ताबाट यसको प्रतिक्रिया सोचेको भन्दा राम्रो छ । यसपालिको नाडा अटो शो सुरु भएको तीन दिनमै यो गाडीबारे जानकारी लिन आउनेको संख्या साढे ७ सयभन्दा बढी पुगेको थियो । जसमध्ये ६० जनाले बुकिङ गरिसक्नुभएको छ । 

यसअघि अवलोकनकर्ताहरू हाम्रो स्टलमा नछिर्नुको कारण जान्न हामी उत्सुक हुन्थ्यौं तर अहिले आएर बुझ्यौं कि जनमानसमा फक्सवागन भन्ने बित्तिकै महँगो गाडी हो भन्ने छाप परेको रहेछ । तसर्थ, उहाँहरू हाम्रो स्टल तथा शोरुम पनि छिर्न डराउनुहुने रहेछ । यसपालि हामीले सर्वसाधारणको त्यो धारणालाई चिर्दै साढे २५ लाख रुपैयाँमा फक्सवागन गाडी उपलब्ध गरायौं । यो समाचार जब सर्वसाधारणमा पुग्यो, सबैको ध्यान हामीतर्फ मोडिएको छ । नाडा अवधिभर आगन्तुकहरू पनि ‘साढे २५ लाखको फक्सवागन गाडी कुन हो ?’ भन्दै सोध्दै आएका थिए । पोलोको माध्यमबाट हामीले नयाँ तरंग ल्याउन सकेका छौं ।

यही रेन्जका अन्य गाडीसँग पोलो १.० को प्रतिस्पर्धा कस्तो देख्नुहुन्छ ?

जर्मन भाषामा फक्सवागनको अर्थ ‘जनताको कार’ भन्ने हुन्छ । आउने दुई वर्ष नेपालीको कार पोलो १.० नै हुन्छ भन्ने हाम्रो आशा छ किनकि कम मूल्यमा पोलो १.० जस्तो सेफ्टी फिचर स्ट्यान्डर्ड भएको गाडी नेपालमा पाइँदैन । पोलो १.० मा उपलब्ध फिचर भएका गाडी पोलोको प्राइस रेन्जमा बजारमा अरु कुनै कम्पनीले पनि अफर गरेका छैनन् । नाडामा यो गाडीबारे बुझ्न आउने आधाजतिले किन्ने आँकलन छ । उता भारतमा बने पनि फक्सवागनलाई कसैले भारतीय गाडीको रूपमा लिएनन् । हामीले यो सोच चिर्ने प्रयास गरेका छौं । हामीले पनि यो गाडी बेच्दा धेरै मार्जिन राखेका छैनौं । यस हिसाबले हेर्दा आजको दिनमा पैसाको मूल्यांकनका आधारमा सर्वसाधारणले किन्न सक्ने गाडी ल्याएका हौं । पोलोको बिक्रीले बजारमा गति लिन्छ भन्न सक्ने दुई आधार छन् । पहिलो यसका सेफ्टी फिचर र दोस्रो यसको सिसी । ९ सय ९९ सिसीको गाडी भएकाले यो गाडीमा रहेको ट्याक्स एड्भान्टेज अन्य गाडीमा पाइँदैन ।

सबै नेपालीले आफ्नै गाडी चढ्न पाउनुपर्छ भन्नेमा तपाई कतिको सहमत हुनुहुन्छ ? तपाईंहरुले यस विषयमा कसरी लबिङ र बजारीकरण गर्दै आउनुभएको छ ?

म त्यो कुरा मान्ने पक्षमा छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सले चलेको अर्थतन्त्र हो । ३ करोडको जनसंख्या भएको देशले ७ खर्ब रेमिट्यान्स कमाउनु भनेको वर्षमा बढीमा २ लाख नयाँ गाडी किन्ने क्षमता नेपालीको छ । तर, त्यो सम्भव छैन । सबै नेपालीसँग यो क्षमता पनि छैन । अहिलेको अवस्थामा व्यक्तिगत कारको आवश्यकता पनि त्यति छैन । अर्को कुरा, हाम्रो आफ्नै स्रोत नभएका कारण इन्धनबाट चल्ने सवारी आयात गरेर पनि कुनै उपलब्धी छैन । तसर्थ, विद्युतीय सार्वजनिक यातायातमा जोड दिनुपर्ने अवस्था आएको छ । हरेक घरमा एउटा सवारी प्राविधिक रूपमा सम्भव पनि छैन, आर्थिक हिसाबमा राम्रो पनि हुन्न ।

सवारी किन्दा मिल्ने फाइनान्सिङको व्यवस्था अहिले कस्तो छ ? यसले व्यवसायमा कस्तो चुनौती दिइरहेको छ ? बैंकको भूमिका कसरी हेर्नुभएको छ ?

फाइनान्सिङको मागभन्दा आपूर्ति बढी छ । नयाँ व्यवस्थाअनुसार बैंकहरूलाई दुई वर्ष राम्रो पर्फर्मेन्स गरेको कम्पनीका माध्यमबाट मात्र फाइनान्सिङ गर्न सर्कुलर भइसकेको छ । यसकारण बैंकले लगानी गर्ने ठाउँ पाउन सकिरहेका छैनन् । तसर्थ, अटो क्षेत्रमा फाइनान्सिङ सहज छ । सिधा भाषामा भन्नुपर्दा, हामीले ‘फाइनान्सिङ गर्दिनुस्’ भन्ने हैन, उहाँहरु नै ‘फाइनान्सिङ गर्नुप¥यो उपभोक्ता पठाइदिनोस्’ भनेर हामीकहाँ आउने गरेका छन् । तर, बैंकहरू आफ्नो फाइदामात्र हेर्छन् । जब एकजना व्यवसायी लोन लिएर, उद्यमी बन्नुको साथै रोजगारी सिर्जना गर्न चाहन्छ भने यहाँको नीति नै बाधक बनेर उभिन्छ । अहिलेको व्यवस्था अनुसार एक महिना किस्ता तिरेन भने कालोसूचीमा राखिन्छ । जसमा फेरि कर्जा उपलब्ध गराइन्न ।

एउटै क्षेत्रमा १ सयवटा व्यवसाय छन् भने ९० वटा डुब्नु स्वभाविक हो । १० वटा व्यवसायले गरेको योगदानको यहाँ कदर हुने गरेको छैन । आजको दिनमा उपभोक्ता निरीह हुने गरेका छन् । उनीहरूलाई जाने गरेको गलत सन्देश कम गर्न सरोकारवाला निकायको ध्यान गएको खै ? तर अहिले सबैभन्दा बढी कर तिर्नेमा बैंक अगाडि देखिए पनि सरकार त्यो देखेर दंग नपरे हुन्छ किनकि उनीहरूले गरेको नाफा व्यवसायीबाट ब्याजको रूपमा हो ।

व्यवसायीले सवारीसाधन बिक्री गर्दा मार्जिन धेरै राखे भन्ने सुनिन्छ । यसप्रति तपाईंको धारणा के छ ?

म नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सदस्य पनि हुँ । अब हामीले अधिकतम खुद्रा मूल्य स्थिर राख्ने र डिस्काउन्ट नदिने योजना बनाउने लागेका छौं । हालको कुरा गर्दा बजारमा अधिकतम खुद्रा मूल्य र ग्राहकलाई बेच्ने मूल्य फरक हुन्छ । बजारमा बढेको प्रतिस्पर्धाका कारण खुद अधिकतम खुद्रा मूल्य मार्जिन २० प्रतिशतभन्दा बढी राखिएको छैन ।

अटोमोबाइल क्षेत्रलाई उत्पादनमूलक क्षेत्र मान्नु कतिको जायज हो ? देश विकासमा यो क्षेत्रको योगदानलाई कसरी लिनुभएको छ ?

उत्पादनमूलक क्षेत्र त म भन्दिनँ तर, हामी विकासको बाटोमा धेरै अघि बढ्नुपर्ने छ । हामी पछाडि परिसकेका छौं । देश विकासका लागि यातायात पूर्वाधार विकास गर्न अत्यन्तै जरुरी छ । यातायातले वस्तु तथा सेवा आदानप्रदान गर्न सहज तुल्याउँछ । छिमेकी देश भारत र चीनको कुरा गरौं । चीन किन अगाडि र भारत पछाडि हुनुको कारण यातायात पूर्वाधारको विकास नै हो किनकि भारतको यातायात शुल्क चीनको भन्दा ३ देखि ४ गुणा बढी छ । यही नै मूल कारण हो । नेपाल विकासमा पछाडि परेको कारण खोतल्दा यहाँको यातायात कर उच्च रहनु नै मूल कारण हो । मेरो बुझाइमा यो शूल्क विश्वकै सबैभन्दा उच्च छ । यही कारण हामीले विदेशमा सस्तोमा बनेका सामान खपत गर्नुपर्ने अवस्था आएको हो । नेपालमै उत्पादितभन्दा सस्तो भए पनि हामीले छिमेकी देशमा भन्दा ६० देखि ७० प्रतिशत बढी मूल्य तिरेका हुन्छौं ।

फक्सवागन जस्तो विश्वप्रसिद्ध ब्रान्डलाई नाडा अटो शो कतिको महत्वपूर्ण हुन्छ ?

भनिन्छ ‘कस्टमर इज अल्वेज राइट’ । हामी भौतिक रूपमा उपभोक्तामाझ प्रस्तुत भएमात्र उनीहरूको माग बुझ्न सकिन्छ । नभए उपभोक्ता हामीकहाँ आउने दिन समाप्त भइसकेको छ । जुनसुकै व्यवसायमा पनि उपभोक्तासँगको बातचित सदैव सकारात्मक नै हुन्छ । अन्य देशको तुलनामा हाम्रो देशको अटो शो निकै भिन्न छ । अन्य देशमा कम्पनीहरूले कुन नयाँ मोडल ल्याउन लागे भन्ने जानकारी दिन अटो शो गरिने भए पनि नेपालमा गरिने अटो शो किनबेचमै केन्द्रित रहेको हुन्छ । नेपालको अटो शोमा उत्पादनहरू बुकिङसमेत गरिने हुन्छ । अन्य देशमा प्रयोगमा आइरहेका सवारी प्रदर्शनीमा नराखिने भए पनि नेपालमा भने त्यो अभ्यास छैन । दोस्रो कुरा, हाम्रो बजार विकासशील बजार हो । तसर्थ, नयाँ उपभोक्तासामु अन्तक्र्रिया आवश्यक हुन्छ । यसका लागि नाडा अटो शो उचित हो । हामी त्यसबाट हट्न मिल्दैन ।

फक्सवागनको नेपाली बजारको उपस्थिति कस्तो छ ? मार्केट सेयर कति हो ?

पहिले हामी बजेट सेग्मेन्टमा थिएनौं तर, प्रिमियम सेग्मेन्टमा हाम्रो मार्केट सेयर २० प्रतिशतको हाराहारीमा थियो । तर, पोलो लन्च गरेसँगै हामी बजेट सेग्मेन्टमा प्रवेश गरेका छौं । हाम्रो मार्केट सेयर १२ प्रतिशत हुने अपेक्षा गरेका छौं । अहिले वार्षिक १० हजार थान गाडी बिक्री हुने गरेको छ । खस्किएको बजारमा ब्याज दर नघटेसम्म अटो क्षेत्रको भविष्य उज्ज्वल देख्दिनँ । उपभोक्ताले गाडी किन्ने भनेको रेमिट्यान्सबाटै हो तर, रेमिट्यान्सको वृद्धि नहुनुले अटो क्षेत्रको प्रगति संकेत गर्दैन ।

नयाँ उपभोक्ताले फक्सवागन नै किन किन्ने ?

मान्छेको जस्तै गाडीको पनि जिन हुन्छ । सवारी उपभोगमा उपभोक्ताको स्वाद कोरियन, जापानिज, युरोपियन, अमेरिकन हुन् । फक्सवागन युरोपियन पावर हाउस हो । हामीजस्ता कम्पनीले २० वर्षपछिको आवश्यकता हेरेर अहिले नै गाडी डिजाइन गर्ने क्षमता राख्दछौं । युरोपियन प्रविधि, सुरक्षा, बलियोपन, इन्जिन लाइफमा उत्कृष्ट हुन्छ । फक्सवागनजस्तै भारतमा उत्पादित अन्य गाडीको तुलनामा फक्सवागनको गियर बक्स, बडी तथा इन्जिनको लाइफ २ देखि ३ गुणा बढी पाउनुहुन्छ । उदाहरणका लागि हाम्रो सेग्मेन्टका अरु गाडीको वजनभन्दा फक्सवागनको गाडी २ देखि ३ सय केजी बढी हुन्छ ।

बाहिरबाट त्यो बढी देखिँदैन, तर सेफ्टी फिचरका कारण त्यो वजन थपिएको हुन्छ । यो कुरा धेरै उपभोक्ताले बुझ्दैनन् । म पनि पहिले फक्सवागन गाडीले धेरै तेल खपत गर्छ भन्ने सोच्थेँ तर, गाडीको वजनका कारण तेल खपथ बढेको भन्ने बल्ल थाहा पाउँदै छु । तैपनि १ हजार सिसीको गाडी आए पनि त्यो समस्या पनि हटेर गएको छ । 

नेपाली बजामा फक्सवागनका आगामी लक्ष्य के छन् ?

विद्युतीय कार । अबको दुई वर्षमा हामीले आठवटा एसयुभी, सेडा र ह्याचब्याक गरी १२ मोडलका विद्युतीय गाडी लन्च गर्ने योजना बनाएका छौं । फक्सवागन विद्युतीय कारमा विश्वमै पहिलो नम्बरमा पर्ने लक्ष्यसाथ अघि बढेको छ । हाम्रो विडम्बना भनौं, युरोपमा युरो–६ को गाडी उत्पादन हुँदा नेपालकम युरो–३ को गाडीमात्र आउँथ्यो । अबको दिनमा हामी विद्युतीय युगमा गएपछि विश्वमा आएको प्रविधि तुरन्त नेपाल ल्याउन सक्छौं । फक्सवागनको मास प्रोडक्सनको बेस हेर्दा प्रतिस्पर्धामा रहेका अन्य कम्पनीको तुलनामा फक्सवागनले निकै कम मूल्यमा विद्युतीय कार उत्पादन गर्न थाल्छ ।

हामीले पनि अहिले सरकारलाई साथ दिन १ हजार सिसीको गाडी ल्यायौं । सन् २०१९ को मध्यदेखि हामी पनि विद्युतीय गाडी ल्याउने योजनामा छौं । हामीले ल्याउने गाडी फुल चार्ज गर्दा कम्तिमा ३ सय किलोमिटर कुद्ने र नेपाली सडकअनुसारको ग्राउन्ड क्लियरेन्स भएको हुने छ । त्योभन्दा महत्वपूर्ण, मूल्य हेर्नुहुन्छ भने हामीले ल्याउने गाडी अविश्वनीय सस्तो हुने छ । इन्धन लाग्ने गाडीमा २ सय ५० देखि ३ सय प्रतिशतसम्म कर लाग्ने गर्छ तर, विद्युतीय गाडीमा भने ३० प्रतिशतभन्दा बढी कर लाग्ने छैन । यसको अर्थ, हामीले ल्याउने विद्युतीय सवारीको मूल्य अहिले बेचिरहेको पेट्रोल–डिजेल गाडीभन्दा आधा सस्तो पर्ने छ ।

अरु कम्पनी र फक्सवागनले विद्युतीय गाडी निकाल्नुमा धेरै फरक छ । ती कम्पनीको विद्युतीय गाडी इन्धन लाग्ने गाडीभन्दा दोब्बर मूल्य पर्छ भने फक्सवागनको भने आधा पर्छ । यो भन्नुको तात्पर्य आज साढे २५ लाख रुपैयाँमा उपलब्ध पेट्रोल लाग्ने पोलो १.० विद्युतीय बनाउने हो भने यो गाडीको सुरुवाती मूल्य १० लाख रुपैयाँमात्र हुने छ । यसो भयो भने मोटरसाइकल सवारी गर्ने आजको उपभोक्ता इलेक्ट्रिक गाडीमा अपग्रेड गर्ने चान्स बढ्छ । इन्धन लाग्ने सवारी चढ्दा इन्जिन बिग्रिन्छ, गियर बक्स बिग्रिन्छ । मेन्टिनेन्स खर्च उच्च हुन्छ तर, विद्युतीय सवारी चढ्नुको फाइदा नै यही हो कि यसमा बिग्रिने केही पार्टस नै हुँदैन । एउटा ब्याट्री र एउटा मोटर भए गाडी चल्छ । झन्झट हराएर जान्छ ।

विद्युतीय सवारीका चुनौती के छन् ?

अरुले कुरा गरेजस्तो चार्ज गर्ने काम विद्युतीय सवारीका लागि चुनौती हैन । फक्सवागन जस्तो बहुराष्ट्रिय कम्पनीका लागि नेपालमा सबैभन्दा ठूलो चुनौती भनेको वारेन्टी कभर हो । विद्युतीय कारको गुरुत्व केन्द्र मिलाउनको लागि ब्याट्री गाडीको तल्लो भागमा राखिएको हुन्छ । नेपालमा तल्लो भागमा राख्दा ब्याट्री ठोक्किने, पानी पस्नेजस्ता समस्या हुन्छन् । नोक्सान हुन्छ, सबै कुरा बिमाले कभर गर्दैन । दोस्रो, गाडीमा लिथियम–आयोन ब्याट्री राखिएको हुन्छ । त्यो आगो लाग्यो भने निभाउने प्रविधि तथा विज्ञ नेपालमा छैन । यदि आगो लागेर कसैको मृत्यु भए, नेपालमा विद्युतीय सवारीको भविष्यबारे ठूलो प्रश्न चिह्न उठ्छ । नेपालमा विद्युत उत्पादन पनि बढ्दो छ । त्यसैले अरु चुनौती देख्दिनँ । स्रोतः १२ खरी

प्रतिक्रिया