भर्खरै

दशैं  अफरका असर

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - निर्मल श्रेष्ठ
title

दशै,  नेपालीहरुको महान पर्व हो । हरेक वर्ष  हर्ष र उल्लासका साथ मनाइने यो पर्व आम हिन्दु धर्मावलम्वीहरुका लागि विशेष पर्वका रुपमा लिइन्छ । राम्रो लगाउने, मीठो खाने, मान्यजनहरुबाट आर्शिवाद लिने  यस पर्वको विशेषता नै हो । प्राचिन समय देखि मनाउँदै आइएको दशै सम्बन्धि विभिन्न मान्यताहरु प्रचलित छन् । 

असत्य माथि सत्यको विजयका रुपमा पनि दशै लाई लिइन्छ । दशै मनाउने प्रचलनको सुरुवात कसरी भयो, दशै सम्बन्धी कस्तो भनाई रहेको छ भन्ने विषयमा आम हिन्दु धर्मावलम्वीहरु जाकार भए पनि दशै मनाउने प्रचलन पहिलेको तुलनामा अहिले फरक रहेको छ । मीठो, मसिनो खाने, नयाँ कपडा लगाउने पर्वका रुपमा मनाइदै आएको दशै पछिल्लो समय प्रविधिको विकास सँगै मानिसका आवश्यकताहरु बढ्दै जाँदा अहिले यो दशै पर्व निकै भड्किलो बन्दै गएको छ । दशै खाना र नयाँ कपडामा मात्र सीमित छैन ।

 दशैमा नयाँ गाडी, नयाँ बाइक,  विभिन्न ब्राण्डका मोवाइल, वासिङ मेसिन, फ्रिज, टि.भि, ल्याप्टप जस्ता विभिन्न  सामग्रीहरु किन्ने प्रचलन पनि निकै बढ्दै गएको छ ।  दशैको समयमा कम्पनीहरुले आफ्ना ब्राण्डका सामग्रीहरु किन्दा विभिन्न अफर हरु राखिदिने गर्दा विशेष गरी दशैको समयमा यस्ता सामग्रीहरुको  बढी बिक्रि हुने गर्दछ । दशै, तिहार, छठ, इद, क्रिसमस जस्ता महत्वपूर्ण पर्वहरुमा कम्पनीहरुले विभिन्न अफर राख्दा आफ्ना ब्राण्डका सामग्रीहरुको बिक्रि वितरण बढी हुने गरेको भए पनि यसले समाजमा पार्ने नकारात्मक असरका बारेमा भने धेरैले सोच्न भ्याएका छैनन् । कम्पनीहरुले विभिन्न अफरहरुको आयोजना गर्दा उपभोक्ताहरु अफर नै लक्षित गरी सामग्रीहरु किन्ने गर्दछन् । कतिपय उपभोक्ताहरुले अफर राखिएको छ भने पछि ऋण काढेरै भए पनि सामग्रीहरु किन्ने गर्दछ् भने कतिले देखासिकिका लागि पनि किन्ने गर्छन् । यसले धनी वर्गका भन्दा पनि गरिब वर्गका परिवार माथि ठूलो असर पार्ने गर्दछ । अरुको देखासिकि कै कारण दशैमा यस्तो चाहिन्छ यस्तो चाहिन्छ भनि अभिभावक सँग माग गर्ने गर्दा अभिभावकहरु समस्यामा पर्ने गरेका छन् । 
दशै लक्षित योजनाहरुले कति लाई राम्रै गरे पनि धेरै जसोलाई भने यसले  समस्यामा पारेको देखिन्छ ।  यस्ता योजनाहरुले कम्पनीलाई सकारात्मक पक्ष भएपनि सर्वसाधरणलाई भने नकारात्मक असर पारेको छ । भड्किलोपन देखाउनका लागि भए पनि विभिन्न ब्राण्डका मोवाइल, ल्याप्टप, मोटरसाइकल जस्ता सामग्री किन्ने प्रचलन बढ्दो छ । यस्ता कार्यले हाम्रो सांस्कृतिक मूल्यलाई पनि असर पार्ने देखिन्छ । 

पछिल्लो समयमा दशै मात्र नभई जति पनि चाड पर्वहरु आउने गर्दछन् ति सबै पर्वहरुमा सांस्कृतिक मूल्य मान्यतालाई मात्र नभई भड्किलोपन बढ्दो छ । जुनसुकै पर्वहरुमा पनि आवश्यकता भन्दा बढी नै भड्किलोपन देखाउने प्रचलन बढ्दै गएको छ  । यस्ता कार्यहरुको नियन्त्रण हुन जरुरी छ । अहिले जुन सुकै पर्वहरुमा पनि भड्किलोपन देखाउने प्रथा बढ्दो छ, यसको मूख्य जड भनेको सामाजिक सञ्जालको विस्तार र प्रविधिको विकास हो । अनावश्यक रुपमा तडक भडक देखाउने प्रचलनको अन्त्यका लागि मूख्य रुपमा सरकारले यस विषयमा ध्यान दिनु पर्दछ  भने  स्वयम्  उपभोक्ताहरु पनि यस विषयमा सचेत हुन जरुरी छ । कम्पनीहरुले अफरको योजना ल्यायो भन्दैमा अनावश्यक रुपमा सामग्रीहरुको खरिद गर्ने, अरुको देखासिकि गर्दै खरिद गर्ने प्रवृत्तिको अन्त्य हुन जरुरी छ । उपभोक्ताहरुले विकास भएका नयाँ प्रविधिको प्रयोग त गर्नुपर्छ । यो उपभोक्ताको अधिकार पनि हो तर आफ्नो आर्थिक अवस्था हेरी त्यसको उपयोग गर्नु पर्दछ । 

प्रतिक्रिया