रुपन्देही विद्युतीय व्यवसायी संघको भवन शिलान्यस, १ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य
- प्रकाशित मिति : Tue-10-Jul-2018
- - रुपा तुलाधर

काठमाण्डौ, असार । रुपन्देही विद्युतीय व्यवसायी संघको भवन आज शिलान्यास भएको छ । एक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवन शिलान्यास भएको हो ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले भवन शिलान्यस कार्यक्रमको सम्बोधन गर्दै सरकारी स्तरबाट हुनु पर्ने कार्य संघले नै गरेको प्रति खुशि व्यक्त गरे । उनले संघलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए । संघले व्यवसायी हकहितका लागि मात्र नभई सामाजिक सेवामुलक काममा पनि सक्रिया भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
त्यस्तै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले रुपन्देही विद्युतीय व्यवसायी संघ स्थापना देखि नै निकै सक्रिय रुपमा कार्य गर्दै आएको बताए । सामाजिक हितका लागि संघले ल्याएको अवधारणा उपयुक्त रहेको पनि उनको भनाई रहेको थियो ।
यस्तै संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले संघले लामो समय देखी आफ्नै भवन निर्माण गर्नका लागि पहल गर्दै आएको र हाल नगरपालिकाले जग्गा उपलब्ध गराएको प्रति खुसि व्यक्त गर्दै एक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने बताए । संघको भवन निर्माण सँगै समाजिक हितका लागि क्रियापुत्री भवन निर्माण गर्ने तथा बगैँचा निर्माण गर्ने पनि उनले जानकारी दिए । संघको भवन निर्माण गर्ने पूर्वअध्यक्षहरुको सपना समेत पुरा भएको उनको भनाई रहेको थियो । उनले स्थानीय सरकारलाई भवन निर्माणको क्रममा आवश्यक सहयोग गर्न समेत उनले आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाले संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको हो । संघको भवन रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ भलवाडी मा रहने छ ।