भर्खरै

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - Admin
title

काठमाडौँ, माघ  ।  सर्वोच्च अदालतले एनसेल बिक्रीवापत्कोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । 
 
सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । 
 
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले  एनसेल बिक्रीवापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको हो । एनसेल बिक्रीवापतको लाभकर सोही कम्पनीबाट असुलउपर गर्न अदालतले परमादेश जारी गर्दै सो कम्पनीले दायर गरेको रिट निवेदनसमेत खारेज गरेको छ । 
 
एनसेलमा स्वीडेन कम्पनी टेलिया सोनेराले ८० प्रतिशत लगानी गरेको थियो । यसअघि ठूला करदाता कार्यालयले सो टेलिया सोनेरा कम्पनीले रु ६१ अर्ब तिर्नुपर्ने कर निर्धारण गरेको थियो । टेलिया सोनेरा कम्पनीले मेलेसियन कम्पनी एक्जिएटा कम्पनीलाई ८० प्रतिशत शेयर बिक्री गरेकाले कर कसले तिर्ने भन्ने विवाद सर्वोच्च अदालतमा पुगेको थियो । रासस

प्रतिक्रिया