हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि एक बेपत्ता
- प्रकाशित मिति : Sat-08-Jun-2019
- - Admin

धादिङ्,जेठ । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलाले बगाएर एक जना बेपत्ता भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै लुगा धुन र नुहाउन गएकी १९ वर्षीया युवती हिजो आँखुखोलाले बगाएर बेपत्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएको खुलेको प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।
जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए । पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । तर आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।