भर्खरै

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालनको तयारी

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

रुपन्देही, जेठ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने भएको छ ।  विमानस्थल निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंक (एडीबी) ले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी गरेको हो । एडीबीका नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले सौर्य ऊर्जाबाट विमानस्थल सञ्चालन गर्ने अवधारणा अघि बढाइएको र प्रारम्भिक छलफल भइरहेको जानकारी दिए । 
 
उनका अनुसार अहिले निर्माण भइरहेको अन्र्तराष्ट्रिय विमानस्थल अन्तर्गत नरही विल्कुलै नयाँ योजनाका रुपमा काम गर्ने गरी नागरिक उड्ययन प्राधिकरणको कार्यालयसँग छलफल भइरहेको बताए । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थललाई नेपालकै पहिलो ‘ग्रिन एयरपोर्ट’को रुपमा विकास गर्ने अवधारणाअनुसार सौर्य ऊर्जाबाट सञ्चालन गर्ने बारे छलफल अघि बढाइएको उनले बताए । सौर्य ऊर्जा जडान गर्न लाग्ने रकम ग्रान्टका रुपमा एडीबीले प्रदान गर्ने 
प्रधानले बताए ।
 उनका अनुसार छिमेकी मुलुक भारतको कोच्चिन अन्र्तराष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित  रहेको उनले जानकारी दिए । सौर्य ऊर्जा सम्बन्धमा सकारात्मक ढंगबाट कुरा अघि बढेको बताउँदै सौर्य ऊर्जाबाट विमानस्थल सञ्चालनमा ल्याउँदा हुने जोखिमका विषयमा पनि अध्ययन गरिने बताए । गौतमबुद्ध विमानस्थल क्षेत्रभित्रै सोलार प्यानलमार्फत कम्तीमा १० मेगावाट विद्युत उत्पादन हुन सक्ने सम्भावना रहेको प्रधानले बताए । सौर्य ऊर्जामार्फत एक मेगावाट विद्युत उत्पादन गर्न कम्तिमा १० करोड खर्च हुने अनुमान छ । योजना अघि बढेमा विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु हुने र ५÷६ महिनाभित्रै काम सकिने प्रधानको भनाइ छ । सन् २०१९ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्र्तराष्ट्रिय उडान सञ्चालनमा ल्याउने योजना रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । 
 
विमानस्थलमा अहिले टर्मिनल भवन (आन्तरिक र बाह्य दुवैतर्फ) को अन्तिम काम भईरहेको छ भने प्रशासनिक भवनमा रंगरोगन गर्ने काम जारी छ । त्यसैगरी धावनमार्ग, पाँच वटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ । टावर निर्माण अन्तिम चरणमा छ । तीन किलोमिटर धावनमार्गलाई ट्याक्सी वेसँग जोड्ने काम पनि सम्पन्न भएको छ । अब फिनिसिङ, साजसज्जा र विद्युतीकरण सहित सूचना प्रविधिसम्बन्धी काम बाँकी छन् । यो विमानस्थल निर्माणका लागि चीनको नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनसँग सन् २०१४ डिसेम्बर ३१ मा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया