भर्खरै

आगामी असोजमा खानीखोला आयोजना निर्माण सम्पन्न हुने

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ । दोलखामा  जिल्लामा निर्माणाधिन ४० मेगावाट क्षमताको खानीखोला जलविद्युत आयोजना आगामी असोजमा निर्माण सम्पन्न हुने भएको छ । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो आयोजना आगामी असोज भित्र सम्पन्न हुने भएको हो । सन् २०१२ बाट सुरु भएको आयोजना दोलखाको गौरीशंकर–७ मार्बु कोप्लाङस्थित खानीखोला, हानपु र नाप्के खोलामा रहेको छ । ग्रिनलाइफ हाइड्रोका निर्देशक केसाङ लामाका अनुसार यो आयोजना मुलुककै सबैभन्दा उचाइमा बन्न लागेको आयोजना रहेको बताए  । 
 
आयोजना समुद्री सतहबाट ३४ सय ५० मिटर उचाइमा रहेको छ । हिउँदमा हिउँ पर्छ । बर्खामा झरी आउँछ । ती दुवै सिजनमा काम गर्न सकिन्न । त्यसो हुँदा यहाँ निर्माणको काम तीन महिना मात्रै हुने  निर्देशक  लामाले बताए । ‘हाई अल्टिच्युड लाग्ने भएकाले अन्यत्रका कामदारले काम गर्न नसक्ने र सामान ढुवानी गर्न पनि उत्तिकै गाह्रो  रहेको उनले बताए । ६ अर्ब ५० करोड लागतको जलविद्युतका लागि प्रयोग हुने हानपु, नाप्के र खानीखोलाको स्रोत हिउँ भएकाले खोलामा निरन्तर पानी बग्छ । खानी खोलाबाट २५, हानपु र नाप्के खोलाबाट १५ गरी कुल ४० मेगावाट जलविद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसका लागि पहाड फोडेर करिब १९ किलोमिटर सुरुङ निर्माण गरिएको छ । सुरुङबाट ल्याइएको पानी ९ सय ४३ मिटर उचाइको भर्टिकल टर्वाइनमा खसालिनेछ । यसरी पानी खसाल्दा पानीको धार तेजिलो हुने र विद्युत् उत्पादन बढ्ने कम्पनीका इन्जिनियर तासी लामाले बताए । उत्तरी हिमाली क्षेत्रमा पर्ने आयोजनामा निर्माण सामाग्री ढुवानी गर्न कम्पनीले झन्डै ३१ किमि सडक आफैँ निर्माण गरेको छ । त्यस्तै, पहाडी क्षेत्रमा सामान ढुवानी गर्न १२ सय मिटरको दुईवटा रोपवे बनाएको छ । यी सबै खर्च जोड्दा आयोजनाको विद्युत प्रतिमेगावाट  बढीमा १७ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया