क्लिन फिड नियम लागु हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
- प्रकाशित मिति : Thu-27-Jun-2019
- - रुपा तुलाधर

काठमाण्डौ, असार । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू हुने बताएका छन् । सिंहदरबार स्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपाली मिडिया उद्योग, नेपालको पत्रकारिता क्षेत्र, विज्ञापन एजेन्सी र व्यवसायीहरुले वर्षौं पहिलादेखि नेपाली विज्ञापन बजारमा क्लिन फिड लागू गर्नु माग गर्दै आएको बताउदै देशको आमुल परिवर्तनका लागि यो आवश्यक रहेको पनि उनले बताए । नेपाली संस्कृति, मौलिकता, प्राकृतिक सौन्दर्यलाई जीवित राख्न र आर्थिक स्तरलाई माथि उठाउन क्लिन फिड लागु गर्नु पर्ने उनले बताए ।
अन्तराष्ट्रिय स्तरमा क्लिन फिडको प्रचलन रहेको भए पनि नेपालमा भने भर्खर मात्रै क्लिन फिड लागू गर्न खोजिएको उनले जानकारी दिए ।
यद्यपि डिस होम नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल केबल व्यवसायी महासंघले भने क्लिन फिड नीति लागू भए सरकारी टेलिभिजन बाहेक निजी क्षेत्रबाट सञ्चालित सबै टेलिभिजनको प्रसारण रोक्न बाध्य हुने बताएका छन् ।