विमानस्थलमा सङ्कटकालीन अभ्यासका लागि आधा घण्टा सेवा बन्द हुने
- प्रकाशित मिति : Fri-28-Jun-2019
- -

काठमाडौँ, असार । ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म आधा घण्टा सेवा बन्द हुने भएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थल बन्द हुने भएको हो । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा आधा घण्टा विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय दुवै उडान बन्द हुनेछन् ।
अन्र्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ । यो अभ्यास पहिलो अभ्यास हो ।
बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ । यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।