दुई तिहाईको सरकार सिमलको भुवा होइन : सञ्चार मन्त्री बाँस्कोटा
- प्रकाशित मिति : Thu-04-Jul-2019
- - रुपा तुलाधर

काठमाण्डौ, असार । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले दुई तिहाईको सरकार सिमलको भुवा नभएको बताएका छन् । सिंहदरबार स्थित आज आयोजित पत्रकार सम्मेलनमा विप्लप समुहले क्रान्तिको नाममा वितण्डा फैलाउने कार्य गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । दुई तिहाईको सरकार यत्तिकै नआएको, यसका लागि आम जनताले वातावरण सिर्जना गरेका उल्लेख गर्दै देश र जनताका लागि के गर्नु पर्छ सरकारलाई राम्रो सँग थाहा भएको बताए ।
नेपाली जनताले जे जस्तो परिवर्तन खोजिएको सो पुरा भएको बताउदै विप्लप समुहले वार्ता नरुचाएको र गैर संवैधानिक कार्य गर्दै आएका कारण यसलाई नियन्त्रण र निष्तेज गर्न सरकार अघि बढेको उनको भनाई रहेको थियो । उनले भने “विप्लप समुहलाई वार्तामा आउन आग्रह गर्दै आएका छौ, आम नेपाली जनताले हिंसालाई अस्वीकार गर्दै आएको छ ।” संघीयताको वातावरण धमिल्याउने र जंगलिराजाचल्ने समेत उनले स्पष्ट पारे ।
विप्लप समुह कुनै पनि दर्शन सिद्धान्त निकट नभएको उल्लेख गर्दै उनले भने “विप्लप माक्र्सवादी होइन, अराजकतावादी हो । लुटेरा समुह हो, संगठित आतङ्कवाद हो, सामाजिक फसिवाद हो, विप्लपले आम जनतामा हिंसा, भय, डर त्रास, असुरक्षा फैलाउने काम गरेको र यसैलाई कसैले क्रान्ति ठान्दछ भने पतन भएर जान्छ ।” नागरिकलाई सुरक्षा र सम्मान गर्न नसक्नु राजनीतिक दलको अभिष्ठा बन्नु हुँदैन । दर्शन सिद्धान्तमा आधारित दललाई निवार्चनमा आउन बन्देज नभएको समेत उनले प्रस्ट पारे । विप्लप समुहलाई वार्तामा आउन पटक पटक आग्रह गरे पनि पुष्टि गर्ने कुनै आधार नभएको हुँदा विप्लप समुह वार्तामा नआएको र आम जनतामा भ्रम सिर्जना गर्ने कार्य गरेको उनले बताए ।
आतंकको धन्दा जारी राखे क्षति विप्लप समुहले नै बेहोर्ने प्रष्ट पार्दै उनले भने “व्यक्ति केन्द्रित भाषाले केही हुँदैन, नेपालको संविधानले देशको रक्षा र विकास गर्न राष्ट्रको सर्वाङ्गीण हितका लागि हामी सबैं एक हुनुपर्छ ।”
अतिवाद, उग्रवाद, दक्षिण पन्थि हउवा कति जनविरोधी हुन्छ भन्ने उदाहरणहरु प्रशस्त रहेको र विप्लप समुहले क्रान्तिको नाममा दक्षिण पन्थीहरुलाई सहयोग पुर्याएको उनले बताए ।