भर्खरै

विद्युत प्राधिकरणले निकाल्यो फेरि लोडसेडिङ्गको तालिका

  • प्रकाशित मिति : Mon-08-Jul-2019
  • - कर्पोरेट नेपाल
title

असार, कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणले अबदेखि लोडसेडिङ्ग तालिका नआउने बताएको भएपनि फेरि तालिका निकालेको भेटिएको  छ ।
 नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिड कार्यालय अन्तर्गतको विद्युतभार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युतभार कटौतीको तालिका सार्वजनिक गरिएको हो ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिकरुपमा लोडसेडिङ्ग तालिका नआउने घोषणा गरेका थिए । तर दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः सुरु गरिएबाट प्राधिकरणको विश्वसनीयता मै प्रश्न उठेको छ । सार्वजनिक रुपमा प्रकाशित सुचनामा दैनिक चारदेखि छ घण्टासम्म विद्युतभार कटौती गरिने उल्लेख छ । तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा छ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युतभार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युतभार कटौती तालिका सार्वजनिक गरिएको छ । अत्तरिया वितरण केन्द्रका सतिष कर्णले भने यसलाई लोडसेडिङ्ग तालिका सार्वजनिक गरियो भन्ने हिसावले लिन नहुने तर्क गरे । 
 
उनले भने, ‘प्राविधिक कारणले विद्युत कटौती हुने कुरा जहाँसुकै भइरहेको छ, ठूलो कुरै होइन् ।’ कर्णले विद्युत खपत बढेको र उत्पादन घटेका कारण पावरले धान्न नसकेकी विद्युत कटौती गर्नुपरेको भन्दै चाँडै उच्च क्षमताको ट्रान्सफर्मर ल्याएर विद्युत आपूर्ति सुचारु गरिने बताए । लालपुर १३२ केभी सबस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युत्भार कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ । 

प्रतिक्रिया