भर्खरै

पातीखोला जलविद्युत आयोजना सञ्चालन

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - Admin
title

 
पर्वत, साउन । एक मेगावाट क्षमताको पातीखोला जलविद्युत आयोजना सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाको विरोधका कारण बन्द रहेको उक्त आयोजना पर्वतको मोदी गाउँपालिका–२ ढाँडखेतमा रहेका प्रसारण लाइनका पोल स्थानान्तरण गर्ने सहमति भएसँगै  संचालनमा आएको हो । 
 
आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि साउन ४ गतेदेखि विद्युत उत्पादन बन्द भएको थियो । मोदी गाउँपालिका–२ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युतका तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका थिएनन् । प्रसारण लाइनको एउटा पोलमा बिग्रेको कण्डक्टर मर्मत गरेपछि विद्युत उत्पादन सञ्चालन भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताए । 
 
तत्कालका लागि विद्युत उत्पादन शुरु गर्ने र पछि स्थानीयवासीले जग्गा उपलब्ध गराए पछि केही पोलहरु परिर्वतन गर्ने सहमति भएको प्रबन्ध निर्देशक कोइरालाले बताए । एक दिन विद्युत उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यर्होन बाध्य भएको थियो । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाले बताएको छ । 

प्रतिक्रिया