भर्खरै

नवलपरासीका ७० घरेलु तथा साना उद्योग खारेज

  • प्रकाशित मिति : Mon-05-Aug-2019
  • - रासस
title

नवलपरासी,साउन । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५÷०७६ मा खारेज गरेको छ ।
 
खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् । 
औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए । 
 
कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा एक हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।
 
विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ ।
भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् ।

प्रतिक्रिया