समयमा नै योजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारर्वाही गर्नुपर्छ : पूर्व उद्योग मन्त्री बस्नेत

  • प्रकाशित मिति : Sun-11-Aug-2019
  • - रुपा तुलाधर ।
title

 
काठमाण्डौ, साउन । पूर्व उद्योग मन्त्री तथा संघीय संसदका सदस्य महेश बस्नेतले समयमा नै योजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारर्वाही गर्नुपर्ने बताएका छन् । शुक्रबार सञ्चार केन्द्र नेपालको आयोजनामा पूर्वाधार निर्माणका चुनौती र अब लिनु पर्ने बाटो विषयको छलफलमा पूर्व मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 
छलफलमा पूर्वमन्त्री बस्नेतले एउटा ठेकेदारले काम बिगार्दा सम्पूर्ण नेतृत्वले नै गालि खानु परेको यर्थाथता बताउँदै समयमा नै काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे । सार्वजनिक खरिद ऐन दुई महिनाको अवधिमा ३ पटक संशोधन भएको उनले बताए । कुनै पनि आयोजनाको बजेटको आधा भन्दा बढी हिस्सा साउन महिनामा खर्च हुने गरेको बताउँदै उनले कुनै पनि आयोजनाको काम गुणस्तरीय र छिटो गर्नुपर्ने बताए । त्यस्तै उनले सडक, लगायतका आयोजनाहरुको रातको समयमा अनुगमन गर्नुपर्ने पनि बताए । 
 
 
 
त्यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कृष्ण प्रसाद ओलीले  आयोजनाको तीव्र विकासका लागि आम नेपालीको मानसिकतामा परिवर्तन ल्याउनु पर्ने बताए । समायोजनको समस्या तथा आयोजनाको इआईए रिपोर्ट समयमा नै उपलब्ध नहुनु तत्कालिन समयको सबै भन्दा ठूलो समस्या रहेको उनले बताए । वर्तमान सरकारले अरुले छाडेर गएका समस्याहरुको समाधान गर्दै आएको पनि उनले बताए । 
 
 
 
यस्तै कार्यक्रममा उपसचिव एवं प्रशासक सुरेश प्रधानले निर्माण व्यवसायीहरुले खरिद ऐन बुझ्न जरुरी रहेको बताए । विना तयारी आयोजना ल्याउनु, आयोजनाको बजेट स्वीकृत नहुँदै ठेक्का सम्झौता गर्नु जस्ता समस्याहरु रहेको उनले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव  टंक चौलागाईले पूर्वाधार निर्माण, मुलुक निर्माण सँग जोडिएको विषय रहेको बताउँदै पूर्वाधार निर्माण कार्यलाई अघि बढाउनु पर्ने बताए । राजनीतिक प्रणालीमा परिवर्तन आएपनि कार्यशैलीमा परिवर्तन नआएको बताउँदै उनले भने “निर्माण व्यवसायीहरुले यस क्षेत्रलाई गैरजिम्मेवार ढंगबाट लिनु हुँदैन ।” निर्माण कार्य गर्दा राष्ट्रलाई ध्यान दिएर अघि बढ्नु पर्ने उनले बताए ।  छलफलमा इन्जिनियर कृष्ण सापकोटाले विकास निर्माण कार्यमा नेपाल पछि परेको उल्लेख गर्दै  आयोजना निर्माण कार्यमा खेलाँची गर्न नहुने बताए । 
 
 
 

प्रतिक्रिया