भर्खरै

एसीको आवश्यकता र नेपालमा यसको प्रयोग

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - रुपा तुलाधर
title

 
 
 
आधुनिक जीवनशैली, बढ्दो प्रविधिको प्रयोग सँगै पछिल्लो समय नेपालमा एयर कन्डिसनर(एसी) को प्रयोग  बढ्दै गएको छ । गर्मी मौसममा सितलता र आनन्द लिन प्रयोग हँुदै आएको एसी, शहरमा बन्दै गएका नयाँ र सुविधायुक्त भवनको वृद्धि तथा आधुनिक जीवनशैलीमा प्रविधिको प्रभावका कारण नेपालमा यसको प्रयोग बढ्दै गएको हो । 
प्रविधिको विकासले आममानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । भौतिक वस्तुमा रमाउने मानिस आफ्नो जीवनशैलीलाई सरल र सहज बनाउनका लागि प्रविधियुक्त सामग्रीहरुको प्रयोग गर्दै आएका छन् । 
कुनै समय बाँसको पंखा हल्लाएर आउने हावामा रमाउने आममानिस आज एसीको चिसो हावामा रमाउन थालेका छन् । यो क्रममा ठूलो परिवर्तन आएको छ । बाँसको पंखाबाट यान र यानबाट आज एसी सम्मको यात्रा प्रविधिले ल्याएको परिवर्तन हो । हिजोका मानिसको जीवशैली र आजको मानिसको जीवनशैलीमा निकै नै अन्तर रहेको छ । आजका मानिस स्मार्ट प्रविधिमा बढी रमाउँछन् । एसी स्मार्ट प्रविधिको एउटा पाटो हो । नेपाली बजारमा पछिल्लो समय बढ्दै गएको एसीको माग प्रविधिको विकास र त्यस प्रति मानिसको आर्कषण हो । 
अहिले मौसम अनुसारका एसी बजारमा आएका छन् । जाडो समयमा न्यानो बनाउनका लागि तथा गर्मी समयमा  चिसो बनाउनका लागि  एसीको महत्व बढ्दैछ । कुनै बेला उच्च वर्गको स्ट्याटस सिम्बोलका रूपमा रहेको एसी अहिले उच्च मध्यवर्गको पहुँचमा पुगेको छ ।  विगतमा कार्यालय प्रयोजनका लागि एसीको प्रयोग बढी हुने गरेको भए पनि हाल घरायसी प्रयोजनका लागी एसीको माग बढ्दै गएको छ । एसीको माग बढेसँगै नेपाली बजारमा विभिन्न ब्राण्ड तथा कम्पनीका एसीहरु आयात हुने गरेको छ । उपभोक्तले एसी किन्दा कस्तो प्रकारको एसी किन्ने हो, कस्ता प्रकारका एसी किन्दा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी लिनु आवश्यक छ । सामान्यतया उपभोक्ताले निम्न विषयमा ध्यान दिन जरुरी छ । 
 
साइज वा क्षमता 
 
 
उपभोक्ताले एसी किन्दा सबैभन्दा पहिले त्यसको साइज तथा क्षमतामा ध्यान दिनु पर्दछ ।  एसी कुन कोठामा लगाउने हो त्यस अनुरुप कोठा वा हलको साइज अनुसार एसी छान्नुपर्छ । साइज भन्नाले ठूलो वा सानो भन्ने होइन की त्यसको क्षमता भन्ने बुझ्नुपर्छ । 
ठूलो हलमा थोरै क्षमताको एसी राख्दा केही समयपछि त्यसले काम गर्न छोड्छ तर विद्युत भने खपत भइरहन्छ । त्यसैले सानो कोठाका लागि हो भने कम साइजको एसी किन्नुपर्दछ भने ठूलो साइजका कोठा या हल हो भने मध्यम वा ठूलो साइजका एसी किन्नुपर्दछ । 
 
 
विद्युत खपत
 
एसी किन्दा त्यसमा अंकित तारा (स्टार) लाई ध्यान दिनुपर्छ । जति धेरै स्टार भयो त्यति नै विद्युत खपत कम हुन्छ भन्ने जनाउँछ । ४ वा ५ तारा भएको एसी किन्दा कम विद्युत खपत हुन्छ । त्यो भन्दा तलको तारामा केही बढी विद्युत खपत हुन्छ ।

फिल्टर,एयर फ्लो,स्विंग
 
कुनै पनि एसीमा राम्रो फिल्टर हुनु जरूरी छ । फिल्टर राम्रो छ भने सास फेर्न पनि सजिलो हुन्छ । जुन कोठामा एसी छ, त्यहाँ भेन्टिलेसन बन्द गरिइनुपर्दछ । त्यसकारण कोठा बन्द भइसकेपछि श्वासप्रश्वास सहज बनाउनका लागि फिल्टर आवश्यक पर्दछ ।  त्यस्तै एयर फ्लोले कोठा कति समयमा चिसो गराउने भन्ने बताउँछ । एसीमा कुलिङ स्पीड तय गर्ने सुविधा हुनु जरुरी हुन्छ । एसीमा स् िवंग फिचर हुन जरूरी मानिन्छ । पहिले बजारमा विन्डो एसी मात्र थियो तर हाल विकल्पमा स्प्लिट र पोर्टेबल पनि रहेका छन् । 

विन्डो, स्प्लिट वा पोर्टेबल
 
विन्डो एसी सस्तो छ तर यसको आवाज बढी आउँछ । सानो कोठाको लागि यो ठीक हुन्छ । स्प्लिट्मा भने बढी हावा सम्प्रेषण हुने हँुदा ठूलो कोठा तथा हलको लागि उपयोगी हुन्छ । पोर्टेबल एसी सुविधा अनुसार कोठाको जुनसुकै स्थानमा राख्न सकिन्छ । पोर्टेबल एसी विषेश गरी कार्यालयमा प्रयोग गर्ने गरीन्छ । 

टाइमर र सेन्सर 
 
एसी खरीद गर्दा टाइमर र सेन्सर भएको एसी खरीद गर्नु राम्रो हुन्छ । टाइमरमार्फत एसीलाई निश्चित समयमा खोल्न र बन्द गर्न सकिन्छ ।  यसको फाइदा भनेको बिजुलीको खपत रोक्नु हो । सेन्सरको काम कोठाको तापक्रम निश्चित गर्नु हो । साथै यसले मानिसमा केन्द्रित भएर हावा दिन्छ ।
 
भोल्टेज स्ट्याबलाइजर 
 
एसीसँग भोल्टेज स्ट्याबलाइजर हुनुपर्छ । यसका लागि प्रयोगकर्ताले जति टनको एसी किनेको हो त्यति नै पावरको भोल्टेज स्ट्याबलाइजर लिनुपर्छ । उपभोक्ताले कुनै पनि ब्राण्ड तथा कम्पनीको एसी खरिद गर्दा माथि उल्लिखित विषयलाई ध्यान दिनुपर्दछ । जसले गर्दा उपयुक्त ढंगबाट एसीको प्रयोग गर्न सकिन्छ ।  

प्रतिक्रिया