विमानस्थलमा स्मार्ट प्रविधि जडान हुन्छ : पर्यटन मन्त्री भट्टराई
- प्रकाशित मिति : Thu-15-Aug-2019
- - रुपा तुलाधर

काठमाण्डौ, साउन । संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले विमानस्थलमा स्मार्ट प्रविधि जडान हुने बताएका छन् । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजिकरण सन्र्दभमा निजी क्षेत्रको भूमिका विषयमा नेपाल चेम्बर अफ कर्मसले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अन्तराष्ट्रिय स्तरका विमानस्थलमा प्रयोग भएको अहिलेको प्रविधि नेपालका विमानस्थलमा प्रयोग गर्ने बताएका हुन् । मन्त्री भट्टराईले आगामी एक महिना भित्र फिङ्गर प्रिन्ट लगायत प्रविधियुक्त सामग्री जडान गर्ने बताए ।
त्यस्तै पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै विमानस्थलमा आउने पर्यटकहरुलाई शिष्ट र सम्मानजनक व्यवहार गर्न विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई तालिम तथा प्रशिक्षण दिने उनले बताए । उनले बारा निजगढ अन्तराष्ट्रिय विमानस्थल पिपिपी मोडलमा लैजानका लागि छलफल भइरहेको र यसका लागि ७ ओटा देशले चासो देखाएको बताए । विमानस्थल निर्माणमा २४ लाख काठ विस्थापन गर्ने विषय हल्ला मात्र भएको वास्तमा २ लाख भन्दा केही बढी मात्र रुखहरु कटान हुने जानकारी दिए । उनले आफु पर्यटन मन्त्रीमा नियुक्त भइसकेपछि हिमालयन एयरलाइन्स र श्री एयरलाइन्सलाई थप उडानका लागि स्विकृति दिएको र आगामी दशैँसम्म स्विकृत दिएका स्थानमा उडान हुने बताए ।

त्यस्तै कार्यक्रममा चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठले विमानस्थलमा स्वदेशी तथा विदेशी पर्यटकलाई सहज ढंगबाट सेवा सुविधा प्रदान गर्नु पर्ने, जहाल होल्ड गर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन भिजा शुल्क कम गर्नु पर्ने, ट्रेकिङ तथा होटल व्यवसायीलाई छुट दिनु पर्ने, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।