भर्खरै

मुख्यमन्त्री शाहीलाई लक्षित गरेर पुनः बम विस्फोट, विप्लवको संलग्नता

  • प्रकाशित मिति : Thu-15-Aug-2019
  • -
title

कालिकोट,साउन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गरिएको छ । उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ । कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ । 
 
 
मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको अवस्थमा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै विप्लवका कार्यकर्ताले बम बिस्फोट गराएका हुन् । कार्यक्रमभन्दा बाहिरको स्थानमा बम विस्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिए । एक हप्ता लामो समयका लागि गृह जिल्ला भम्रणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले दिनदिनै बम विस्फोट गर्दै आएका छन् । बुधबार पचालझरना गाउँपालिकाको विषेश अधिवेशन उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो ।
 
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर दुई पटक बम विस्फोटको आवाज सुनिएको बताएका थिए । विस्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको बताइएको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । मुख्यमन्त्रीको गृह जिल्ला भ्रमणको कायक्रम लामो भएको र अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी शर्माले बताएका थिए । थाहा खबर

प्रतिक्रिया