भर्खरै

२५ मेगावाटको दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तीव्र

  • प्रकाशित मिति : Fri-16-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

म्याग्दी ,साउन । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुखुबेसीमा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तीव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले चार वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सो आयोजनाकोे आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तीव्र पारेको हो । लामो समयमा विवाद सुल्झीए सँगै आयोजना निर्माणले गति लिएको हो ।
 
आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर सुरुङ खन्ने तयारी तीव्र पारिएको आयोजनाका प्रोजेक्ट इन्जिनियर दिपक सापकोटाले बताए । उनले भने साढे ५ किलोमिटर सुरुङ मार्ग हुने सो आयोजनाको असोज वा कार्तिकको पहिलो हप्ताबाट बाट सुरुङ खन्ने तयारीका साथ यतिखेर आयोजनाको अन्य पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । आयोजनाले दुवै तर्फ क्याम्प निर्माण गरिसकेको छ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १ सय मिटर हेडबाट दुखुबेशी (बलौटे)मा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । 
 
म्याग्दीबाट बाह्य मुलुकहरुमा रोजगारी र व्यवसायका लागि पुगेका म्याग्देलीहरुको लगानीमा आयोजना बनाउन लागिएको हो । सो आयोजनामा जिल्लावासीहरुलाई पनि लगानीका लागि प्राथमिकतामा राखिएको छ । जिल्लावासीहरुले उत्साहपूर्ण तरिकाले आयोजनामा शेयर लगानी गरेको इन्जिनियर सापकोटाले बताए । बेनीको विरेन्द्रचोकमा सम्पर्क कार्यालय खोलेर आयोजनाले जिल्लावासीहरुबाट शेयर संकलन गरिरहेको छ ।
 
आयोजनाको गत मंसिर २७ गते महिला बाालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र धौलागिरि कालीका हाइड्रोपावर कम्पनीका अध्यक्ष विनोद कुवँरले संयुक्त रूपमा शिलान्यास गरेको थियो । आयोजना बनाउन ५ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  आयोजना बनाउन सानिमा बैंकको नेतृत्वमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ । बाँकी १ अर्ब ६४ करोड रुपैयाँ संस्थापकले स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन । 

प्रतिक्रिया