भर्खरै

“विद्युतीय सामग्रीमा नेपाल गुणस्तर चिन्ह् कायम गर्नका लागि महासंघले पहल गर्दै आएको छ ।”

  • प्रकाशित मिति : Wed-21-Aug-2019
  • - तेज नारायण खरेल अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ
title

 
 नेपाल विद्युतीय व्यवसायी महासंघ ,देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको समग्र विकासप्रति समर्पित मुनाफारहित व्यवसायीहरुको पेशागत  सेवामुलक संस्था हकहितका लागि स्थापना भएको विद्युतीय व्यवसायीहरुको छाता संगठनको रुपमा  नेपाल विद्युतीय व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो अधिवेशन नजिकिदै गर्दा विद्युतीय व्यवसायको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनु भएका नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलसँग साधारणसभा तथा अधिवेशन तयारीको अवस्था, महासंघले विद्युतीय व्यवसायीहरुका लागि गर्दै आएका कार्य, व्यावसायिक क्षेत्रको समस्या र त्यसको समाधान, व्यावसायिक क्षेत्रमा आएका सुधार,महासंघमा आवद्ध जिल्ला संघहरुको अवस्था लगायतका विषयको पेरिफेरिमा रहेर विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

 
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ ( फिन )को १० औँ साधारण सभा तथा चौथो अधिवेशनको तयारी कस्तो हुँदैछ ?यसको बारेमा बताईदिनुहोस् न । 

नेपाल विद्युतीय व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौँथो अधिवेशन यहि भदौ २१ गते हुने भएको छ । अधिवेशन तथा साधारणसभा कार्यक्रम काठमाण्डौ रविभवन स्थित होटेल क्राउन इम्पेरियलमा हुने भएको हो । हरेक ३–३ वर्षमा हुने अधिवेशन तथा साधारणसभाका लागि हामीले आवश्यक तयारी गरिरहेका छौ । मैले दुई कार्यकाल कार्यसमितिमा रहि तेस्रो अधिवेशन बाट अध्यक्ष पदको जिम्मेवारी २०७३ बाट सम्हालेको हो ।  
देश संघीय प्रणालीमा गईसकेकोे अवस्थामा महासंघले संघीय प्रणालीलाई कसरी लैजाने सोचमा हुनुहुन्छ  ? बताईदिनुहोस न ।
देशमा संघीयता लागु भइसकेको छ । देशमा संघीयता लागु भइसकेको अवस्थामा हामी संघीयता भन्दा फरक धारबाट हिड्नै सक्दैनौ । महासंघको ९ औँ साधारण सभा देखि नै संघीय संरचना अनुरुप अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो विधानलाई समेत परिमार्जन गरेका छौ । देशमा भएको ७ वटै प्रदेशबाट प्रतिनिधि सदस्यको रुपमा ल्याउने गरी विधान परिमार्जन गरेका छौ । संघीय संरचना अनुरुप  हामीले अहिलको अधिवेशनबाट ७ वटै प्रदेशको प्रतिनिधि सहित २३ जनाको कार्य समिति निर्माण गर्दैछौ ।  
 
संघीय प्रणाली अनुरुप ७ वटै प्रदेशमा जिल्ला संघहरुको अवस्था कस्तो  रहेका छन् त ? बताईदिनुहोस न ।

नेपालका जति पनि स्थानमा विद्युतको पहुँच पुगेको छ, ती सबै स्थानमा विद्युत व्यवसायीहरु रहेका छन् । जुन स्थानमा विद्युत पहुँच बढी रहेको छ ति ठाउँमा हाम्रा व्यवसायीहरु पनि बढी छन् र जिल्ला संघहरु पनि स्थापना भएका छन् । जुन ठाउँमा विद्युतको पहुँच कम रहेको छ ति ठाउँमा व्यवसायीहरु कम छन्, व्यवसायीहरु कम भएका स्थानमा हाम्रो जिल्ला स्ांघहरु कमै मात्रामा  रहेका छन् । प्रदेश संरचना अनुसार हेर्ने हो भने प्रदेश नंम्बर १ मा ४ वटा जिल्ला संघ, प्रदेश नम्बर २ मा ३ वटा संघ, प्रदेश नम्बर ३ मा ५ वटा, प्रदेश नम्बर ४ मा ३ वटा ,  प्रदेश नम्बर ५ मा ३ वटा जिल्ला संघ , प्रदेश नम्बर ६मा अहिले सम्म कुनै पनि जिल्ला संघहरु रहेका छैनन्, प्रदेश नम्बर ७ मा भने  २ वटा जिल्ला संघहरु रहेका छन् । कुनै पनि प्रदेशमा जति जिल्ला संघहरु रहेका छन्, ति जिल्ला संघहरुले प्रादेशिक संरचना अनुसार आनो प्रदेशबाट एक जना मनोनित गरी महासंघको अब बन्ने नयाँ कार्य समितिमा पठाउन सक्छन् । प्रदेश नम्बर ६ को हकमा भने खुल्लाबाट सदस्य मनोनीत गरिन्छ । 
 
 
विगतका बर्ष देखि तपाई महासंघको अध्यक्ष पदमा कार्यरत रहनु भएको छ, यस अवधिमा महासंघलाई अघि बढाउने तपाईका योजनाहरु कत्तिको कार्यान्वयन गर्न सफल हुनुभयो त ?
 
महासंघको अध्यक्ष पदमा रहनु भन्दा पहिले २ कार्यकाल देखि नै म महासंघको कार्यसमितिमा रहेर काम गर्दै आएको हो । विद्युतीय व्यवसायीहरुको हक अधिकारका लागि महासंघले स्थापना समय देखि नै निरन्तर कार्य गर्दै आएको छ । २०७३ सालमा महासंघको अध्यक्ष पदमा कार्यरत भई सकेपछि मैले जुन उद्धेश्य र एजेण्डा लिएर आएको थिए त्यसमा करिव ९० प्रतिशत उद्धेश्य सम्पन्न भएका छन् भने  १० प्रतिशत देशको समकालीन परिस्थितीको कारण बाँकी रहेको छ । महासंघलाई काठमाण्डौ उपत्यकामा मात्र सीमित नराखी देशभरका जिल्ला संघले भोग्दै आएका समस्या, व्यवसायीहरुको आवश्यकता लगायतका विषयमा  १२ बुँदे घोषणापत्र जारी गर्दै विराटनगरमा राष्ट्रिय भेलाको  सम्पन्न गरिएको थियो   । जुन अत्यन्तै सफल भयो । त्यस्तै अन्र्तराष्ट्रिय बजारमा प्रयोग भएका अत्याधुनिक प्रविधियुक्त विद्युतीय सामग्रीहरुका बारेमा उपभोक्तालाई प्रत्यक्ष रुपमा जानकारी दिने इलेक्ट्रो टेक मेला मेरो कार्यकालमा दुई पटक (२०१६ र २०१८) मा सम्पन्न गर्न सफल भयौँ, यो हाम्रो लागि ठूलो सफलता हो । त्यस्तै विद्युतीय व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धन गर्नका लागि जिल्ला संघबाट माग भए अनुसार नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गर्दै आएका छौ । व्यवसायीहरुको हितका लागि मात्र नभई देशमा कुनै पनि किसिमको विपत्ति आइपर्दा हाम्रो जिल्ला संघ तथा महासंघको तर्फबाट आवश्यक सहयोग प्रदान गर्दै आएका छौ । त्यस्तै महासंघको आनै भवन निर्माणका लागि आर्थिक व्यवस्थापन भईरहेको छ । सम्भवत अब आउने कार्यसमितिले भवन निर्माण गर्नेछ । त्यस्तै विद्युतीय सामग्रीको गुणस्तर मापदण्ड सम्बन्धमा पनि हामीले आवाज उठाउँदै  आएका छौ । इन्डक्सन चुलोमा र हाउस वायरिङ केबुलहरुमा नेपाल गुणस्तर चिन्ह कायम भइसकेको छ भने  एलईडी बल्ब र एमसीबीहरुमा नेपाल गुणस्तर चिन्ह् कायम गर्नका लागि हाम्रो महासंघको पहलकदमीमा काम गरिरहेका छौ ।
 
न्यूनविजकीकरणका विषयमा धेरै कुरा आएका छन्, के नेपाली बजारमा न्यूनविजकीरण अन्त्य भएको हो ?

नेपालमा न्यूनविजकिकरण अन्त्य भयो भनेर यकिन गरी भन्न सकिने अवस्था छैन । यद्यपि पहिलेको तुलनामा न्यूनविजकीकरण धेरै नै कम भएको हो । अहिले ९० प्रतिशत भन्दा बढी न्यूनविजकिकरण अन्त्य भइसकेको छ । सामग्री आयात गर्दा भन्सारमा लाग्ने शुल्कका कारण न्यूनविजकीकरणको समस्या अन्त्य पूर्ण रुपमा हुन नसकेको हो । यदि नेपाल सरकारले भन्सारमा खुल्ला रुपमा सामग्री आयात गर्न, सामग्री आयात गर्दा व्यवसायीहरुले केही गडबढी गरेको खण्डमा सरकारले व्यवसायीलाई केही प्रतिशत नाफा दिएर सामग्री किनिदिने भए हाम्रा व्यवसायीहरु स्वच्छ रुपमा व्यवसाय गर्न सक्छन् । जसले बजारमा भएको न्यूनविजकीकरण र अधिक विजकीकरणको अन्त्य हुन्छ ।  
 
 
अहिले सरकारले हरेक व्यक्ति, व्यवसायीहरुलाई प्यान , भ्याट लागु गर्नुपर्ने प्रावधान ल्याएको छ , यसमा तपाईहरुको धारणा कस्तो रहेको छ ? 

अहिले सरकारले हरेक व्यक्ति, व्यवसायीहरुलाई प्यान, भ्याट लागु गर्नुपर्नेप्रावधान ल्याएको छ । यो प्रावधान विद्युतीय व्यवसायीहरुले मात्र होइन नेपालभरका सबै प्रकारका वस्तुगत व्यवसायीहरुले विरोध गर्दै आएका छन् । यो प्रावधानले मझौला तथा साना व्यवसायीहरुलाई काम गर्ने वातावरण दिदैन । ठूला व्यवसायी, उद्योगी, आयातकर्ताहरुलाई भने यसले फाईदा पु¥याउँछ । हामीले तिरेको कर बाट नै देश बन्ने हो । कर नतिरी देश बन्दैन हामी त्यसमा सजक छौ । यद्यपी यस नितीनियम मा सबैलाई समेटिने खालको नीति बन्नु पर्दछ । 
 
तपाईँ अध्यक्ष पदमा कार्यरत भईरहँदा, परिणाममुखी काम भएनन् भन्ने आरोप पनि लाग्दै आएको छ नि, यसमा तपाईँ के भन्नु हुन्छ ?

म तीन वर्षका लागि अध्यक्ष पदमा कार्यरत भईरहँदा परिणाममुखी काम भएन भन्ने कुरा आएको छ जस्तो मलाई लाग्दैन । मैले काम गर्न सकेन भन्दा पनि के काम गर्न भनिएको हो कुन काम भएन भन्ने कुरा महत्वपूर्ण हुन्छ । जिल्ला संघले उठाएका समस्या, उनीहरुको मागलाई हामीले सधै प्राथमिता दिदैं आएका छौ । जिल्ला संघले उठाएका न्यूनविजकीकरण समस्याका विषयमा पनि हामीले पहल गर्दै आएका छौ । यो समस्या हामी विद्युतीय व्यवसायीहरुको मात्र होइन सिङ्गो व्यावसायिक क्षेत्रमा नै रहेको छ । सरकारले पनि सबै व्यावसायिक क्षेत्रमा यो विषयमा कुरा आइसकेपछि मात्र मूल्याङ्कन गरी नीति निर्माण गर्ने हो । हामी एउटा संस्था हौ । हामीले यस विषयमा पहल गर्ने हो र आवश्यक पहल गर्दै आएका छौ ।
 
विद्युतीय सामग्रीहरुको मूल्य एकरुपता कायम गर्ने विषयमा के भईरहेको छ ? यस बारेमा प्रष्ट्याई दिनुहोस न । 

पोखरामा सम्पन्न महासंघ ८ औँ वार्षिक साधारणसभा कार्यक्रममा विद्युतीय साग्रीहरुको मूल्य एकरुपता गर्नुपर्ने विषय जिल्ला संघहरुबाट आएको थियो । यो विषयलाई हामीले अनुमोदन समेत गरेका थियौ । महासंघमा आवद्ध जिल्ला संघहरुलाई सामग्रीको दर रेट दिन पत्राचार समेत गरेका थियौ । यद्यपि महासंघ सामग्रीहरुको मूल्य सुची बनाएर राख्न उपयुक्त नहुने, सामग्रीहरुको मूल्य एकरुपता कामय गर्दा सिन्डिकेट लागु गरेको जस्तो हुने जस्ता विषय आएको हुँदा विद्युतीय सामग्रीहरुको मूल्य एकरुपता कायम गर्न नसकिएको हो । 
 
अन्त्यमा यस पत्रिका मार्फत अब आउने कार्यसमितिलाई यहाँको के सुझाव रहने छ ? 

विद्युतीय व्यवसायीहरुको हकहितका लागि महासंघ स्थापना भएको हो । देशभरका विद्युतीय व्यवसायीहरुको आवश्यकता, समस्या, मागलाई अब आउने कार्यसमितिले सम्बोधन गर्दै जानुपर्छ । अब आउने नेतृत्व सक्षम र सबल हुन्छ भन्ने विषयमा म विश्वस्त छु । जिल्ला संघहरुले महासंघका लागि प्रतिनिधि पठाउँदा सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई प्रतिनिधि पठाउन आग्रह समेत गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago