भर्खरै

जुम्लामा बिजुली युनिटकै १ सय रूपैयाँ

  • प्रकाशित मिति : Mon-26-Aug-2019
  • -
title

काठमाडौं,भदौं । एक महिनादेखि बिजुलीविहीन जुम्लामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुको साटो डिजेल प्लान्ट ल्याइयो । तर प्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट सय रुपैयाँ पर्ने भएको छ । साना जलविद्युत् योजना बिग्रिएपछि सांसद विकास कोषबाट १६० किलोवाट र विद्युत् प्राधिकरणबाट ३ सय किलोवाटको डिजेल प्लान्ट जिल्लामा ल्याइएको हो । यसको उत्पादनले खलंगाको विद्युत् आवश्यकता पूर्ति गर्न सक्छ ।
 
तर प्रतियुनिट ४ रुपैयाँ महसुल तिर्दै आएका स्थानीयलाई सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आइलागेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुड्थापाले बताए । ‘डिजेल प्लान्ट त आयो तर इन्धन खर्च अत्यधिक भएकाले व्यवस्थापन गर्नै समस्या भएको छ,’ उनले भने ।
 
सांसद विकास कोषको सहयोगमा उपभोक्ता समितिले किनेको डिजेल प्लान्टमा प्रतिघण्टा ३० लिटर र प्राधिकरणले पठाएको प्लान्टमा प्रतिघण्टा ७० लिटर तेल खपत हुने उनले बताए । ‘दैनिक १५ घण्टामात्रै प्लान्ट चलाउँदा पनि दिनहुँ १ हजार ५ सय लिटर डिजेल आवश्यक पर्छ,’ उनले भने, ‘इन्धनमा मात्रै मासिक ५१ लाख ७५ हजार रुपैयाँ खर्च हुनेछ ।’
विद्युत् गृहको मेसिन मर्मतका लागि एक महिनाअघि जिल्ला बाहिर पठाइएको छ । खलंगावासी अँध्यारोमा बस्नुपरेको भन्दै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट ५० लाख रुपैयाँ दिने गरी ऋण झिकेर डिजेल प्लान्ट जुम्ला र्पुयाएका थिए । यो समाचारे कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया